मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ फाल्गुण २३ मंगलबार ०८:०७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्ववियु चुनाव नजिकिँदै गर्दा केही क्याम्पसमा विवाद : त्रिचन्द्रमा एकमुस्ट भर्ना गरेपछि विरोध, चुनावी कार्यतालिका प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ फाल्गुण २३ मंगलबार ०८:०७:००

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नजिकिएसँगै कतिपय क्याम्पसमा विवाद देखिएको छ, जसका कारण निर्वाचन कार्यतालिकासमेत प्रभावित भएको छ ।त्रिविको आंगिक त्रिचन्द्र क्याम्पसमा दुई लाख रुपैयाँ एकमुस्ट बैंकमा जम्मा गरेर विद्यार्थी भर्ना गरेपछि विवाद देखिएको छ । विवादकै कारण निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । स्रोतका अनुसार भर्नाको समय सकिनै लाग्दा नेविसंघमा आबद्ध व्यक्तिले क्युआर कोडमार्फत एकमुस्ट रकम जम्मा गरेका थिए । जसबाट ३१ विद्यार्थी भर्ना गर्न पाउनुपर्ने नेविसंघको माग छ भने अन्य संगठनले विरोध जनाएका छन् । 

विवादका कारण त्रिचन्द्रमा मतदाता नामावलीसमेत प्रकाशित हुन सकेको छैन । त्रिवि निर्देशिकामा विद्यार्थीको एकमुस्ट भर्नालाई मान्यता नदिने व्यवस्था छ । तर, त्रिचन्द्रमा एउटै भौचरबाट बैंकमा रकम तिरेर धेरै विद्यार्थीको भर्नाको लिस्ट बनाएका कारण विवाद चर्किएको हो । निर्देशिकाअनुसार एउटा विद्यार्थीले एउटा भौचर प्रयोग गरी भर्ना हुनुपर्दछ ।

त्रिचन्द्रका सहायक क्याम्पसप्रमुख बालकृष्ण पौडेलले भर्नाको विवाद टुंगिन लागेको बताए । ‘एकमुस्ट भर्नाको विषयमा छलफल भएर अन्तिम टुंगो लाग्ने क्रममा छ, टुंगिएपछि नामावली सार्वजनिक हुन्छ,’ उनले भने । निर्वाचनको मितिलाई असर नपर्ने गरी काम हुने पौडेलले बताए । विगतमा स्ववियु चुनावलाई लक्षित गरी ठूलो संख्यामा भर्ना गर्ने विकृति थियो । यसपटक भर्नाको शुल्क धेरै रहेकाले यस्तो समस्या कम हुन सक्ने त्रिविका पदाधिकारीको भनाइ छ । 

लमजुङ कृषि क्याम्पसमा होस्टेल नै खाली गरेर चुनावी प्रक्रिया
त्रिविको अर्को आंगिक लमजुङ कृषि क्याम्पसमा समेत विवादका कारण सुरुमै निर्वाचन प्रक्रियामा समस्या देखियो । संघ–संगठन दर्ता गर्ने समयमा विवाद भएपछि अहिले होस्टेल खाली गरेर चुनावी प्रक्रिया अघि बढेको जानकारी आएको विद्यार्थी कल्याण निर्देशनालय प्रमुख प्रा.डा. पशुपति अधिकारीले बताए । होस्टेलमा बसेर विभिन्न समूह निर्माण गरी चुनावी प्रक्रियामा अवरोध सिर्जना गरेपछि नै होस्टेल खाली गराएको र त्यसपछि शान्त वातावरणमा चुनावी प्रक्रिया अघि बढेको उनको भनाइ छ । 

त्रिविको आयुर्वेद क्याम्पसमा समेत चुनावी प्रक्रियामा समस्या आएको थियो । इन्टर्नसिपका विद्यार्थीले विभिन्न माग राखेर क्याम्पसमा ताला लगाएपछि चुनावी प्रक्रिया अवरुद्ध भएको थियो । सो क्याम्पसमा समेत आइतबारदेखि चुनावी प्रक्रिया अघि बढेको छ ।

१९ फागुनदेखि चुनावी प्रक्रिया, ५ चैतमा मतदान
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले १९ फागुनदेखि स्ववियु निर्वाचनको प्रक्रिया सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । १९ फागुनमा संघ, संगठन तथा समूह दर्ता, २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, दाबी–विरोध गर्ने र छानबिन गर्ने, २६ फागुनमा मनोनयनपत्र वितरण र २७ फागुनमा मनोनयनपत्र दाखिला गरी प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । २८ फागुनमा नामावलीमाथि दाबी–विरोध, त्यसको छानबिन र उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी ५ चैतमा मतदान गर्ने निर्वाचन तालिका छ । 

उम्मेदवारहरूले २९ फागुनदेखि २ चैत राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन र त्यसपछि मौन अवधि सुरु हुनेछ । २८ वर्ष नकटेका विद्यार्थीले मात्र स्ववियुमा भाग लिन पाउनेछन् । विद्यार्थी कल्याण निर्देशनालय प्रमुख अधिकारीले त्रिविले जारी गरेको निर्देशिकाअनुसार काम गरेमा कुनै समस्या नआउने र चुनावी वातावरण बन्ने बताए । उनले अहिलेसम्म कसैले पनि चुनावी कार्यक्रमलाई बिथोल्ने क्रियाकलाप नगरेको बताए । स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुन्छ, तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्ने व्यवस्था छ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याअनुसार फरक छ ।