मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पामिर गाैतम
२०७९ फाल्गुण २१ आइतबार ०७:२१:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीन–अमेरिका तनाव : आवश्यकता होइन चाहना

Read Time : > 5 मिनेट
पामिर गाैतम
२०७९ फाल्गुण २१ आइतबार ०७:२१:००

चीनसँगको वर्तमान अमेरिकी तनाव मुख्य रूपमा प्रजातन्त्र र निरंकुशताबीचको संघर्षभन्दा पनि अमेरिकी विश्वव्यापी प्रधानता कायम राख्ने स्वार्थबाट अभिप्रेरित छ 

अप्रिल २१, २०२२ मा बोआओ फोरमको वार्षिक सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा शान्ति र स्थायित्व कायम गर्न सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउँदै ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) को प्रस्ताव गरेका थिए । त्यसको १० महिनापछि गत २१ फेब्रुअरी मा चीनले यसलाई विस्तृत रूपमा व्याख्या गर्न ग्लोबल सेक्युरिटी इनिसिएटिभ कन्सेप्ट पेपर जारी गरेको छ । सहयोगका २० प्राथमिकता र पाँच प्रमुख मञ्च र संयन्त्रलाई अघि सारेको जिएसआईले सबै राष्ट्रहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सर्वोच्चताको वकालत र ‘ब्लक’ राजनीतिको विरोध गरेको छ । युद्ध र प्रतिबन्धले कुनै पनि प्रकारका विवाद समाधान गर्न नसक्ने भएकाले वार्ता र परामर्शद्वारा मतभेद समाधान गर्न आवश्यक रहेको जिएसआईले उल्लेख गरेको छ । बहुपक्षीयतालाई उच्च प्राथमिकतामा राखेको यस अवधारणा पत्रले जटिल र आपसमा जोडिएका परम्परागत र गैरपरम्परागत सुरक्षा चुनौतीलाई सबैको फाइदा हुने गरी सम्बोधन गर्न सके विश्वमा सन्तुलित, प्रभावकारी र दिगो सुरक्षा संरचना स्थापना गर्न सकिने बताएको छ । 

विश्वशान्ति र सुरक्षाका लागि अवधारणा पत्रको आह्वान अवश्य पनि सराहनीय छ । पत्रले सुरक्षा क्षेत्रमा नीतिगत सञ्चार सुदृढ गर्न, अन्तरसरकारी संवाद र सहयोग प्रवद्र्धन गर्न र सुरक्षा चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायमा थप तालमेल बढाउन नियमित उच्चस्तरीय बैठक आयोजना गर्ने प्रस्ताव गरेको छ । नियमित सम्मेलन र परामर्श गर्ने प्रावधानबाहेक जिएसआईले अघि सारेको अन्य सहयोगका सिद्धान्त र प्राथमिकता वर्षौंदेखि चीनको परराष्ट्र नीतिको हिस्सा रहँदै आएको छ । बेइजिङले अब तिनीहरू सबैलाई जिएसआईको ब्यानरमुनि ल्याएको छ ।

चीनले आक्रामक रूपमा आफ्ना कूटनीतिक गतिविधि बढाउँदै आर्थिक र रणनीतिक मामिलामा सहयोग, संलग्नता र सहकार्यलाई तीव्रता दिँदै गर्दा यसले अमेरिकालाई क्षेत्रीय र विश्वव्यापी व्यवस्थाबाट विस्थापित गर्न लागिपरेका तर्कहरू पनि छ्यापछ्याप्ती आएका छन् । बेइजिङको बढ्दो रणनीतिक र आर्थिक सक्रियता र संलग्नतालाई दुई देशबीच महाशक्तिका लागि प्रतिस्पर्धा र उदारवादी र अनुदारवादी विश्वव्यापी मान्यताबीच वैचारिक संघर्षको सुरुवात भएको विश्लेषण नयाँ ‘फेसन’ भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले अबको संघर्ष प्रजातन्त्र र निरंकुशताबीच रहेको घोषणा नै गरे । उनका विदेशमन्त्री ब्लिंकेनले गत मेमा बेइजिङको दृष्टिकोणले अन्तर्राष्ट्रिय समुदायलाई विगत ७५ वर्षमा विश्वको धेरै प्रगति र उपलब्धिलाई मार्गदर्शन र निरन्तरता दिने विश्वव्यापी मूल्य–मान्यताबाट अलग गर्ने आरोप लगाएका थिए ।

