मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २६ शुक्रबार १६:२७:००
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

घिउको डब्बाभित्र चिठी लुकाएर जेलभित्र पुर्‍याउँथे दिलप्रसाद

Read Time : > 3 मिनेट
२०७९ फाल्गुण २६ शुक्रबार १६:२७:००

बागलुङका दिलप्रसाद सापकोटा उमेरले ६३ वर्ष भए । पेसाले उनी किसान हुन्। अहिले पनि दैनिक खेती–किसानीमै व्यस्त छन्।

बागलुङको काठेखोला गाउँपालिका– ६ बिहुँका सापकोटा ०४६ देखि नै दैनिक आफ्ना गाईभैँसीको दूध बिक्रीका लागि बागलुङ बजार पुग्थे। उसवेला दैनिक दुई घन्टाको पैदल हिँडेर दूध, घिउ बिक्रीका लागि बागलुङ बजार पुग्नुपर्दथ्यो।

तत्कालीन अवस्थामा पञ्चायतविरुद्ध आन्दोलनमा सक्रिय रहेका सापकोटाको अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसँग गज्जबको सम्बन्ध जोडिनुका साथै गर्भिलो इतिहास पनि छ।बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै सापकोटा निकै हर्षित छन्। 

सापकोटा र पौडेलको सम्बन्ध ०४६ सालको पञ्चायतविरुद्धको आन्दोलनदेखि निकट बन्यो। नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन र पार्टी संगठन विस्तारका लागि ०४६ मंसिरमा बागलुङ आउँदा सापकोटा र पौडेलको सम्बन्ध जोडियो।

नेविसंघका तत्कालीन अध्यक्ष जगदीशचन्द्र उपाध्यायको घरमा भएको एउटा कार्यक्रममा सापकोटा र पौडेलको भेट भएको थियो। सापकोटा उपाध्यायको घरमा दैनिक दूध ल्याउँथे। त्यहाँ पञ्चायतविरोधी आन्दोलनबारे छलफल र कांग्रेसको संगठन विस्तारबारे छलफल चलिरहेको थियो। उनी पनि सोही कार्यक्रममा सहभागी भए र रामचन्द्र पौडेललाई चिन्ने मौका पाए।

बागलुङको कार्यक्रम सकाएर म्याग्दीको बेनी जान लागेका पौडेललाई बागलुङ–म्याग्दी जोडिने ढोडेनी खोलाबाट प्रहरीले फर्काइदियो । उनी पर्वतको फलेबासमा कांग्रेस नेता डिल्लीराम लामिछोनेलाई भेट्न पुगे। सोही क्रममा ०४६ साल मंसिर २६ गते प्रहरीको पक्राउ परे । पहिलो दिन बलेवा राखेर भोलिपल्ट बागलुङ कारागारमा पुर्‍याइयो पौडेललाई।

पौडेलभन्दा पहिले बागलुङका तत्कालीन नेविसंघका अध्यक्ष हालका कांग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्याय पक्राउ परिसकेको थिए भने उपाध्यायसहित पौडेललाई पक्राउ गरेर कारागार चलान गरिएको थियो । व्यवस्थाविरोधी काम गरेको भन्दै पौडेलविरुद्ध विभिन्न मुद्दा लगाइएका थिए । उक्त मुद्दामा पौडेलसहित बागलुङका तत्कालीन पार्टी सभापति गोविन्दप्रसाद शर्मा कँडेल, रघुपति कँडेल, शेखर कँडेल, ऋषिराम कँडेल विष्णु गिरी र तनहुँका लक्ष्मी आचार्यसमेत कारागार चलान भएका सापकोटा बताउँछन्। 

भट्ट मकै भुटेर जेलमै ल्याइदिन्थे

‘भर्खरै चिनजान भएको थियो, जगदीशसँगै रामचन्द्र र अन्य नेतालाई पनि पक्राउ गरेर जेल पठाएको रहेछ,’ सापकोटाले भने, ‘मैले दैनिक जगदीशकोमा ल्याउने दूध कारागारमा लान थालेँ । त्यसपछि उहाँहरूसँग झनै निकटता बढ्दै गयो ।’ सापकोटाले पौडेलका लागि गाउँबाट घिउ, दूध र दहीको साथमा तरकारी पनि ल्याउँथे।

 ‘मैले रामचन्द्रजीको लागि भनेर गाउँमा भट्ट मकै भुटेर ल्याइदिन्थेँ, दूध त दिनदिनै पुर्‍याउँथे,’ सापकोटाले भने, ‘उहाँहरूको सूचना आदानप्रदानको माध्यम पनि मै भएको थिएँ । खानेकुरासँगै पत्रपत्रिका पनि लगिदिन्थेँ । अन्य कोही भेटघाटका लागि आउनुभयो भने मसँगै जानुहुन्थ्यो । मसँग गएपछि भेट्न पाइन्थ्यो नत्र दिँदैनथ्यो।’ 

