१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ का विजेता । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार o७:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अञ्जन र अरुणा वर्षका उत्कृष्ट खेलाडी

पल्सर स्पोर्टस् अवार्डमा पुरुषतर्फ फुटबलका अञ्जन विष्ट र महिलामा भलिबलकी अरुणा शाही वर्षका उत्कृष्ट खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:१९:oo

फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाही बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । अञ्जन पुरुष तथा अरुणा महिलातर्फका वर्ष उत्कृष्ट खेलाडी बनेका हुन् । यसपटकको अवार्डमा तीन विधामा फुटबलले बाजी मारेको छ ।

भलिबलले दुई विधामा उपाधि हात पार्‍यो । उत्कृष्ट प्रशिक्षकमा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बने । अञ्जन आफू उत्कृष्ट हुने क्रममा फुटबलकै किरण चेम्जोङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरीसँगै कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाललाई पछि पार्न सफल भए । अञ्जनले प्रज्ञा भवनमा अवार्ड लिँदै विनाशकारी भूकम्पमा परी निधन भएका पत्रकार सुमन भोम्जनलाई स्मरण गरेका छन् । 

अञ्जनले विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत समूह बीमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । उनले १३औँ साफ च्याम्पियनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध गोल गरेका थिए । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा छन् । अञ्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरेका छन् । 

यसैगरी, वर्ष महिला उत्कृष्ट खेलाडी हुने क्रममा अरुणाले क्रिकेटकी रुविना क्षेत्री, सीता रानामगर, पुष्पा भण्डारी र पुनम रावललाई पछि पारिन् । अरुणाको कप्तानीमा नेपालले लगातार दोस्रोपटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि हात पारेको थियो । नेपालले समूह चरणका पाँच खेल र फाइनलमा उज्वेकिस्तानलाई हराउँदै प्रतियोगितामा अपराजित रही उपाधि रक्षा गरेको थियो । अरुणा च्याम्पियनसिपमा उत्कृष्ट सेटर बनेकी थिइन् । छैटौँ एनभिए कपमा पनि उत्कृष्ट सेटर चुनिएकी अरुणाले ०७६ मा पिपल्स च्वाइसको अवार्ड हात पारेकी थिइन् ।

यसैगरी, वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि फुटबलका मनीष डाँगीले पाएका छन् । उनले बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, भलिबलकी उषा भण्डारी र फुटबलकी प्रीति राईलाई पाखा लगाउँदै उपाधि हात पारेका हुन् । यसैगरी, पारा एथलेटिक्सको अवार्ड पलेसा गोवर्धन पारा एथ्लिट अवार्डबाट सम्मानित भइन् । उनले जापानमा सम्पन्न पारा ओलम्पिकमा कांस्य पदक प्रतिस्पर्धासम्मको यात्रा तय गरेकी थिइन् । सोही वर्ष उनले बहराइनमा सम्पन्न एसियन युथ पारा गेम्समा एक स्वर्ण जितेकी थिइन् । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरेका छन् ।

ओलम्पियन रघुराज लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित
लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन रघुराज वन्त सम्मानित भएका छन् । २४ वर्षको उमेरमा मिस्टर काठमाडौं बनेका उनी राष्ट्रिय च्याम्पियन स्प्रिन्टर, नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष, नेपाल ओलम्पिक कमिटीका महासचिव भए । उनले खेलाडीका रूपमा ओलम्पिकसम्मको उच्चतम यात्रा तय गरेका थिए ।

एक प्रशिक्षकका रूपमा उत्कृष्ट खेलाडीहरू उत्पादन गरे । उनले फुटबल, रक क्लाइम्बिङ, हक्की, टेबल टेनिस र बक्सिङ खेले । उनको मन पर्ने खेल एथलेटिक्स हो । त्यसमा उनको विधा सय मिटर प्रिन्ट थियो । यस विधामा उनी लगातार सात वर्ष च्याम्पियन भएका थिए । खेल्दाखेल्दै जापान पढ्न गएका वन्तले स्पोर्टस् फिजियोलोजी पढेका थिए ।

वैकुण्ठ मानन्धरले पहिलो दक्षिण एसियाली खेलकुदमा पहिलो स्वर्ण जित्दा वन्त उनका मेन्टर थिए । उनकै प्रशिक्षणमा मानन्धरले लगातार दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए । पछिल्लो समयमा उनकै प्रशिक्षणमा सन्तोषी श्रेष्ठ महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी छिन् । सन्तोषीले १३औँ सागमा पहिलो महिला एथलेटिक्स खेलाडीको कीर्तिमान रच्दै सागमा स्वर्ण जितिन् । 

भलिबलकी भण्डारीले जितिन् पिपल्स च्वाइस 
अवार्डमा एक मात्र विधा भोटिङका आधारमा छिनोफानो हुन्छ । सर्वाधिक भोटिङ हात पार्ने खेलाडी नै पिपल्स च्वाइस अवार्डबाट सम्मानित हुन्छन् । यसपटक भलिबल खेलाडी उषा भण्डारीले सो विधामा बाजी मारेकी छिन् । भोटिङका आधारमा विजेता चयन गरिएको यस विधामा भण्डारीले सर्वाधिक ३८ प्रतिशत भोट पाइन् । उनले फुटबलका अञ्जनलाई पछि पारेकी थिइन् । यसैगरी, पिपल्स च्वाइज अवार्ड जित्दा भण्डारीले क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई हराइन् । मनोनयनमा परेका अञ्जन विष्ट ३१.१४ भोटिङ प्रतिशतका साथ दोस्रो स्थानमा रहे ।

क्रिकेटका शेखले १४.९९ प्रतिशत, अभिलाषा विष्टले ८.३२ प्रतिशत र डुवाना लामाले ७.५० प्रतिशत मत पाएका छन् । भण्डारीले १३औँ दक्षिण एसियाली खेलकुदमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले राष्ट्रिय टोलीमा पछाडि फर्केर हेर्नुपरेको छैन । १८ वर्षको उमेरमा उनी आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसकेकी छिन् । पछिल्लो दुई वर्ष माल्दिभ्समा क्लब भलिबल प्रतियोगिता खेलेर भण्डारीले थप अनुभव बनाइसकेकी छिन् ।

तामाङलाई स्पेसल अवार्ड
अवार्ड २०७८ अन्तर्गत स्पेसल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई प्रदान गरिएको छ । ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङसलदेवी तामाङका बुबाआमा दानबहादुर र मायादेवीलाई स्पेसल अवार्ड प्रदान गरिएको हो । नेपाली ब्याडमिन्टनमा एकछत्र राज गर्न सफल तीनजना यी दिदीभाइलाई सफलता दिलाउनका लागि दानबहादुर र मायादेवी पर्दापछाडिबाट नायक बनेका थिए । भोजपुर बजारका दानबहादुरले आफैँले खेलमैदान बनाएर छोराछोरीलाई प्रशिक्षण मात्र दिलाएनन्, नेपालकै राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन बनाए । तामाङले भोजपुरलाई नै ब्याडमिन्टन खेलाडी उत्पादन हुने ठाउँको रूपमा नै परिचित गराएका छन् ।

ad
ad