धेरै अमेरिकीका लागि आज चीन एउटा मात्र यस्तो आर्थिक, कूटनीतिक, सैन्य र प्राविधिक शक्ति हो, जसले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफ्नो स्वार्थअनुसार आकार दिन चाहन्छ । आज अमेरिकामा चीनको उदयको विषयमा जुन स्तरको चिन्ता र चासो देखिन्छ, त्यही स्तरको चिन्ताले ७०, ८० र ९० को सुरुवाती दशकमा अमेरिकीहरू जापानको आर्थिक र प्राविधिक शक्तिको उदयले व्याकुल थिए । अमेरिकी राजनीतिज्ञ, विश्लेषक र मिडिया आउटलेटहरूले जापानी आर्थिक शक्तिको खतरा औँल्याउँदै अमेरिकाले जापानको उदयलाई रोक्नुपर्ने तर्क गर्थे । यसले अमेरिकी राजनीति र समाजमा जापानविरोधी प्रतिकूल वातावरण निर्माण गरेको थियो । आज जसरी चिनियाँ नेतृत्व र मिडिया आउटलेटहरू अमेरिकी तर्क र आरोपप्रति प्रतिक्रियात्मक देखिन्छन्, त्यतिवेला जापानी नेता, अर्थशास्त्री र पत्रपत्रिका अमेरिकी दाबीको खण्डन गर्न र जापानसँगको प्रतिकूल सम्बन्धको खतरनाक परिणाम औँल्याउन व्यस्त रहन्थे । चीनमा आज विभिन्न सुरक्षा र कूटनीतिक विश्लेषक अमेरिकाको विश्व राजनीतिमा घट्दो साखको कुरा गर्छन् । त्यसवेला जापानमा पनि केही टिप्पणीकार अमेरिका कमजोर भएको, विश्व अर्थतन्त्रमा प्रतिस्पर्धा गर्न अक्षम रहेको र जापानमा निर्भर रहेको तर्क गर्दै जापानलाई थप स्वतन्त्र मार्गमा अघि बढ्न आग्रह गर्थे । सोभियत विघटनपछि व्यापारलाई लिएर वर्षौंदेखिको खटपटले यी दुईबीचको सम्बन्ध र सुरक्षा सहकार्य र सहायतामा थप संकट बढाएको थियो । कोरियाली प्रायद्वीप र ताइवानमा विकसित घटनाक्रमका साथै जापानको घट्दो र अमेरिकाको बढ्दो आर्थिक गतिविधि र मजबुत अर्थतन्त्रले अमेरिकी मिडियामा व्याप्त जापानविरोधी भावना क्रमशः हट्दै गएको हो । त्यसपछिको समय अमेरिकीको निसाना चीनतर्फ मोडियो । १९९० दशकको मध्यबाट अमेरिकी रणनीतिक गणनामा चिनियाँ खतरा भन्ने तर्कले प्रमुखता लिन थाल्यो । 

चीनले आक्रामक रूपमा आफ्ना कूटनीतिक गतिविधि बढाउँदै आर्थिक र रणनीतिक मामिलामा सहयोग, संलग्नता र सहकार्यलाई तीव्रता दिँदै गर्दा यसले अमेरिकालाई क्षेत्रीय र विश्वव्यापी व्यवस्थाबाट विस्थापित गर्न लागिपरेका तर्कहरू सुनिन थालेका छन् 
 

शीतयुद्धपछिको अमेरिकी राजनीतिक र सैन्य रणनीतिलाई लिएर सन् १९९२ को अमेरिकी योजना मार्गदर्शनको मस्यौदाले अमेरिकी प्रधानतालाई चुनौती दिने कुनै पनि प्रतिद्वन्द्वी महाशक्तिको उदयलाई रोक्न आह्वान गरेको छ । १९९० सम्म आइपुग्दा अमेरिका र भारत संसारका दुई ठूला लोकतन्त्रका रूपमा स्थापित भइसकेका थिए । तर, १९९२ को सो प्रतिवेदनले दक्षिण एसिया र हिन्द महासागरका अन्य राष्ट्रमा भारतीय आधिपत्यवादी आकांक्षालाई निरुत्साहित गर्न आह्वान गरेको छ । त्यस्तै सन् २००० मा पेन्टागनले जारी गरेको एसिया २०२५ रिपोर्टले भविष्यमा चीन अमेरिकी सर्वोच्चताका लागि चुनौती हुने भएकाले चीनले प्रजातान्त्रिक प्रणाली अपनाएको होस् वा नहोस्, त्यसलाई रोक्न योजना बनाउनुपर्ने सुझाब दिएको थियो । तसर्थ, बाइडेनले भनेझैँ अमेरिकाको चीनसँगको वर्तमान तनाव मुख्य रूपमा प्रजातन्त्र र निरंकुशताबीचको संघर्षभन्दा पनि अमेरिकी विश्वव्यापी प्रधानता कायम राख्ने स्वार्थबाट अभिप्रेरित छ । त्यसका लागि ऊ भारतमा खस्किँदो लोकतान्त्रिक मूल्य–मान्यतालाई अनदेखा गर्छ र स्वयंले ‘पारिया राष्ट्र’ घोषणा गरेकोसँग हात मिलाउँछ । 

