मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
यम बम काठमाडाैं
२०७९ फाल्गुण १७ बुधबार ०९:३४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

यो हिउँदमा १४ वर्षयताकै कम वर्षा : ०६३ यताका १७ वर्षमा सातवटा हिउँद अधिक सुक्खा

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
२०७९ फाल्गुण १७ बुधबार ०९:३४:००

नेपालमा हिउँदे वर्षा १४ वर्षयताकै कम भएको छ । ०७९ को हिउँदमा १२.९ मिलिमिटर मात्रै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लोपटक सबैभन्दा कम हिउँदे वर्षा ०६५ मा ११.५ मिलिमिटर भएको थियो । 

देशभरका २० वटा मुख्य वर्षा मापन केन्द्रको औसत आँकडाअनुसार १५ मंसिरदेखि १६ फागुनसम्म औसत ६०.१ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) वर्षा हुनुपर्ने हो । तर, यसपटक दसैँ (असोज तेस्रो) यता नै सुक्खा सुरु भएको थियो । माघमा पश्चिम नेपाल र मध्य फागुनमा पूर्वी र मध्य नेपालमा हल्का वर्षा भए पनि खडेरी रह्यो । यो हिउँदमा देशव्यापी ८० प्रतिशत हाराहारी सुक्खा रहेकामा मध्य र पूर्वी नेपालमा भने झन्डै शतप्रतिशत खडेरी छ । सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम भएमा खडेरीको अवस्था हुन्छ भने जम्मा सरदर वर्षाको २१.५५ मात्र वर्षा हुनु भनेको अधिक खडेरीको अवस्था हो । ‘असोजको अन्तिम साताबाट नै धेरै स्थानमा वर्षा नभएको तथा भएका स्थानमा सरदरभन्दा निकै कम वर्षा भएकाले लामो खडेरीको अवस्था छ,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले भनिन्, ‘प्रशान्त महासागरमा देखिएको लानिनाले सामुद्रिक तापमान घटाइदिने भएकाले पानी पर्ने सम्भावना कम हुन्छ, यसपटक यही भयो ।’ 

उच्च हिमाली क्षेत्रमा कात्तिक अन्तिमदेखि र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मंसिरदेखि नै हिमपात हुने भए पनि यसपटक खासै हिमपात भएन । माघ र मध्य फागुनमा केही क्षेत्रमा भने हिमपात भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्च (आइपिसिसी)को गत वर्षको प्रतिवेदनअनुसार एसियाली मुलुकमा अतिवृष्टिका अतिरिक्त अनावृष्टि (खडेरी) हुने दरसमेत बढेको छ । यसअघि १० वर्षमा हुने खडेरी पाँच वा ६ वर्षमै भइरहेको छ । यसको अर्थ खडेरी हुने दर १.७ गुणाले र अतिवृष्टि १.३ गुणाले बढेको देखिन्छ । 

प्रशान्त महासागरमा हिउँदअघि नै देखिएको लानिना अहिले पनि कायमै रहेकाले यो हिउँद सुक्खा नै बितेको हो । ०६३ यताको तथ्यांक हेर्दा १७ मध्ये ११ वटा हिउँदमा औसतभन्दा कम पानी परेको छ भने सातवटा हिउँद त यस वर्षझैँ अधिक सुक्खा रहे । विभागका अनुसार १७ वर्षमा सबैभन्दा कम हिउँदे वर्षा ०६५ मा भएको हो । त्यस वर्ष ११.८ मिलिमिटर मात्र वर्षा भएको थियो । त्यसअघि ०६४ मा पनि १५.३ मिलिमिटर मात्र पानी परेको तथ्यांक छ । त्यसपछिका वर्षमा केही सुधार भए पनि ०७२ देखि ०७४ सम्मका तीन वर्ष लगातार सुक्खा रहे । ०७२ मा २१.८, ०७३ मा १९.९ र ०७४ मा १४.४ मिलिमिटर वर्षा भएको थियो । ०७५ र ०७६ मा औसतभन्दा बढी पानी परे पनि ०७७ मा फेरि सुक्खा रह्यो । त्यस वर्ष १५.४ मिलिमिटर मात्र हिउँदे वर्षा भयो । ०७८ मा हिउँदको सुरुवातीमा सुक्खा रहे पनि माघमा वर्षा हुँदा कुल ७२ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । 

खडेरी लम्बिने आकलन
विश्व मौसम संगठनमा आबद्ध युरोपियन, जापान र युकेले आगामी मध्य वैशाखसम्म अर्थात् प्रिमनसुनमा पनि वर्षा सरदरभन्दा कम हुने आकलन गरेका छन् । तर, ती सबै संस्थाको एकीकृत आकलनले तीनवटै समूह (सरदरभन्दा कम, सरदर र दरदर भन्दाबढी)को बराबर सम्भावना देखाएको छ । 

भारतको जल तथा मौसम विज्ञान विभागले लानिनाबारे प्रक्षेपण गरिनसके पनि सम्भावनालाई नकारेको छैन । यद्यपि, भारतमा पनि यो अवधिमा औसतभन्दा कम पानी पर्ने र तापक्रम औसतभन्दा बढी हुन सक्ने अनुमान छ । तर, नेपालको जल तथा मौसम विज्ञान विभागले भने प्रिमनसुनको प्रक्षेपण सुरु गरिसकेको छैन । स्रोत–साधनको अभावका कारण प्रिमनसुनको प्रक्षेपण हुन नसकेको मौसमविद् कँडेलले बताइन् ।

नेपालमा धनगढी, नेपालगन्ज, वीरगन्जलगायत गर्मी अधिक हुने सहर हुन् । धनगढीमा ५ जुन १९९५ मा अधिकतम तापक्रम ४६.५ डिग्री सेल्सियस मापन गरिएको थियो । प्रिमनसुनसहितका महिनामा कम वर्षा भएमा पानीका मुहान सुक्ने, भूमिगत पानीको सतह झन् तल जाने र कृषि उत्पादनमा समेत असर पर्ने कृषि विज्ञहरूले अनुमान गरेका छन् । 

पश्चिम पहाडमा पानीका मुहानको अवस्थाबारे अध्ययन गरेका वातावरणका लागि युवा सञ्जालका अध्यक्ष सनोत अधिकारीले सुक्खाले मुहान सुक्ने समस्या बढाउने बताए । ‘पानी पर्‍यो भने मुहान रसाउने हुन्छ । खेतीपातीका लागि काम लाग्छ,’ उनले भने, ‘यस वर्ष हिउँदमा खासै पानी परेन । अघिल्ला वर्ष एक महिना मात्र सुक्ने मुहान तीन–चार महिना पनि सुक्न सक्छ ।’ यस वर्ष मंसिरदेखि नै डढेलो सुरु भइसकेको छ ।