पछिल्लो समय लोप हुँदै गएको माझी समुदायको लदी पूजा धनकुटाको कुशेटारमा धुमधामसँग मनाइएको छ । साँगुरीगढी गाउँपालिका– ३ कुशेटारमा ०५७ सालदेखि लदी पूजा हुन सकेको थिएन ।
२२ वर्षपछि कुशेटारका माझी समुदायले लदी पूजा मनाएको स्थानीय फूलमाया माझीले बताइन् । परापूर्वकालदेखि नै खोला किनारमा बसी माछा मार्ने, डुंगा (नाउ) चलाउने गर्दै आएका उनीहरू खोला र नदीमा आश्रित हुने भएकाले पूजा गर्ने परम्परा रहिआएको बताइन्छ ।
लदी पूजा गर्नाले नदीमा डुंगा चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ । यसका साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको पाइन्छ । वर्षातकाे समयमा नदीले बर्सेनि विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि क्षति नपुर्याओस् भनेर नदीको पूजा गरिँदै आएको स्थानीय नवीन माझीले बताए ।
लामो समयदेखि बन्द भएको लदी पूजा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले यस वर्षदेखि बुढापाकासँगको सहकार्यमा युवाहरूको अग्रसरतामा पूजा मनाउन थालिएको उनले बताए । पूजामा आएका माझी समुदायले मौलिक पोसाक गुन्यु, चोली र फेटा तथा स्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा पनि यसको महत्व उजागर गर्न आवश्यक रहेको नवीनको भनाइ छ ।
विशेष गरी धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिकाको तमोर छेउछाउमा माझी समुदायको बसोवास रहेको छ ।