वर्तमान विकास मोडेलले विश्वव्यापीकरणको गतिसँगै उसलाई अन्तर्राष्ट्रिय समुदायसँग गहिरो रूपमा जोडेको छ । विभिन्न चिनियाँ दस्ताबेजले पनि चीनको भविष्य र भाग्य अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ रूपमा जोडिएको उल्लेख गर्दै आएका छन् । वर्तमान चिनियाँ नेतृत्वले चीनको विदेश नीति निर्माण गर्दा मूलतः दुइटा प्रश्न विश्लेषण गर्ने गरेका छन्– पहिलो, सो नीतिले चीनको आर्थिक वृद्धि र आधुनिकीकरणलाई दिगो बनाउन अनुकूल अन्तर्राष्ट्रिय वातावरण कसरी सिर्जना गर्न सक्छ र दोस्रो, अमेरिकी प्रभुत्वमा रहेको वर्तमान विश्व प्रणालीमा चीनले कसरी आफूलाई महाशक्तिको हैसियतमा स्थापित गराउन सक्छ । चिनियाँ नीति–निर्माताहरू अमेरिकाको चीननीति र भूमिका आफूहरूलाई महाशक्तिका रूपमा उदय हुन नदिन डिजाइन गरिएको हो भन्नेले चिन्तित छन् । हरेक चिनियाँ श्वेतपत्रमा होस् वा अवधारणा पत्रहरूमा भेटिने एकपक्षीयवाद, आधिपत्य शक्ति, गुट राजनीतिजस्ता विशेषता मूलतया अमेरिकातर्फ निर्देशित छन् । यति भइरहँदा पनि चीनमा धेरै अमेरिकासँगको स्थिर सम्बन्धविना चीनको विकास लक्ष्य सफल हुन नसक्ने र अमेरिकासँगको प्रतिकूल सम्बन्धले चीनको वर्तमान आधुनिकीकरणको मार्गलाई अवरोध गर्न सक्ने मान्छन् ।

अमेरिकी मामिलाका प्रभावशाली चिनियाँ विज्ञ वाङ जिसी चीनमा अमेरिकाबारे विभिन्न धारणा व्याप्त रहेको बताउँछन् । उनका अनुसार कसैले अमेरिकालाई अहंकारी र विस्तारवादी राष्ट्रका रूपमा हेर्छन्, जसले विश्व शान्ति र स्थिरतालाई खतरामा मात्र पारेको छैन, आफैँलाई समेत कमजोर बनाउँदै छ । त्यस्तै, कसैले यसलाई एक प्रतिद्वन्द्वी राष्ट्रका रूपमा हेर्छन्, जसले चीनको राष्ट्रिय पुनर्मिलनमा अवरोध सिर्जना गरेर चिनियाँ भौगोलिक अखण्डताको उल्लंघन गरेको छ र चीनको राजनीतिक गति र प्रणालीलाई आकार दिन चाहन्छ । अमेरिकाप्रति चीनमा नकारात्मक दृष्टिकोण मात्र व्याप्त छैन । धेरैले यसलाई विश्वलगायत चिनियाँ अर्थतन्त्रको इन्जिनका रूपमा पनि हेरेका छन् । त्यस्तै, विश्वकै सबैभन्दा उन्नत वैज्ञानिक र प्राविधिक स्रोतबाट सम्पन्न अमेरिका आफैँमा आधुनिकीकरणको एउटा मोडेल भएकाले चीनले यसबाट धेरै सिक्नुपर्ने आवाजसमेत चीनमा व्याप्त छ । आज चीनमा व्याप्त संयुक्त राज्य अमेरिकाको सकारात्मक वा नकारात्मक छविका बाबजुद स्थिर र शान्तिपूर्ण सुरक्षित वातावरण सुनिश्चित गर्ने चीनको प्रयासका लागि अमेरिकासँग द्वन्द्व र भूराजनीतिक प्रतिस्पर्धाबाट जोगिनु महत्वपूर्ण छ भन्नेमा शंका छैन । १९९० को दशकको मध्यबाट चिनियाँ नेतृत्वले चिनियाँ विदेश नीतिमा दोहोर्‍याइरहने शान्तिपूर्ण विकास, सद्भावपूर्ण समाज, नयाँ सुरक्षा अवधारणा, जित–जित सहयोग, गैरहेजिमोन, बहुपक्षीयताको वकालत र जिम्मेवार शक्तिजस्ता अभिव्यक्ति वास्तवमा चीनको उदयलाई खतराका रूपमा अन्य राष्ट्रले नलिऊन् भन्ने अभिप्रायबाट निर्देशित छ । चिनियाँ नेतृत्वले १९९० को मध्यबाट आफूलाई एक ‘जिम्मेवार प्रमुख शक्ति’का रूपमा स्थापित गराउने वकालत गर्दै आएको छ । यही अनुरूप राष्ट्रपति सीले पदभार ग्रहण गरेदेखि नै चीनले आफ्नो क्षमताबमोजिम ‘विश्वव्यापी सार्वजनिक वस्तु’ उपलब्ध गराउने जिम्मेवारी बढ्दो रूपमा लिने कुरा बारम्बार दोहोर्‍याउँदै आएका छन् । एसियाली पूर्वाधार लगानी बैंक, बेल्ट र रोड परियोजना, ग्लोबल डेभलपमेन्ट इनिसिएटिव, ग्लोबल सिक्योरिटी इनिसिएटिवजस्ता परियोजना र अवधारणा यही नीतिअन्तर्गत ल्याइएका हुन् । ती विचार स्वीकार गर्ने देशहरूको संख्या विश्वव्यापी मामिलामा चीनको आवाज कत्ति बलियो छ देखाउने प्रमाण हुनेछ ।

