मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रिचार्ड हास
२०७९ फाल्गुण १६ मंगलबार ११:३०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुस–युक्रेन युद्ध निरन्तर रहला ?

युद्धलाई तीव्रतासाथ जारी राख्न दुवै पक्षसँग लडाकु, हतियार एवं उपकरण र आर्थिक संसाधनको कमी छ

Read Time : > 2 मिनेट
रिचार्ड हास
२०७९ फाल्गुण १६ मंगलबार ११:३०:००

युक्रेनमा रुसले एक वर्षअघि गरेको अतिक्रमणपछि युद्ध अप्रत्याशित रूपमा परिवर्तित भइरहेको छ । अतिक्रमण हुँदा रुसी सेनाले सजिलै युक्रेनी सेनालाई पराजित गर्नेछ र सन् २०१४ मा भन्दा युक्रेनको ठूलो भूभाग कब्जा गर्नेछ भन्ने आमबुझाइ थियो । केहीले रुसले राजधानी किएभमा सरकार ढालेर कठपुतली सरकारसमेत बनाउने अनुमान पनि गरेका थिए ।  

यी निराशाजनक भविष्यवाणी हेर्दा पश्चिमा र युक्रेनका धेरैले आज करिब ८० प्रतिशत भूभागमा नियन्त्रण कायम राख्न सफल सार्वभौम युक्रेनलाई खुशीसाथ स्वीकार गर्थे होलान् । अहिलेको आशावादी अवस्थाका लागि युक्रेनको सैन्य पराक्रम, त्यहाँका जनता र नेताको सामूहिक बहादुरीको देन हो । त्यसमाथि हतियार, आर्थिक सहयोग, प्रशिक्षण, बुद्धिमत्ता र लाखौँ शरणार्थीको व्यवस्थापनमा अमेरिका र युरोपको अटल समर्थनको योगदानको पनि भूमिका छ । 

यो युद्ध पुटिनले छनोट गरेको उद्देश्यअनुरूप अघि नबढेको देख्दा उनीसामु कैयौँ चुनौती तेर्सिएका छन् । पुटिनलाई युक्रेनमाथि अतिक्रमण गर्नु तर्कसंगत एवं सम्भाव्य कदम लागेको थियो किनभने उनले युक्रेनी सेना रुसी सेनासामु केही होइनन् भन्ने लाग्थ्यो । युरोप, विशेषतः जर्मनी रुसकै ग्यासमा निर्भर भएकाले अप्ठ्यारो नहुने र ६ जनवरीमा अमेरिकी कंग्रेसमा भएको आक्रमण र अफगानिस्तानबाट सैन्यफिर्तीले अमेरिका विभाजित छ भन्ने ठानेका थिए । तर, यी सबै आकलन गलत ठहरिएपछि उनलाई लाभभन्दा बढी बेफाइदा भएको छ । 

पुटिन अहिले समय खरिद गर्न खोजिरहेका छन् । युक्रेनी सेनालाई परास्त गर्न नसकेपछि युक्रेनलाई कमजोर बनाउन पुटिन आर्थिक स्रोत र आमनागरिकमाथि धाबा बोलिरहेका छन् । यसबाहेक पुटिनले समय घर्किंदै जाँदा पश्चिमा नेताले जे भने पनि युरोपेली सरकार र अमेरिकाले युक्रेनलाई गर्ने सहयोग लागतको पुनर्मूल्यांकन गर्नेछन् भन्ने पनि ठानेका छन् 

 त्यसो भए युक्रेन युद्धको भविष्य के हो त ? युद्ध प्रायः दुई तरिकाले समाप्त हुन्छ । पहिलो, एक पक्षले अर्कोलाई पराजित गर्छ र विजेता आफ्ना सर्त लागू गर्न सक्षम हुन्छ । र, दोस्रो दुवैले एकअर्कालाई हराउन नसकिने बुझेर सम्झौता गर्न पुग्छन् । यी दुवै परिस्थिति युक्रेन युद्धमा लागू हुँदैन । पश्चिमा मुलुकले आफ्ना केही सर्तलाई खुकुलो पारेर युक्रेनलाई थप सहयोग गर्ने हो भने पनि युक्रेनले आफ्नो सीमाबाट रुसलाई बाहिर निकाल्न सक्छ भन्ने निश्चित छैन । रुसी सेनाले राम्रैसँग जरा गाडेको छ र तिनलाई हटाउन गाह्रै देखिन्छ । 

युद्धलाई तीव्रतासाथ जारी राख्न दुवै पक्षसँग लडाकु, हतियार एवं उपकरण र आर्थिक संसाधनको कमी छ
 

