१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १७ बुधबार o८:३५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डिजेल चोरीमा संलग्न चालक जेल चलान, व्यवसायी धरौटीमा रिहा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १७ बुधबार o८:३५:oo

 नेपाल आयल निगम लिमिटेडको ट्यांकरबाट १६ हजार लिटर डिजेल चोरी बिक्री गर्ने चालक सप्तरीको कञ्चनरूप नगरपालिका–९ का नवराज भुजेल पुर्पक्षका लागि जेल चलान भएका छन् ।त्यस्तै, चोरीको डिजेल खरिद गर्ने खडक–७ का भण्डार आयल स्टोरका सञ्चालक श्यामकुमार साह पाँच लाख रुपैयाँ तथा ट्यांंकरका अर्का चालक कञ्चनरूप–९ का विनोदकुमार भुजेल एक लाख रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तीनैजनालाई चोरी मुद्दामा सप्तरी प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गत ११ माघमा आयल निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्जमा २० हजार लिटर डिजेल लोड भएको को.१ख ३६५५ नम्बरको ट्यांकर विराटनगरस्थित निगमकै १ नम्बर प्रादेशिक कार्यालयका लागि निस्केको थियो । एक दिनमै विराटनगर पुग्नुपर्ने ट्यांकरबीच बाटोमा बेपत्ता भएको थियो । प्रहरीले १४ माघमा सो ट्यांकर सप्तरीको रुपनीमा बेवारिसे अवस्थामा फेला पारी चेकजाँच गर्दा १ नम्बर च्याम्बरमा चार हजार लिटर डिजेल रहेको र अन्य २, ३, ४ र ५ नम्बर च्याम्बरमा रहेको कुल १६ हजार लिटर डिजेल चोरी भएको थियो ।

त्यसपछि चोरी घटनामा संलग्नलाई १६ फागुनमा प्रहरीले नियन्त्रण गरी अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सो चोरीको डिजेल खरिद गर्ने अर्को पेट्रोलपम्प विक्की ट्रेडर्सका सञ्चालक शेखर गुप्ता भने फरार रहेको प्रहरीले जनाएको छ ।आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावलीअनुसार यसअघि नै डिजेल चोरीमा संलग्नलाई कारबाही गरिसकेको छ ।

यस्तै, चालकलाई इन्धन ढुवानीमा आजीवन प्रतिबन्ध लगाउँदै चोरीको डिजेल खरिद गर्ने दुवै पम्पलाई पाँच महिनासम्म कारोबार बन्द गराई एक–एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । त्यस्तै, ट्यांकरधनी गुणराज निरौलालाई चोरी भएको डिजेलको प्रचलित बजार मूल्यको दोब्बर हुन आउने रकम ५५ लाख चार हजार रुपैयाँ तिराउनेसमेत निर्णय भएको छ ।

निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख अशोक साहले ३५ दिनको म्याद दिएर जरिवाना भुक्तानीको पत्र पठाएको र रकम दाखिला भइनसकेको बताए । ‘रकम दाखिला गर्ने समय अझै बाँकी छ । केही समयमा आउला,’ उनले भने ।