जनगणतान्त्रिक चीनको स्थापना भएदेखि तीनवटा दीर्घकालीन र स्थायी प्राथमिकताहरू : सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता, आर्थिक विकास र पुनस्र्थापित महाशक्तिका रूपमा अन्तर्राष्ट्रिय सम्मान र प्रतिष्ठा स्थापना गर्ने चाहनाले चिनियाँ कम्युनिस्ट क्रान्तिलाई सधैँ उत्प्रेरित गरेको थियो । आज पनि यिनै कारकले चीनको विदेश र सुरक्षा नीतिलाई स्पष्ट रूपमा उत्प्रेरित गरेको छ । चीनको आकार, इतिहास र शक्ति हेर्दा यो स्वाभाविक महत्वाकांक्षा हो पनि । चीनले पश्चिमी विश्वका लागि चुनौती खडा गरेकोमा सामान्य सहमति भए पनि त्यस चुनौतीको प्रकृति वा त्यसलाई सामना गर्ने उपयुक्त माध्यमबारे कुनै सहमति छैन । बाइडेन प्रशासनले चीनसँगको आर्थिक सम्बन्धलाई अलग गर्न आह्वान गर्दा त्यसमा अन्य युरोपेली प्रमुख राष्ट्रहरू सहमत हुन सकेका छैनन् । चीनसँगको व्यापार युद्धका बाबजुद पनि चीन र अमेरिकाबीचको व्यापार घटेको छैन । चीनको लामो अवधिको महत्वाकांक्षा जस्तोसुकै होस् चिनियाँ नेतृत्वका लागि अहिलेको चिन्ता भनेकै आफ्नो प्रभाव रोक्ने अमेरिकी रणनीतिलाई कसरी चिर्ने भन्नेतिर केन्द्रित छ । हुन त सन् १९४९ देखि चिनियाँ विदेश नीतिमा केही आधारभूत रणनीतिक परिवर्तन र केही गल्ती भए पनि सामान्यतया यो संयमित रहेको छ । १९७९ मा भियतनामसँगको युद्धपश्चात् चीनले कुनै पनि युद्ध लडेको छैन । बीसौँ शताब्दीमा चीनले अमेरिकी सेनाविरुद्ध कोरियन युद्धमा, १९६२ मा भारतविरुद्धको छोटो युद्ध र १९७९ मा भियतनामविरुद्ध अर्को छोटो युद्ध लडेको थियो र यी सबै रक्षात्मक युद्ध थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा सीले आफ्नो प्रतिवेदनमा प्राचीन चिनियाँ दर्शनलाई उद्धृत गर्दै भनेका थिए– सबै जीवित चिजहरू एकअर्कालाई हानि नगरी साथसाथै बढ्न सक्छन् र विभिन्न सडक एकअर्कामा हस्तक्षेप नगरी समानान्तर रूपमा चल्न सक्छन् । चीन र अमेरिका यसैगरी हिँड्ने हुन् कि होइनन्, समयले नै बताउनेछ तर यी दुई राष्ट्रबीचको सम्बन्धले विश्वशान्ति वा द्वन्द्वलाई भने परिभाषित गर्नेछ ।