१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मुना कुँवर काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आठ इन्टरनेट सेवाप्रदायकलाई कारबाही

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:२२:oo

जथाभावी रूपमा इन्टरनेट सेवा शुल्क असुल गर्ने आठ इन्टरनेट सेवाप्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । प्राधिकरणले प्रत्येक सेवाप्रदायकलाई एक–एक लाख जरिवाना गरेको छ । आइतबार सबै सेवाप्रदायकलाई प्राधिकरणले पत्रमार्फत ३० दिनभित्र जरिवाना रकम भुक्तानी गर्न निर्देशन दिएको हो । 

दूरसञ्चार ऐनअनुसार इन्टरनेट सेवाप्रदायकले सेवाग्राहीसँग लिने शुल्क दर प्राधिकरणबाट प्रमाणित गराउनुपर्छ । तर, प्रदायकले आफूखुसी दर तोकेर सेवाग्राहीबाट रकम असुल्न थालेको पाइएपछि प्राधिकरणले कारबाही गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । ‘सेवाप्रदायकले प्राधिकरणबाट अनुमति नलिई आफूखुसी इन्टरनेट सेवा शुल्क तोक्न पाउँदैनन् ।

तर, ऐनविपरीत नयाँ–नयाँ प्याकेज बनाउँदै शुल्क तोक्न थालेको भेटियो,’ उनले भने । प्राधिकरणले यस विषयमा सेवाप्रदायकसँग स्पष्टीकरणसमेत सोधेको थियो । तर, सेवाप्रदायकको स्पष्टीकरण चितबुझ्दो नभएपछि प्राधिकरणले कारबाही गरेको हो । ‘हामी ३० दिनभित्रमा जरिवाना रकम भुक्तानी गर्ने व्यहोरासहित पत्र काटेका छाैँ । जरिवाना रकम भुक्तानी नगरे कानुनी प्रक्रियाअनुसार लाइसेन्स खारेज हुन्छ,’ उनले भने । 

प्राधिकरणले वल्र्डलिंक कम्युनिकेसन जावलाखेल, भायानेट कम्युनिकेसन जावलाखेल, सुबिसु केबल नेट बालुवाटार, क्लासिक टेक नयाँ बानेश्वर, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम तिनकुने, सिजी कम्युनिकेसन थापाथली, डिस मिडिया नेटवर्क भैँसेपाटी र वाइफाई नेपाल जावलाखेललाई एक–एक लाख जरिवाना गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले आफूखुसी फेस्टिबल प्रमोसन गर्ने तीन इन्टरनेट सेवाप्रदायकलाई समेत कारबाही गरेको छ । प्राधिकरणले कारबाहीस्वरूप प्रत्येक सेवाप्रदायकलाई ५०–५० हजार रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणको निर्देशनविपरीत विभिन्न किसिमका फेस्टिबल प्रमोसनललगायत बन्डिङ गरी इन्टरनेट सेवा सञ्चालन गरेको पाइएको प्राधिकरणले जनाएको छ ।

यस्तो सेवाप्रदायकलाई प्राधिकरणले गत कात्तिकमा नै स्पष्टीकरण सोधेको थियो । तर, स्पष्टीकरण चितबुझ्दो नभएपछि कारबाही गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले बताए । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम यस्ता सेवाप्रदायक कारबाही गरी यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ ।

फेस्टिबल प्रमोसनल गरेबापत प्राधिकरणले वल्र्डलिंक कम्युनिकेसन, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेटलाई जरिवाना गरेको हो । त्यस्तै, प्राधिकरणको निर्देशनविपरीत अटो रिन्यु हुने गरी भिएएस सेवा सञ्चालन गरेको पाइएकाले नेपाल दूरसञ्चार कम्पनीलाई समेत ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई अटेरी गरेपछि इन्टरनेट सेवाप्रदायकहरू कारबाहीमा परेका छन् । प्राधिकरणले पटक–पटक सचेत गराउँदासमेत आफ्ना गतिविधि नसच्याएपछि प्राधिकरणले दूरसञ्चार ऐनबमोजिम जरिवाना गरेको हो । इन्टरनेट सेवाप्रदायकले इन्टरनेट महसुल दर प्राधिकरणबाट स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाललगायत पत्रपत्रिका तथा वेबसाइटमार्फत सूचना प्रकाशन गरी लागू गरेको भेटेपछि प्राधिकरणले सार्वजनिक सूचना नै प्रकाशन गरी सचेत गराएको थियो । 

ad
ad