मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ फाल्गुण १६ मंगलबार ०७:५५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२८ वर्षदेखि भक्तपुरले आफैँ व्यवस्थापन गर्दै छ फोहोर

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ फाल्गुण १६ मंगलबार ०७:५५:००

कुहिने फोहोरबाट बनेको मल प्रतिकिलो २० रुपैयाँमा बिक्री

उपत्यकाका २१ मध्ये १७ स्थानीय तहलाई फोहोरमैला व्यवस्थापन टाउको दुखाइको विषय बन्ने गरेको छ । कहिले ल्यान्डफिल साइटका बासिन्दाको विरोध त कहिले यातायात मजदुरको हडताल । कहिले सरसफाइकर्मी आन्दोलन त कहिले ल्यान्डफिल साइटसम्म पुग्ने बाटोमा अवरोधले स्थानीय तहका लागि यो विषय निकै जटिल बन्ने गरेको छ । 

भक्तपुरको भक्तपुर नगरपालिका भने २८ वर्षदेखि यो झन्झट र झमेलाबाट मुक्त छ । ल्यान्डफिल साइटमा आन्दोलन होस् कि बाटो अवरुद्ध होस्, भक्तपुरमा फोहोर नउडेर दुर्गन्ध फैलिँदैन । यहाँ जस्तोसुकै जटिल अवस्थामा पनि निरन्तर फोहोर उठ्छ । जिल्लाकै तीन स्थानीय तह मध्यपुर, चाँगुनारायण, सूर्यविनायक नगरपालिकाले समेत धादिङ जिल्लाको धुनीबेँसीस्थित बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर पुर्‍याउँछन् । तर, भक्तपुरले भने नगरपालिकाभरिको फोहोर आफैँ व्यवस्थापन गर्दै आएको छ । त्यो पनि नगरपालिकाभित्रै । नगरपालिकाको फोहोर सिसडोल र बन्चरेडाँडामा आजसम्म नलगेको नगरपालिकाअन्तर्गत स्यानेटरी शाखा प्रमुख दिलीपकुमार सुवालले बताए । ‘उपत्यकाका १७ वटै स्थानीय तहको सबै फोहोर सिसडोल, बन्चरेडाँडामा लगिरहेको छ । हाम्रो तर्फबाट भने शून्य छ ।’ शाखा प्रमुख सुवालले भने, ‘बन्चरेडाँडामा सधैँ फोहोर लगेर समस्या समाधान हुँदैन । एक दिन मात्रै बाटो बन्द भयो भने सिंगो उपत्यका दुर्गन्धित हुन्छ । आफ्नै वडामा, नगरमा फोहोर व्यवस्थापनको कोसिस गर्नुपर्छ ।’ 

दिलीपकुमार सुवाल प्रमुख, स्यानेटरी शाखा, भक्तपुर नगरपालिका 
उपत्यकाका १७ वटा स्थानीय तहको सबै फोहोर सिसडोल, बन्चरेडाँडामा लगिरहेका छन् । हाम्रो तर्फबाट आजसम्म फालेका छैनौँ । बन्चरेडाँडामा सधैँ फोहोर लगेर समस्या समाधान हुँदैन । एक दिन मात्रै बाटो बन्द भयो भने सिंगो उपत्यका दुर्गन्धित हुन्छ । आफ्नै वडामा, नगरमा फोहोर व्यवस्थापनको कोसिस गर्नुपर्छ ।

