१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ फाल्गुण १७ बुधबार ०९:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भक्तपुर नगरपालिकामा प्रभावकारी बन्दै शैक्षिक ऋण

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ फाल्गुण १७ बुधबार ०९:१५:००

प्रमाणपत्र धितो राखेर एक वर्षमै लिए एक सय ५७ जनाले ऋण, शैक्षिक ऋण कार्यान्वयन गर्न निर्देशिका जारी

विपन्न भएकै कारण उच्च शिक्षा अध्ययनको इच्छा मार्नुपर्ने अवस्था भक्तपुर नगर क्षेत्रमा अन्त्य भएको छ । भक्तपुर नगरपालिकाले यस्ता विपन्न तथा जेहेनदार विद्यार्थीको अध्ययन गर्ने इच्छा पूरा गर्न चार वर्षअघिदेखि सहुलियत ऋण उपलब्ध गराउँदै आएको छ । हालसम्म पाँच सयभन्दा बढीले यो सेवा लिइसकेका छन् । प्रमाणपत्र धितो राखेर यो वर्ष मात्रै नगरपालिकाबाट एक सय ५७ जनाले शैक्षिक ऋण लिइसकेका छन् । निवेदन दिएकामध्ये १३ जनाले भने ऋण पाएनन् ।

यो वर्ष नगरपालिकाको वडा १ बाट सबैभन्दा कम चारजनाले शैक्षिक ऋण लिएका छन् भने सबैभन्दा धेरै वडा नम्बर ४ बाट २५ जनाले पाएका छन् । भक्तपुर नगरपालिकामा १० वटा वडा छन् । स्थायी बसोवास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई यो ऋण उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । ‘यसरी ऋण दिन थालेको चार वर्ष भयो । यो वर्ष मात्रै एक सय ५७ जनाले पाएका छन् । एसइईभन्दा माथि विद्यावारिधि (पिएचडी) गर्नेसम्मले ऋण पाउँछन्,’ नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले भने । सुवालका अनुसार योग्यताको प्रमाणपत्र धितोस्वरूप राखेर सहुलियत ब्याजमा ऋण लिन सक्नेछन् । तर, यसका लागि स्वदेशमै अध्ययन गर्नुपर्नेछ । आवेदन दिएकामध्ये अन्तर्वार्ताबाट छनोट भएकालाई ऋण उपलब्ध गराइन्छ । यस वर्ष शैक्षिक ऋणका लागि एक सय ७० जनाले आवेदन दिएका थिए । यस वर्ष ऋण नपाउने १३ जना एकाघरका थिए । नगरपालिकाले प्रतिविद्यार्थी पाँच लाखका दरले शैक्षिक ऋण उपलब्ध गराउँदै आएको छ । 

दामोदर सुवाल, प्रशासकीय अधिकृत, भक्तपुर नगरपालिका
शैक्षिक ऋण दिन थालेको चार वर्ष भयो । यो वर्ष मात्रै एक सय ५७ जनाले पाएका छन् । एसइईभन्दा माथि विद्यावारिधि (पिएचडी) गर्नेसम्मले ऋण पाउँछन् । 

पाँच सय सातजनाले पाइसके ऋण 
नगरपालिकाले यस वर्षका एक सय ५७ जनासहित पाँच सय सातजनालाई शैक्षिक ऋण उपलब्ध गराइसकेको छ । शैक्षिक ऋणसम्बन्धी कानुन नै बनाएर ०७६ सालदेखि विपन्न तथा जेहेनदार विद्यार्थीका सहुलियत ऋण उपलब्ध गराउँदै आएको हो । नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ पारित गरेको हो । निर्देशिकालाई १९ वैशाख ०७६ मा स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको हो । निर्देशिकाअनुसार ऋण माग गर्ने विद्यार्थीले वडा समितिमा निवेदन पेस गरी सिफारिस लिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सम्बन्धित वडा समितिले नगरपालिकासमक्ष सिफारिस गर्नेछ । सिफारिस प्राप्त भएपछि नगर प्रमुखले शैक्षिक ऋण स्वीकृत गर्न सक्नेछन् । स्वीकृत निवेदनका अधारमा नगरपालिकाले ऋण दिनेछ ।

पढाइ सकिएको चार वर्षमा साँवा–ब्याजसहित ऋण तिर्नुपर्छ
शैक्षिक ऋणको दुरुपयोग नहोस् भनेर नगरपालिकाले ऋण कार्यान्वयनसम्बन्धी नियम पनि बनाएको छ । एक परिवारमा एक जनाभन्दा बढीले ऋण पाउँदैनन् भने ऋणको ब्याजदर वार्षिक ६ प्रतिशत मात्रै हुनेछ । यस्तै, पढाइ सकिएको चार वर्षभित्र साँवा–ब्याजसहित ऋण फिर्ता गर्नुपर्नेछ । निर्देशिकाका अनुसार पढाइको अन्तिम परीक्षा दिएको मितिले एक वर्षभित्र न्यूनतम २५ प्रतिशत, दुई वर्षभित्र ५० प्रतिशत, अन्तिम परीक्षा दिएकोे तीन वर्षभित्र ७५ प्रतिशत र अन्तिम परीक्षा दिएको चौथो वर्षभित्र सबै ऋण रकमको साँवा–ब्याजसहित फिर्ता गर्नुपर्नेछ । निर्धारित समयभित्रै ऋणको साँवा–ब्याज नतिरे ५ प्रतिशत हर्जाना गरी विद्यार्थी र निजको साक्षी बसेकाहरूलाई नगरपालिकाबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ । सरकारी बाँकीसरह असुलउपर गरिनेछ । 

एकमुस्ट ऋण तिर्न पनि सकिने
शैक्षिक ऋण लिएको विद्यार्थीले एकमुस्ट रकम तिर्नसमेत सक्नेछ । निवेदकले अध्ययन ऋण दुरुपयोग गरे वा अन्य प्रयोजनमा खर्च गरे बाँकी रकम रोक्का राखी निर्देशिकाअनुसार कारबाहीसमेत गरिनेछ । चार वर्षअघि ऋण लिएकाहरूले फिर्ता गर्न थालिसकेका छन् । नगरपालिकाका अनुसार चार वर्षअघि ऋण लिएका तीनजनाले फिर्ता गरिसकेका छन् । अन्य विद्यार्थी पनि ऋण चुक्ताको चरणमा छन् । नगरपालिकाले धेरै विद्यार्थीका लागि ऋण उपलब्ध गराउन पाँच लाख मात्र रकमको व्यवस्था गरेको हो । ‘हामीले सबैलाई समेट्न पाँच लाखको सीमा बनाएका हाैँ । थोरै लगानी गर्ने, तर धेरैलाई गर्ने भन्ने हाम्रो उद्देश्य हो,’ प्रशासकीय अधिकृत सुवालले भने ।

कसरी लिने शैक्षिक ऋण ?
सहुलियत ऋणका लागि शैक्षिक योग्यताको प्रमाणपत्र नगरपालिकामा धितोस्वरूप राख्नुपर्नेछ । निवेदकले वडा समितिमा निवेदन पेस गरी सिफारिस लिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सम्बन्धित वडा समितिले नगरपालिकासमक्ष सिफारिस गर्नेछ । सिफारिस प्राप्त भएपछि नगर प्रमुखले शैक्षिक ऋण स्वीकृत गर्न सक्नेछन् । स्वीकृत निवेदनका अधारमा आर्थिक शाखाले ऋण दिनेछ ।