१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २१ आइतबार १४:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल एयरलाइन्सले दक्षिण कोरिया सीधा उडान गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १४:१२:oo

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सीधा उडान गर्ने भएको छ। 

दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए।  

उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ। समितिमा निगमको सेफ्टी, इन्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ।

दक्षिण कोरियामा सीधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो। 

‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागिएको छ,’ निगमका प्रवक्ता खड्काले भने। 

निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरूप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो। राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सीधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजावाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ।

निगमले हाल भारतका तीन गन्तव्यसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन्।