उपत्यकाका अन्य स्थानीय तहले फोहोरलाई मोहोर बनाउने भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर व्यापार गरिरहेका छन् । ‘हामीकहाँ पनि फोहोर व्यवस्थापन गर्छाैँ भनेर निजी क्षेत्रका प्रतिनिधि आएका थिए । तर, आफैँ व्यवस्थापन गर्छाैँ भनेर फर्कायौँ,’ उनले भने । नगरपालिकामा सफाइ मजदुर, चालक, सहयोगी, वडा निरीक्षक १० सहित एक सय ४० जना कर्मचारी सफाइको क्षेत्रमा काम गर्छन् । वर्गीकरण गरेको फोहोरलाई नगरपालिकाले छुट्याउने, मल बनाउने काम गर्दै आएको छ । यसका लागि पाँच रोपनी जग्गा लिएको प्रमुख सुवालले बताए । उनले भने, ‘डुबान हुने, घर निर्माण गर्न नमिल्ने जग्गाधनीको अनुमतिमा खाल्डो खनेका छौँ । त्यहीँ फोहोर व्यवस्थापन गर्दै आएका छौँ ।’ यसरी दुई किलोमिटर क्षेत्र भरिसकेको उनको भनाइ छ । 

नगरपालिकाले उपभोक्तासँग सफाइ शुल्क शीर्षकमा वार्षिक ६ सय रुपैयाँ लिने गर्छ । तर, पसल, व्यवसाय, स्कुल, होटेललगायतसँग भने वार्षिक पाँच हजारसम्म लिने गरेको छ ।

वर्गीकरण नगरे फोहोर फिर्ता 
शाखा प्रमुख दिलीपकुमार सुवालले नगरपालिकामा ०५१ सालमा जागिर सुरु गर्दादेखि नै फोहोर वर्गीकरण गर्ने अभियान सुरु गरेका थिए । उनका अनुसार त्यसवेला कुहिने र नकुहिने फोहोर छुट्याउन घरधनीलाई नगरपालिकाले दुईवटा बाल्टिन वितरण गरेको थियो । त्यतिवेला सुरु भएको अभियान बीचमा केही समय रोकिए पनि ०६२ सालदेखि पुनः निरन्तर चलिरहेको छ । अहिले नगरपालिकाले संकलन गर्ने ४० प्रतिशत फोहोर पूर्ण रूपमा छुट्याइएको हुन्छ । बाँकी ६० प्रतिशत भने मिश्रित हुने गरेको छ । ‘०५१ सालमा फोहोर छुट्याउन बाल्टिन वितरण गर्दा छुट्याएर दिएको फोहोर के गर्ने भन्ने भयो । भएको एउटा कम्पोस्ट प्लान्टले खासै काम गर्न सक्ने अवस्था थिएन,’ सुवालले भने, ‘तैपनि, फोहोर वर्गीकरण गर्न रोकेनौँ ।’ अहिले जनप्रतिनिधि आएपछि भने राम्रो परिमाण आउन थालेको छ । तर, अझै पूर्ण कार्यान्वयन हुन सकेको छैन ।’ 

दैनिक करिब ३० टन फोहोर उत्पादन 
शाखा प्रमुख सुवालका अनुसार सुरुवाती दिनमा फोहोर छुट्याएर उठाउन निकै कष्ट भएको थियो । ‘त्यतिकै फालिरहेकालाई छुट्याउन त गाह्रै भयो नि । तैपनि, दण्ड जरिवानातिर जानुपरेन । कहिलेकाहीँ सम्झाउने, चर्को स्वरले भने बोल्नुपर्‍यो । कहिलेकाहीँ विवादसम्म हुन्थ्यो ।’ उनी सुरुवाती दिनदेखि नै यही शाखामा छन् । सुवालले भने, ‘अहिले नगरवासीले फोहोर छुट्याएर ल्याएको देख्दा खुसी लाग्छ ।’

नगरपालिकाभित्र दैनिक करिब ३० टन फोहोर उत्पादन हुन्छ । जसमध्ये २७ देखि २८ टन दैनिक संकलन हुन्छ । संकलित फोहोरमध्ये ६० प्रतिशत मिसिएको हुन्छ । नगरपालिकाको कोर एरियामा दैनिक फोहोर संकलन हुन्छ । अन्य क्षेत्रमा दुई वा तीन दिनमा संकलन हुन्छ । 

