१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:o२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वराजा ज्ञानेन्द्र भारतमा : निकटस्थहरूलाई समेत छैन भ्रमणको जानकारी 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o२:oo

पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार भारत भ्रमणमा निस्किएका छन् । तर, उनी किन भारत गएका हुन् भन्नेबारे निकटस्थहरूलाई समेत जानकारी छैन । ७ फागुनमा जारी सन्देशमा राजा र दलहरू मिल्नुपर्ने उल्लेख गरेका उनी झापाबाटै सिलिगुडी हुँदै नयाँ दिल्ली पुगेको निकटस्थ स्रोतहरूले जानकारी दिएका छन् । पूर्वराजा शाह भारत भ्रमणका लागि निस्केको उनका संवादसचिव डा. फणिराज पाठकले पुष्टि गरे । ‘उहाँ केही दिनका लागि दक्षिणको भ्रमणमा जानु भएको हो, विस्तृतमा मेरो कुरा हुन पाएको छैन,’ पाठकले नयाँ पत्रिकासँग भने । पूर्वराजासँग पूर्वरानी कोमल, निजीसचिव सागर तिमल्सिनासहित ६ जना साथमा छन् । उनले भारत भ्रमणको कार्यक्रमबारे निकटस्थहरूलाई पनि विस्तृतमा जानकारी दिएका छैनन् ।

डा. फणिराज पाठक पूर्वराजाका संवादसचिव
०६२/६३ सालको जनआन्दोलनको समयमा भएको पाँचबुँदे भद्र सहमति कार्यान्वयन गरेर अघि बढ्दा मात्रै मुलुकको भलो हुन्छ भन्नेमा पूर्वराजा स्पष्ट हुनुहुन्छ । ४ जेठ ०६५ को प्रतिनिधिसभा घोषणाको जगमा दलहरूसँग सहकार्य गरौँ भन्ने उहाँको चाहना छ 

व्यवसायी दुर्गा प्रसाईंको पहलमा १ फागुनमा मेचीमा आयोजित राजसंस्था फर्काउने अभियानमा उनी सहभागी थिए । पहिलोपटक यस्तो अभियानमा सहभागी भएका पूर्वराजाले ७ फागुनमा दिएको सन्देशप्रति दलहरूले विरोध जनाउँदै आएका छन् । ‘विगतमा उहाँबाट जारी हुँदै आएका सन्देशको समष्टि रूपमा राजा र दलहरू मिलेर देशलाई अघि बढाऔँ भन्ने सन्देश जारी भएको हो,’ पूर्वराजाका संवादसचिव डा. पाठकले नयाँ पत्रिकासँग भने, ‘०६२/६३ सालको जनआन्दोलनका समयमा भएको पाँचबुँदे भद्र सहमति कार्यान्वयन गरेर अघि बढ्दा मात्रै मुलुकको भलो हुन्छ भन्ने स्पष्ट देखियो । २०६५ जेठ ४ गते जारी प्रतिनिधिसभा घोषणापत्र कार्यान्वयनको चरणमा फर्केर सहमति खोजौँ भन्ने उहाँको आशय हो ।’ 

तत्कालीन सात दल र राजाबीच दोस्रो जनआन्दोलनका वेला पाँचबुँदे अलिखित भद्र सहमति भएको उनले दाबी गरे । ‘राजाले प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने, राजा संवैधानिक दायरामा रहने, कार्यकारी अधिकार मन्त्रिपरिषद्मा रहने, सार्वभौमसत्ता जनतामा निहित रहने र जनआन्दोलन अन्त्य हुने भन्ने पाँचबुँदे भद्र सहमति कार्यान्वयन भएमा मात्रै मुलुकले निकास पाउँछ भन्ने स्पष्ट भयो,’ पाठकले भने, ‘राजा र दलहरू मिल्नुपर्छ भन्नुको तात्पर्य ४ जेठ, ०६५ को म्याग्नाकार्टा कार्यान्वयन गरौँ भन्ने हो । त्यसमा तत्कालीन माओवादीले पनि समर्थन जनाएको हुनाले सहमतिको मार्गचित्र त्यही हुन्छ भन्ने हाम्रो भनाइ हो ।’ 

पूर्वराजाले १४ असोजमा दिएको सन्देशमा डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सन अपरिहार्य भएको भन्दै गणतन्त्रको विकल्प खोज्नुपर्ने उल्लेख गरेका थिए । 

राप्रपा नेतृत्वसँग असन्तुष्ट
पूर्वराजा ज्ञानेन्द्रले १ फागुनमा दुर्गा प्रसाईंको कार्यक्रममा सहभागिता जनाएर राप्रपाप्रति असन्तुष्टि जनाएको जानकारहरूको भनाइ छ । ‘राजसंस्थाको एजेन्डा बोक्ने पार्टी सरकारमा जानुहुँदैन भन्ने पूर्वराजाको आशय थियो । राष्ट्रपति निर्वाचनमा पनि राप्रपा सहभागी नहोस् भन्ने उहाँको चाहना छ । राप्रपा नेतृत्व राजाको चाहनाअनुसार नभएर एमालेको चाहनाअनुसार अघि बढेको उहाँलाई लागेको छ,’ उनीसँग भेटेका एक बुद्धिजीवीले नयाँ पत्रिकासँग भने । 

राप्रपाले सरकार छाड्नुअघि १३ फागुनमा आयोजित केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अध्यक्ष लिङ्देनलाई नेताहरू ऋषिबाबु परियार, नारायण कोइरालालगायतले पूर्वराजासँग सल्लाह गरेर मात्रै अघि बढ्नुपर्ने सुझाव दिएका थिए । तर, लिङ्देनले प्रतिवाद गरेका थिए । ‘राप्रपा राजाले स्थापना गरिदिएको पार्टी होइन । हरेक निर्णय राजालाई सोधेर गर्नुपर्छ भन्ने होइन,’ पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई साक्षी राखेर लिङ्देनले भनेका थिए । प्रसाईंको अभियानबाट राप्रपा कमजोर हुने लिङ्देनलगायतका नेताहरूको आकलन छ । लिङ्देनले केही दिनअघि इलाममा आयोजित कार्यक्रममा बैंक ठग भन्दै प्रसाईंको अभियानले राजसंस्था फर्किने विषय हास्यास्पद रहेको भन्दै असन्तुष्टि जनाएका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले ६ पुसमा सिमरा पुगेर पूर्वराजासँग भेटेका थिए । त्यसयता लिङ्देन र पूर्वराजाको भेट भएको छैन ।

 

ad
ad