सापकोटाले काठमाडाैंबाट कांग्रेसका तत्कालीन सहमहामन्त्री वासुदेव रिसालले पौडेलका लागि पठाएको पत्र घिउको डिब्बाभित्र लुगाएर पुर्‍याएको बताउँछन्।  रामचन्द्र जेलमा हुँदा पत्रपत्रिका पुर्‍याउने क्रममा एक दिन पञ्चायतविरुद्धको पर्चा प्रहरीले भेटाएपछि सापकोटा पनि दिनभर कारागारभित्रै प्रहरीको नियन्त्रणमा बस्नुपरेको स्मरण गर्दै भने, ‘दिनदिनैको पत्रिका मैले जेलमा पुर्‍याउँथे, खल्तीमा पञ्चायतको विरोधमा लेखिएको पर्चा रहेछ । त्यो दिन म दिनभर कारागारभित्रै बसेँ बेलुका भैँसीले दूध दिँदैन भन्ने बाहनामा फर्किएको हुँ।’

जेलभित्रका खबर बाहिर ल्याउने र बाहिरको खबर भित्र लैजाने गर्थे

रामचन्द्र पौडेल करिब ६ महिना बागलुङ कारागारामा जेलजीवन बिताउँदा बाहिरबाट सबै सहयोग सापकोटाले नै गरेको कांग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्याय बताउँछन् । ‘रामचन्द्र दाइ र हामीलाई बाहिरी सबै सूचना पुर्‍याउने नै दिलप्रसादजी हो,’ उपाध्यायले भने, ‘भित्रबाट केही खबर पनि उहाँसँगै पठाउँथ्यौँ । जेलमा रहँदा पनि बाहिरका सबै गतिविधि उहाँमार्फत नै  हामी  थाहा पाउँथ्यौँ । प्रहरीले रोक्दा पनि चिठी–पत्रहरू लुकाएर भए पनि हामीसँग आइपुग्थ्यो।’

उनीहरूविरुद्ध संघसंस्थाविरोधी गतिविधि गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेको तथा राजकाज मुद्दा लागेको थियो । पञ्चायतको धरपकडका बाबजुद पौडेलको पक्षमा यहाँका वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले वकालत गरेका थिए । बहुदल घोषणापछि धेरै राजबन्दी छुट्दा पौडेल छुट्न पाएनन् । अन्ततः २०४७ वैशाख २ गते  मन्त्रिपरिषद्को निर्णयले मात्रै पौडेल छुटेका थिए। 

छुटेपछि पौडेलले धौलागिरि बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए । ०१९ सालको सशस्त्र क्रान्तिदेखि ०४६ सालसम्म १३ वर्ष र ०४६ पछिका प्रतिगमन अवधिमा एक वर्ष गरी १४ वर्ष पौडेलले जेलजीवन बिताएको उपाध्यायले बताए। 

सापकोटाले पौडेल जेलबाट छुटेपछि पनि समयसमयमा भेट्ने गरेको बताए। ‘बागलुङका हरेक कार्यक्रममा आउँदा म भेट्ने प्रयास गर्थेँ, उहाँ पनि भेट्नुहुन्थ्यो । केही वर्ष पहिले घरमै आएर जानुभएको हो,’ सापकोटाले भने ।

सहयात्री राष्ट्रपति भए, सापकोटा गाउँमै कृषिमा रमाउँदै

यसरी पौडेलको एक असल सहयात्रीको रूपमा रहेका सापकोटा अहिले पनि गाउँमै कृषिमा निर्भर छन्। सापकोटाले खेती–किसानी गरेर एउटा छोरालाई जापान पठाए भने एउटा छोरालाई इन्जिनियर पढाएका छन् तीन छोरीमा दुईवटीको विवाह भयो।

एउटा छोरीलाई स्टाफ नर्स पढाएका उनको परिवारमा एक श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् । उनका नाति–नातिना पनि भइसकेका छन् । उनले कहिल्यै सरकारी जागिर खाने चाहना गरेनन् । अहिले पनि दुईवटा भैँसी पाल्नुका साथै खेती–किसानीलाई निरन्तरता दिएका छन्। 

‘उस वेला उहाँसँग एउटा सम्बन्ध जोडिन पुग्यो, अहिले पनि सम्बन्ध नजिक नै छ । मसँग एउटा सम्बन्ध जोडिएको व्यक्ति अहिले मुलुकको राष्ट्रपति हुँदा साह्रै खुसी लागेको छ । म किसानको छोरा त यती खुसी छु अरू झनै कति खुसी होलान्,’ सापकोटाले भने ।  

पौडेल निष्ठावान स्वभावका नेता

६ दशक सक्रिय राजनीतिक जीवन बिताएका पौडेल एक सरल र निष्ठावान नेताको रूपमा रहेको उनले बताए ।  राष्ट्रपति भएसँगै मुलुकमा जनताले ठूलो आशा गरेकाे सापकोटा बताउँछन । उनले मुलुकको विकासका लागि पदीय दायित्वबाट खेल्न सक्ने भूमिका पौडेलले खेल्न सक्नेमा विश्वस्त रहेको बताए।

‘मेरो चाहना भनेको कुनै कुरामा पनि विवादित नभई उहाँको पाँच वर्ष बितोस् भन्ने हो,’ सापकोटाले भने, ‘अहिलेको राजनीतिक खिचातानीले उहाँलाई पनि असर नगरे हुन्थ्यो, खै के हुने हो । उहाँको सफल कार्यकालको कामना गर्दछु । अब मेरो फेरि एकपटक भेट्ने चाहना छ, केही दिनपछि जान्छु।’
 
उतारचढावपूर्ण राजनीतिक जीवनमा यो उनको महत्त्वपूर्ण सफलता भएको सापकोटा बताउँछन्।