मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २३ मंगलबार
  • Tuesday, 06 June, 2023
२०७९ फाल्गुण २१ आइतबार १४:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेषज्ञसहितको बृहत् स्वास्थ्य शिविरले नागरिक दंग 

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण २१ आइतबार १४:४७:००

शिविरमार्फत विशेषज्ञ डाक्टरहरूको सेवा पाएपछि नागरिक खुसी भएका छन्। शनिबार रेसुंगा नगरपालिकाको आयोजना तथा चौराहा हस्पिटल प्रालि बुटवल र गुल्मी अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सयजनाले सेवा लिएका छन्। 

शिविरको जिल्ला समन्वय प्रमुख द्रोण खत्रीले शुभारम्भ गरेका थिए। उनले रेसुंगा नगरपालिकाले तम्घास अस्पतालमार्फत गरेको सेवा विस्तार निकै प्रशंसनीय भएको बताए। सामाजिक न्याय स्थापित गर्न स्थानीय तहले सरकारी स्वास्थ्य संस्थाहरूलाई अब्बल बनाउनुपर्नेमा खत्रीले जोड दिए।

शिविरमा हाडजोर्नी एक सय ९२ जना, न्युरो ५६ जना, स्त्री रोग ७१, बालरोग १९, जनरल फिजिसियन एक सय ९७, नाक, कान, घाँटी ३९, डेन्टल दुई र छालारोगका एक सय १३ जनालाई सेवा प्रदान गरिएको रेसुंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्तीमगरले जानकारी दिइन्।

शिविरमा तीन सय ९४ महिला र दुई सय ९५ पुरुषले सेवा लिएका थिए। उनका अनुसार शिविरमा न्युरो स्पाइन सर्जरी तथा जनरल ल्याप्रोस्कोपी, हाडजोर्नी तथा नसा रोग, प्रसूति तथा स्त्रीरोग, छाला तथा चर्म, मानसिक तथा नसा, बाल रोग, जनरल फिजिसियन, मुटुरोग सेवा राखिएको थियो। 

त्यस्तै, मुख स्वास्थ्यसम्बन्धी, भिडियो एक्सरे, नाक, कान घाँटी, दीर्घकालीन दुखाइ तथा एनेस्थेसिया क्रिटिकल, फिजियोथेरापी पुनर्स्थापनालगायतका सेवा शिविरमा प्रदान गरिएको घर्तीमगरले बताइन्। 

शिविरमा निःशुल्क औषधि वितरण, ल्याब सेवा, पिसाब, सुगर जाँच, इसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको हो। गुल्मीमा विशेषज्ञ डाक्टरहरूको अभावमा जिल्लाबाहिर पुग्नुपर्ने बाध्यताका नागरिकले शिविरबाट सेवा पाएका थिए। स्वास्थ्य शिविरमा हाडजोर्नी, नसा र मुटुरोगसम्बन्धीका बिरामी धेरै भेटिएका थिए। 

शिविरमा आएका डाक्टर भेट्न मात्रै बुटवल पुग्दा पाँच हजार खर्च हुने भएकाले सदरमुकाममै स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी लागेको रेसुंगा नगरपालिका– ११ की सावित्रा केसीले बताइन्। उनले शिविरमा समस्या पत्ता लागेकाले समय मिलाएर उपचारका लागि बुटवल काठमाडाैं जाने केसीले बताइन्। 

जिल्लाको सवैभन्दा ठूलो गुल्मी अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ डाक्टर छैनन्। जसका कारण रेसुंगा नगरपालिकाले अस्पतालसँग सहकार्य गरेर हाडजोर्नी विशेषज्ञ सेवा विस्तार र आँखा उपचार केन्द्रमार्फत मोतियाबिन्दुको अप्रेसन निःशुल्क गर्ने व्यवस्था गरेको छ। 

रेसुंगा नगरपालिकाका नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्रोत र साधनअनुसारका योजना अगाडि बढाएको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए। अहिले पनि स्वास्थ्य उपचारको राम्रो व्यवस्था नहुँदा थुप्रै नागरिकले बसाइँसराइ न्यूनीकरणका उपाय सोच्नुपर्ने बताए।