१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौ‌
२o८१ बैशाख २२ शनिबार १४:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रानीमहल र श्रीनगरबाट ४५ लाख राजस्व संकलन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:३१:oo

नेपालको ताजमहलका नामले चिनिने रानीमहल अवलोकनबाट रु. ३० लाख राजस्व संकलन भएको छ।

चालू आर्थिक वर्ष ०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम संकलन गरेको हो।

पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत छ। ०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो। 

नगरपालिकाले रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्दै आएको छ। रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको हो। नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार साउनदेखि माघसम्ममा ५० हजारभन्दा बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन्। 

दैनिक दुई सयभन्दा बढी पर्यटक भित्रिने गरेका छन्। गत वर्ष रु. सात लाख टिकट बिक्रीबाट आम्दानी गरेको नगरपालिकाले यस वर्ष सात महिनामै तेब्बर लक्ष्य पूरा गरेको छ। 

‘विगतका वर्षमा नगरपालिकाले ठेक्का प्रक्रिया अपनाउँदा थोरै राजस्व संकलन गरेको थियो,’ प्रवक्ता कार्कीले भने, ‘यस वर्षदेखि नगरपालिका आफैँले कर्मचारी परिचालन गरी व्यवस्थापन गर्दा राजस्व वृद्धि गरेको हो।’

नगरपालिकाको शिरले चिनिने अर्को महत्वपूर्ण पर्यटकीयस्थल श्रीनगर हो। यो वनभोजस्थल पनि हो। पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, कपिलवस्तुबाट यहाँ वनभोज मनाउन आउनेको घुइँचो लाग्ने गर्दछ। 

चालू आवको सात महिनामा ७० हजारभन्दा बढी पर्यटकले श्रीनगरको अवलोकन गरेका छन्। शान्त, मनोरम र स्वच्छ हावापानीको आनन्द लिन पर्यटक यहाँ आउने गर्दछन्। 

श्रीनगर अवलोकनबाट नगरपालिकाले रु. १५ लाख राजस्व संकलन गरेको छ । यहाँ नगरपालिकाले खानेपानी, विद्युत् तथा सरसफाइको व्यवस्थापन गरेको छ। 

श्रीनगरको नगरपालिकाले व्यवस्थापन र प्रचारप्रसारले पर्यटकको संख्या बढेको नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताए । चालू आवदेखि नगरपालिका आफैँले श्रीनगर व्यवस्थापन गर्न थालेपछि राजस्व वृद्धि भएको हो। 

नगरपालिकाले रानीमहल दरबार अवलोकनका लागि रु. ५० तोकेको छ । सार्क देशका लागि रु. ८० र अन्य मुलुकका नागरिकले रु. एक सय ५० तिरेर दरबारको अवलोकन गर्ने गरेका छन्। 

त्यस्तै, श्रीनगर अवलोकनका लागि रु. २०  लिने गरिएको छ। नगरपालिकाभित्र रानीमहल र श्रीनगरका साथै भगवती मन्दिर, अमरनारायण मन्दिर, शीतलपाटी, मूल ढोका, पाल्पा दरबार, ऋषिकेश मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल पर्दछन्। 
 

ad
ad