यससँगै चीनले रुसलाई आर्थिक एवं सैन्य सहयोग गर्न सक्छ किनभने चीन आफ्नो साझेदारलाई अमेरिका नेतृत्वको गठबन्धनले हराएको देख्न चाहँदैन । अर्कातर्फ रुसी सैनिकसँग युक्रेनलाई युद्धमैदानमै हराउन आवश्यक नेतृत्व र प्रशिक्षणको अभाव छ । 

यो युद्ध सम्झौतामा टुंगिने खासै सम्भावना देखिँदैन । पुटिनका लागि युक्रेनसँग पराजित भएको ठानिने अवस्थाले उनको घरेलु सत्तामा चुनौती हुन सक्ने हुँदा उनी हरसम्भव युद्ध जारी राख्न चाहन्छन् । रुसमाथि लगाइएको प्रतिबन्ध खासै प्रभावकारी देखिँदैन, किनभने भारत, चीनलगायत मुलुकले रुसी ऊर्जा खरिद गरिरहेकै छन् । पुटिनले रुसको आन्तरिक भाष्यमा नियन्त्रण राख्छन्, जहाँ उनी रुस प्रताडित हुनुमा अमेरिका र नेटो जिम्मेवार छन् भन्ने भान पार्न सफल भएका छन् । 

त्यसैगरी युक्रेनले पनि सम्झौता गर्दैन । सबै युक्रेनी जनताले मुलुकका सबै हिस्सालाई मुक्त बनाउने माग गरिरहेका छन् । कारण स्पष्ट छ, अर्थात् युद्धले जनताको मनस्थिति बदलेको छ । युक्रेनको सैन्य पराक्रम र रुसी बलको स्पष्ट अक्षमताले युक्रेनलाई भविष्यका लागि थोरै भए पनि रणनीतिक रूपमा आशावादी बनाएको छ । युद्धले जनताको मन पनि कठोर बनाएको छ । अदालतहरूमा कत्लेआमदेखि घर–आवास भत्काउने रुसी अत्याचारका प्रतिक्रियामा क्षतिपूर्ति र युद्ध अपराधका मामिलामा मुद्दा दायर भइरहेका छन् । थुप्रैले यदि युक्रेनले कुनै पनि शान्ति सम्झौता गर्ने हो भने पुटिन र उनका आसेपासे सरकारबाट हट्नुपर्ने बताएका छन् ।

अर्को शब्दमा भन्ने हो भने युद्धका लागि कूटनीतिक समाधानका वेला भइसकेको छैन । तर, समय अलिक धेरै लागे पनि यो अवस्था अन्ततः परिवर्तित हुनेछ । यस अवस्थामा राहतको समाचार खोज्ने हो भने दुवै पक्षमा हताहतीका कारण युद्धको तीव्रतामा ह्रास आउने देखिन्छ । स्वाभाविक रूपमा युद्धलाई तीव्रतासाथ जारी राख्न दुवै पक्षसँग लडाकु, हतियार एवं उपकरण र आर्थिक संसाधनको कमी छ । 

रुसले युद्ध चर्काउने सम्भावना निकै न्यून छ । युक्रेनलाई हराउन रुसलाई हम्मेहम्मे परिरहेको अवस्थामा नेटोमाथि आक्रमण गर्नुको तुक रहँदैन । चीन र भारत दुवैले आफू आणविक हतियार प्रयोगको विपक्षमा रहेको स्पष्ट पार्दै आएका छन्, तसर्थ आणविक हतियारको कुनै सैन्य मूल्य छैन । यदि रुसले आणविक हतियार प्रयोग गर्न खोजे त्यसले निश्चय नै अमेरिका र नेटोका सेनालाई युद्धमा निम्त्याउनेछ । 

दुःखद समाचार के छ भने युद्ध तुरुन्तै समाप्त हुँदैन । युक्रेनको नक्सा अब एक वर्षपछि हामीले अहिले देखेकोभन्दा निकै फरक देखिनेछ । आगामी वर्ष अन्धकार र गैरनिर्णायक देखिन्छ, अर्थात् दोस्रो विश्वयुद्धका तुलनामा पहिलो विश्वयुद्धजस्तो हुनेछ । यो युद्ध अर्को वर्षसम्म पुग्दा एक निराशाजनक वर्षगाँठ मात्रै बन्नेछ । एक युद्ध, जुन धेरै लामो समयसम्म चल्ने अपेक्षा गरिएको थियो, त्यसले अबको एक वर्षपछि अर्को चरणको स्मरण र विश्लेषणलाई उत्प्रेरित गर्न सक्छ ।

(हास अमेरिकी विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्ने काउन्सिल अन फरेन अफेयर्सका अध्यक्ष हुन्) प्रोजेक्ट सिन्डिकेटबाट