१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Friday, 09 May, 2025
नवीन अर्याल काठमाडौं
२o७९ फाल्गुण २६ शुक्रबार १८:४२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्राविधिक त्रुटि नभेटिएपछि ‘श्री’को उडान फुकुवा 

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १८:४२:oo

श्री एयरलाइन्सको जहाजमा प्राविधिक परीक्षण गर्दा कुनै त्रुटी (कैफियत) फेला नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । श्रीले शनिबारदेखि सबै गन्तव्यमा पुनः नियमित उडान गर्नेछ।

बिहीबार काठमाडौंबाट भैरहवातर्फ उड्ने क्रममा ड्यास क्यू४०० जहाजको इञ्जिनबाट ‘फायर वार्निङ’ आएपछि क्यानले श्रीका सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक जाँच सुरु गरेको थियो। प्रतिबन्धकै कारण शुक्रबार श्रीले कुनै पनि गन्तव्यमा उडान गर्न पाएन। नियमनकारी निकायको विज्ञ प्राविधिक टोलीले चेकजाँच गर्दा श्रीका सबै जहाजहरु उडानयोग्य रहेको भेटिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।

‘श्रीका सबै जहाजमा कुनै सिग्निफिकेन्ट कन्सर्न देखिएन, सबै जहाजको उडान प्रतिबन्ध फुकुवा गरिदिएका छौं’ भुलले भने । इञ्जिनमा आगो देखिएर ग्राउन्डेड गरिएको जहाजमा पनि प्राविधिक समस्या हल भइसकेको हुँदा उडानका लागि फुकुवा गरिसकेको उनले बताए । तर, उक्त जहाज चेकजाँच गरी उडानका लागि योग्य ठहरेका श्रीकै दुईजना इञ्जिनियरको भने प्रतिबन्ध फुकुवा गरिएको छैन। 

‘इञ्जिनियरले चेकजाँच गरेर ठिक भनेको जहाजमा उड्ने वित्तिकै आगो लागेको छ’ उनले भने, ‘यसमा इञ्जिनियरको लापरवाही देखिन्छ, उनीहरुमाथि थप छानविन गरेर निर्णयमा पुग्छौँ।’

श्रीसँग सीआरजे र ड्यास क्यू४०० गरी आठवटा जहाज रहेता पनि चारवटा जहाजबाट मात्र नियमित उडान गर्दै आइरहेको छ। क्यानको प्राविधिक टोलीले उडानमा रहेका जहाजको मात्रै प्राविधिक चेकजाँच गरेको थियो। ‘पहिल्यैदेखि ग्राउन्डेड जहाजको जाँच गरिरहनु परेन’ भुलले भने, ‘उडानमा रहेका चारवटै जहाजमा कुनै प्राविधिक समस्या देखिएन।’

श्री एयरलाइन्सका अनुसार क्यानको विज्ञ टोलीले सम्पूर्ण जहाजको प्राविधिक जाँच, इञ्जिनियरिङ अपरेशन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिती तथा प्रशासनिक क्षमताको अध्ययन गरेको थियो । नियमनकारी निकायकै विज्ञ टोलीले विस्तृत अध्ययन गरेर श्री एयरलाइन्स उडानका लागि पूर्ण रुपमा सुरक्षित रहेको ठहर्दै पुनः सेवा सञ्चालन गर्न अनुमित दिएको कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए।

‘क्यानको छानबिनले समेत श्री एयरलाइन्स सुरक्षित र व्यवस्थित भएको कुरा प्रष्टाइदिएको छ’ मानन्धरले भने, ‘श्री एयरलाइन्स हवाई सुरक्षाका लागि पूर्ण प्रतिवद्ध रहेको र यात्रुलाई सुरक्षित तथा आरामदायी हवाई सेवा प्रदान गर्न कटिवद्ध छ।’

विहीबार चालक दलका सदस्यसहित ७८ जना सवार जहाजको इञ्जिनबाट ‘फायर वार्निङ’ आएपछि धावनमार्गबाट उडेको २३ मिनेटमै धादिङ धार्के आसपासको आकाशबाट फर्काएर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो। आकस्मिक अवतरण गरेको जहाजलाई क्यानको प्राविधिक टोलीले निगरानीमा राखेर अध्ययन गरेको थियो। 

यसअघि १ माघमा यति एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा अवतरणको क्रममा दुर्घटनामा परेपछि क्यानको प्राविधिक टोलीले सबै एटीआर जहाजको परीक्षण गरेको थियो । परीक्षणको क्रममा सबै जहाज उडानयोग्य भेटिएका थिए । यस्तै, तारा एयरको जहाज बाजुरामा अवतरण गर्नुअघि नै ढोका खुलेपछि पाइलटलाई उडानमा प्रतिबन्ध लगाइएको छ।

गुण एयरलाइन्सले पाइलट तथा कर्मचारीलाई समयमै तलब खुवाउन नसकेपछि क्यानले सबै जहाज ग्राउन्डेड गरिदिएको छ। क्यानको निर्देशनपछि गुणका सातवटै जहाज ग्राउन्डेड छन् । गुणले आफुसँग भएका पाँचवटा जेटस्ट्रिम जहाज अमेरिकन कम्पनीलाई बिक्री गर्ने निर्णयमा पुगिसकेको छ। 

जहाज उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिँदा हवाई सुरक्षामा जोखिम बढ्न सक्ने ठहर गर्दै क्यानले अनिश्चितकालका लागि सबै उडान रोकिदिएको हो। 

‘तलब सुविधा नै नपाएका कर्मचारीहरुले सेवा दिँदा हवाई सुरक्षा कति होला?’ क्यानका एक अधिकारीले भने। हवाई सुरक्षा प्रत्याभूति बढाउन नसकेसम्म उडान गर्न दिन नहुने क्यानको निष्कर्ष छ।