एक वर्षमा दुई सय टन मल उत्पादन
ख्वप कलेजबाट वातावरण विज्ञानमा स्नातक सकेका रमिता तमुखे र नसला सुवालले मल बनाउने विभिन्न चरण ठीक छ–छैन, हेर्ने गर्छन् । चैतयता मात्र नगरपालिकाले दुई सय टन मल उत्पादन गरिसकेको छ । उत्पादित मलमध्ये ५० टन बिक्री भइसकेको छ । नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि गृहकार्यसमेत गरिरहेको छ । यसका लागि २० रोपनी जग्गा खोजिरहेको छ । जुन नगरपालिकाभित्रै हुनेछ । ‘हाम्रो उद्देश्य भनेको फोहोर बाहिर नजाओस् भन्ने नै हो । नगरपालिकाको फोहोर नगरपालिकाभित्रै व्यवस्थापन गर्नुपर्छ भन्ने नै हो । सोही सोचमा अगाडि बढेका छौँ । त्यसका लागि जग्गा प्राप्ति गर्न गृहकार्य भइरहेको छ,’ प्रमुख सुवालले भने । 

संकलित फोहोर नगरपालिकाले के गर्छ ?
नगरपालिकाले फोहोर छुट्याउन नगरवासीलाई दुईवटा बाल्टिन निःशुल्क वितरण गरेको छ । नछुट्याएको फोहोर नगरपालिकाले संकलन नै गर्दैन । फोहोर छुट्याएर उठाउनका लागि सन्देशसहित दिनहुँ माइकिङ गर्ने गरेको छ । सुवालले भने, ‘नछुट्याएको फोहोर नै उठाउँदैनौँ । नछुट्याई फोहोर ल्याए सम्झाउँछौँ । कतिलाई त फिल्डमै छुट्याउन सिकाउँछौँ । त्यसो गर्दा पनि नभए फोहोर नै फिर्ता दिन्छौँ ।’

नगरपालिकाले कुहिने फोहोरबाट मल बनाएर बेच्नुका साथै पुनः प्रयोग गर्न मिल्ने सामान बनाएर बेच्ने गरेको छ । यसबाट वार्षिक १० लाख आम्दानी गर्दै आएको छ । गत चैत महिनाबाट कुहिने फोहोरबाट बनेको मल प्रतिकिलो २० रुपैयाँ कायम भएको छ । बिक्री नभएको नकुहिने सामान छुट्याएर डम्पिङ गर्दै आएको छ । ‘तीन महिनामा मल तयार हुन्छ । मल तयार भएपछि स्थानीय पत्रिकामा सूचना निकाल्ने वा मूल्यसहित माइकिङ गर्छाैैँ । किसानहरू मल लिन प्लान्टमै आउँछन् । कतिपय वडा समितिमा पुगेरसमेत लिन्छन्,’ उनले भने । 

अस्पतालजन्य फोहोर सिसडोल पुर्‍याउनेलाई ५० हजार जरिवाना 

सिसडोल ल्यान्डफिल साइटमा अस्पतालजन्य हानिकारक फोहोर पुर्‍याउनेलाई काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारमा प्रयोग गरेका सिरिन्जलगायत सामान साइटमा पुर्‍याएको हो । 

सोही कारण सुनौलो परिवारलाई महानगरले ५० हजार जरिवाना गरेको हो । ‘महानगरले फोहोर व्यवस्थापनसँग सम्बन्धित अनधिकृत क्रियाकलापलाई नजिकबाट निगरानी गरिरहेको छ,’ महानगरको वातावरण तथा कृषि विभागका प्रमुख रविनमान श्रेष्ठले भने, ‘कानुनले वर्जित गरेका फोहोर साइटमा लैजाने जोसुकैलाई कारबाही गर्छौँ ।’ अहिले काठमाडौंसहित उपत्यकाका १७ स्थानीय तहको फोहोर बन्चरेडाँडास्थित साइटमा व्यवस्थापन भइरहेको छ । उनका अनुसार यहाँ सामान्य फोहोर मात्र लैजान मिल्छ । हानिकारक फोहोर उत्पादक आफैँले निर्मलीकरण गरेर सामान्य फोहोरमा परिणत गर्नुपर्छ । त्यसपछि सामान्य प्रक्रियाबाट लैजान सकिन्छ ।