मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ०७:३५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ओली-नेपाल तेस्रो भेट  : भाइको निधनमा नेपाल परिवारलाई ओलीको समवेदना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ०७:३५:००

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् । नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनमा दुःख व्यक्त गर्दै ओलीले समवेदना प्रकट गरेका हुन् ।

शंखमूलस्थित बबिन्स क्याफेको छैटौँ तलाबाट खसेर गम्भीर घाइते भएका सरोजकुमारको उपचारका क्रममा शनिबार निधन भएको थियो । परिवारलाई समवेदना दिन ओली बुधबार कोटेश्वरस्थित किरियापुत्री भवन पुगेका थिए । सोही क्रममा किरियापुत्री भवनमा रहेका नेपालसँग ओलीको भेट भएको नेपालको सचिवालयले जनाएको छ । ओलीले उपाध्यायको निधनको घटना र परिवारका सदस्यको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

पछिल्लो समय ओली नेपालसँगको सम्बन्ध सुधारको प्रयासमा छन् । पार्टी विभाजनको डेढ वर्षपछि ओली र नेपालबीच राष्ट्रपति निर्वाचनसँगै औपचारिक संवाद सुरु भएको छ । पछिल्लो दुई सातामा ओली र नेपालबीच तीनपटक भेट भएको छ ।

राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता (१३ फागुन) का वेला ओली र नेपालले पार्टी एकताको एजेन्डामा समेत संवाद गरेका थिए । ०७८ भदौमा पार्टी विभाजनपछि ओली र नेपालबीच गत ६ फागुनमा पहिलो भेट एकीकृत समाजवादीका एक नेताको महाराजगन्जस्थित निवासमा भएको थियो । भेटमा ओलीले घुमाउरो पारामा राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । यही भेटमा ओलीले पार्टी एकताको प्रस्तावसमेत राखेको नेपालले बताउँदै आएका छन् । नेपालले पूर्वनेकपा ब्युँताउनुपर्ने सर्त राखेका थिए । 

त्यसपछि राष्ट्रपतिको मनोनयन दर्ताको अघिल्लो दिन १२ फागुनमा उनीहरूबीच दोस्रो भेट भएको थियो । दोस्रो भेटमा ओलीले नेपाललाई राष्ट्रपति बन्न सीधै प्रस्ताव गरेका थिए । तर, आफूले राष्ट्रपतिमा सम्मानित नेता झलनाथ खनालको नाम लिएको नेपालले बताएका छन् । एमाले र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरूको भेटघाटसमेत पछिल्लो समय बाक्लिएको छ । केही दिनअघि मात्रै उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्बाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायत नेता एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेर नेपालसँग भेट गरेका थिए ।