
जसपाको आन्तरिक छानबिनमा अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधिसभा निर्वाचनमा हराउन पार्टीकै २० नेता–कार्यकर्ताले अन्तर्घात गरेको प्रतिवेदन तयार पारेको छ । छानबिन समिति संयोजक शिवलाल थापा मगरको प्रतिवेदनमा अन्तर्घात गर्नेहरूमा संघदेखि प्रदेश सभाका सांसदसम्म छन् ।
गत १८ र १९ पुसमा बसेको जसपाको राजनीतिक समितिको बैठकबाट गठन भएको छानबिन तथा कारबाही सिफारिस समितिले ४२ दिनको स्थलगत अध्ययनपछि प्रतिवेदन तयार पारेको हो । अध्ययनमा सबै ठाउँमा गरेर ८० नेता–कार्यकर्ताले अन्तर्घात गरेका छन् । प्रतिनिधिसभामा यसपटक जसपा १२ सिटमा खुम्चिएको छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी १ मा भारी मतान्तरले पराजित यादवको हारको कारणबारे पनि समितिले स्थलगत छानबिन गरेको थियो । संयोजक थापामगरका अनुसार छानबिनमा करिब २० जनाले यादवलाई हराउन अन्तर्घात गरेको देखिएको छ ।
‘अध्यक्ष लडेको क्षेत्रबाट ३८ जना नेता–कार्यकर्ताको नाम कारबाहीका लागि सिफारिस भएको थियो । छानबिनमा २० जनाको अन्तर्घातमा संलग्नता पुष्टि भयो’, उनले भने, ‘अध्यक्षलाई निर्वाचन क्षेत्रमा उठ्नैपर्छ भनेर दबाब दिनेहरूले नै षड्यन्त्र गरेको पनि पाइयो । राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेलका आधारमा नेता–कार्यकर्ता पैसामा बिक्री भएको पनि देखियो । अन्तर्घात पुष्टि हुने अडियो, भिडियो, फोटो, बयान सबै प्रमाण प्राप्त भएका छन् ।’
समितिले अन्तर्घात गर्नेलाई कारबाहीको सिफारिससहित शनिबार अध्यक्ष यादवलाई प्रतिवेदन बुझाएको छ । ‘निर्वाचनमा अन्तर्घात भएको भन्दै विभिन्न १४ जिल्लाबाट १५२ जनाको नाम केन्द्रमा आएको थियो,’ संयोजक थापामगरले भने, ‘स्थलगत छानबिनमा प्रमाणका आधारमा ८० नेता–कार्यकर्तालाई कारबाही गर्नुपर्ने देखियो । १५२ जना आरोपीबाहेक थप २४७ जनासँग बयान लिँदा ८० जनाले अन्तर्घात गरेको स्पष्ट देखियो ।’