१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण २६ शुक्रबार २o:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार २o:५६:oo

खोटाङमा नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल विभाजित भएको छ।

खोटाङको त्रिधार्मिकस्थल हलेसीमा शुक्रबार सम्पन्न युवा संघ नेपालको छैटौँ जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा छुट्टाछुट्टै समानान्तर समिति गठन भएको छ। 

युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सार्वजनिक भए लगत्तै असन्तुष्ट पक्षले रसकुमारको अध्यक्षतामा युवा संघको समानान्तर समिति गठन गरेको छ। 

बन्दसत्रमा सहमतिको प्रयास असफल भएपछि अध्यक्ष मण्डलले दिक्तेल पुगेर एमाले पार्टी कार्यालयबाट रोशनको नेतृत्वमा युवा संघको जिल्ला कार्यसमिति गठन भएको जानकारी दिएको थियो। 

रोशन नेतृत्वको युवा संघको उपाध्यक्षमा रामकृष्ण राई, सचिवमा सविन राई, उपसचिवमा लक्ष्मी गुरुङ, सुरेश राई र कोषाध्यक्षमा भैरव बस्नेत छन्। 

रसकुमार नेतृत्वको युवा संघको उपाध्यक्षमा पुस्कल राई, सचिवमा वीरेन्द्र मगर, सहसचिवमा जगत किराती, मनोज राई, समी थुलुङ तथा कोषाध्यक्षमा रमेश परियार रहेका छन्। 

रसकुमार नेतृत्वमा बनाइएको युवा संघको जिल्ला कार्यसमिति सदस्यहरु पनि अधिवेशनले टुङ्ग्याए बमोजिम हुने असन्तुष्ट पक्षले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। रसकुमार यसअघि पनि युवा संघ खोटाङको जिल्ला अध्यक्ष थिए। 

समानान्तर समिति गठन भएको विज्ञप्ति सार्वजनिक भएपछि रोशन नेतृत्वको समितिले आफूहरुलाई आधिकारिक दाबी गरेको छ। 

पार्टी नेतृत्वले प्रतिनिधिहरुको भावनाविपरीत बन्द कोठाबाट जिल्ला समिति घोषणा गरेको, सङ्गठनमा योगदान गरेका व्यक्तिको अवमुल्यान गर्दै विधानविपरीत दसैँको दक्षिणाजस्तो आफ्नो मान्छेलाई समितिमा राखेर घोषणा गरेको असन्तुष्ट पक्षको आरोप छ।

बन्दसत्रका लागि गठन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष उपमहासचिव तिवारीले आकांक्षी धेरै भएकाले समस्या आएको बताएका छन्।

‘खोटाङमा देखिएको समस्या समाधानका लागि दुवै पक्षसँग छलफल भइरहेको छ’, उनले भने, ‘युवा संघ ठूलो सङ्गठन भएकाले आकांक्षी धेरै हुनु स्वभाविक हो। केही दिनभित्र दुवै पक्षलाई राखेर समस्या हल गर्ने योजना बनाएका छौँ।’ 

युवा संघमा समानान्तर समिति गठन भएपछि सामाजिक सञ्जालमार्फत नेतृत्वको विरोध सुरु भएको छ। जिल्ला अधिवेशन युवा संघका केन्द्रीय महासचिव क्षितिज थेवेले बिहीबार उद्घाटन गरेका थिए।