१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण १७ बुधबार १४:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेको ढुंखर्क–च्याम्राङबेँसी सुरुङमार्गको प्राविधिक अध्ययन केयूले गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार १४:५o:oo

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा  १ र ४ जोड्ने ढुंखर्क खोला–च्याम्राङबेँसी सुरुङमार्गको प्रारम्भिक प्राविधिक अध्ययन काठमाडौं विश्वविद्यालय (केयू)ले गर्ने भएको छ। 

विश्वविद्यालयले त्यहाँको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको डिजाइन र अनुमानित लगानी सबै अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन प्रदान गर्नेछ।

बुधबार विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका र केयूबीच तीनबुँदे समझदारी भएको छ। केयूको तर्फबाट उपकुलपति डा. भोला थापाले र गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

तीनबुँदे समझदारीमा ढुंखर्क खोला–च्याम्राङबेँसी सुरुङमार्गको प्रारम्भिक प्राविधिक अध्ययन गर्ने महत्वपूर्ण विषय उल्लेख गरिएको छ। 

त्यसका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने समझदारी भएको छ। पनौती हुँदै बेथानचोकदेखि बागमती प्रदेश राजधानी जोड्ने सडकको बीचमा सुरुङ बनेपछि समयको बचत हुने भएको छ। 

उक्त सुरुङ अनुमानित एकदेखि साढे एक किलोमिटर हुने अनुमान गरेको छ। प्रारम्भिक प्राविधिक अध्ययन अबको चार महिनामै सकाउने गरी काम गर्ने इन्जिनियर श्यामले बताएका छन्।

समझदारीपत्रमा हस्ताक्षर गर्दै केयूका उपकुलपति डा. थापाले देश बनाउनकै लागि विश्वविद्यालयको स्थापना भएको र स्थानीय सरकारसँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताए। 

उक्त सुरुङमार्ग विश्वविद्यालयका लागि जीवन्त प्रयोगशाला पनि हुने उनको भनाइ छ। सर्वसुलभ रूपमा तीव्र गतिमा राम्रो अध्ययन गर्नका लागि इन्जिनियरहरूलाई उपकुलपति थापाले निर्देशन पनि दिएका छन्।

दिगो सडक निर्माणका लागि सुरुङमार्गको योजना अगाडि बढेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । बेथानचोक– ४ को सेतीभिरमा सुक्खा पहिरो गइरहने र सडक पुरिरहने समस्याको समाधानका लागि आयोजना अगाडि बढिरहेको अधिकारीले बताए।

३५ किलोमिटरमा प्रदेश राजधानी हेटौँडा 

बेथानचोक गाउँपालिकाबाट ३५ किलोमिटरमा बागमती प्रदेश राजधानी हेटौँडा पुग्ने अधिकारीले अनुमान गरेका छन्। अहिले लगभग ४० किलोमिटर रहेकोमा सुरुङमार्ग बनेपछि पाँच किलोमिटर घट्दा ३५ किलोमिटरमा हेटौँडा पुग्ने अनुमान गरेको हो। 

यो वैकल्पिक राजमार्गले रामेछाप, सिन्धुपाल्चोक दोलखा जिल्लाका मानिसलाई प्रदेश राजधानी पुग्न सहज हुने देखिएको छ। 

काठमाडाैं–हेटौँडा जोड्ने वैकल्पिक राजमार्गको रूपमा बनेपा, पनौती, बेथानचोक, खानीखोला, बागमती गाउँपालिका हुँदै धरान–चतारा सडक जोड्ने वैकल्पिक राजमार्गको डिपिआर तयार भइसकेको पालिका अध्यक्ष अधिकारीले जानकारी दिए। त्यसका लागि अझ दिगो सडकका लागि सुरुङमार्ग आवश्यक रहेको बताए।