
नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। कुल आठ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा कुल आठ सय ३१ मत खसेको छ।
संघतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन्।
शर्माका अनुसार प्रदेशतर्फ ३२ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग लिएका छैनन्। जसमा राप्रपाका २८, नेमकिपाका तीन र जसपाका एक प्रदेश सांसद निर्वाचन प्रक्रियामा सहभागी भएनन्।
प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कुल तीन सय ३२ सदस्य छन्। यसमध्ये सांसद डा. चन्द्र भण्डारी र वर्षमान पुन बिरामी भएकोले उनीहरू निर्वाचन प्रक्रियामा भाग लिएनन्।
यस्तै, सांसद लक्ष्मी कोइरीको मुद्दा विचाराधीन अवस्थामा छ भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ। नयाँ राष्ट्रपति चयन प्रक्रिया राप्रपा १४ र नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहे।
मतदान बिहान १० देखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो।
राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा छन्।
निर्वाचन आयोगले ४ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ।