१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १५ सोमबार
  • Wednesday, 19 June, 2024
मुना कुँवर काठमाडाैं
२o७९ फाल्गुण १५ सोमबार o७:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मोबाइलको टावर वा इन्टरनेट अवरुद्ध भए ग्राहकलाई क्षतिपूर्ति दिनुपर्ने

दूरसञ्चार सेवाप्रदायकमाथि कडाइ गर्दै प्राधिकरण

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १५ सोमबार o७:५९:oo

मोबाइलको टावर वा इन्टरनेट सेवा अवरुद्ध भएमा सेवाप्रदायकले ग्राहकलाई क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । प्राधिकरणले तोकेको समयमा नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले सेवाप्रदायकबाट क्षतिपूर्तिको मागदाबी गरेमा सेवाप्रदायकले दूरसञ्चार सेवाशुल्कबापतको उचित क्षतिपूर्ति दिनुपर्ने विनियमावली उल्लेख गरेको छ । यो विनियमावलीमार्फत सेवाप्रदायकलाई जिम्मेवार बनाउन खोजिएको प्राधिकरणका निर्देशन मीनप्रसाद अर्यालले बताए । यो व्यवस्था आगामी १ वैशाखदेखि लागू हुनेछ । 

ग्राहकले मोबाइल डेटा, भ्वाइस प्याकेज सेवा खरिद गरेको, तर सो प्याकेजको अवधिमा सेवा डाउन भई ग्राहकले सेवा प्राप्त गर्न नसकेको अवस्थामा उपभोक्ताले सम्बन्धित सेवाप्रदायकबाट क्षतिपूर्तिको दाबी गर्न सक्नेछन् । त्यस्तै, फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवाको हकमा तोकिएकोभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकलाई क्षतिपूर्तिस्वरूप मनासिब महसुलमा दामासाहीले मिनाहा गर्ने वा सोहीबमोजिमको सेवाको अवधि निःशुल्क थप गरी ग्राहकलाई जानकारी गराउनुपर्ने विनियमावलीमा व्यवस्था छ । 

 गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमति खारेज गरिने
नेपाल दूरसञ्चार प्राधिकरणले तोकेबमोजिम दूरसञ्चार सेवाको गुणस्तर कायम नगरे अनुमति खारेज गर्ने भएको छ । प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवा गुणस्तर विनियमावली, २०७९ बमोजिम गुणस्तर कायम नगरेमा ऐनको दफा २८ बमोजिम सेवाप्रदायकको लाइसेन्स नै खारेज गर्न सक्ने व्यवस्था गरिएको छ । सेवाप्रदायकले आफूले सेवा प्रदान गरेका विभिन्न स्थानहरूमा दूरसञ्चार सेवाको गुणस्तर मापन गर्नुपर्नेछ । प्रत्येक तीन महिनामा गुणस्तर मापन प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्नेछ । 

दूरसञ्चार सेवाप्रदायकले प्रत्येक वर्ष गुणस्तरसम्बन्धी वार्षिक प्रतिवेदन पनि दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्नेछ । प्राधिकरणले जारी गरेको विनियमावलीअनुसार सेवाप्रदायकले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्रमा प्राधिकरणमा प्रतिवेदन पेस गर्नुपर्नेछ । साथै, प्राधिकरणले प्रतिवेदन सेवाप्रदायकलाई सार्वजनिक गर्न लगाउन पनि सक्नेछ ।

सेवाप्रदायकले तोकिएको समयसीमाभित्रमा प्रतिवेदन नबुझाएमा वा गलत प्रतिवेदन बुझाएमा ऐनबमोजिम कारबाही हुने विनियमावलीमा उल्लेख गरिएको छ । प्राधिकरणले गुणस्तर जाँच, परीक्षण, अनुगमन वा निरीक्षणको जिम्मेवारी पाएको व्यक्तिले गलत प्रतिवेदन दिएको पाइएमा निजलाई समेत कारबाही गरिने विनियमावलीमा उल्लेख छ । सेवाप्रदायकले नियमित रूपमा आफूले दूरसञ्चार सेवा प्रदान गरेका विभिन्न स्थानहरूमा सर्वेक्षण गर्नुपर्नेछ । प्राधिकरणले आवश्यकताअनुसार कुनै निश्चित स्थान, अवधि वा समय, ग्राहक संख्या, प्रश्नावली तोकी सेवाको गुणस्तर सर्वेक्षण गरी प्रतिवेदन पेस गर्न सेवाप्रदायकलाई निर्देशन दिन सक्नेछ ।  

त्यस्तै, मोबाइल सेवाप्रदायकले ग्राहकले उपभोग गरिरहेको डेटा प्रयोगसम्बन्धी विवरण ग्राहक आफैँले हेर्न सकिने गरी व्यवस्था मिलाउनुपर्नेछ । फिक्स्ड ब्रोडब्यान्ड सेवाप्रदायकले ग्राहकले उपभोग गरिरहेको इन्टरनेट सेवाको ब्यान्डविथ प्रयोगको विवरणमार्फत ग्राहक आफैँले हेर्न सकिने गरी व्यवस्था मिलाउनुपर्नेछ । ग्राहकबाट समस्या गुनासोको जानकारी प्राप्त गर्नका लागि सेवाप्रदायकले टोल फ्री नम्बरको व्यवस्था गर्नुपर्नेछ । 

 सात सेकेन्डमा फोन कल लाग्नुपर्नेछ
ग्राहकले फोन गर्दा सात सेकेन्डभित्रमा फोन कल लाग्नुपर्नेछ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवा गुणस्तर विनियमावलीअनुसार फोन गर्ने व्यक्तिले डायल गरेको समय र फोन रिसिभ गर्न व्यक्तिकहाँ रिङ बजेको, व्यस्त रहेको सूचना वा जानकारी प्राप्त भएको समयबीचको अवधि सात सेकेन्डभन्दा कम हुनुपर्ने व्यवस्था गरेको छ । सेवाप्रदायकको फोनकल सफलतापूर्वक स्थापना हुने दर ९७ प्रतिशत हुनुपर्नेछ । त्यस्तै, फोनकल विच्छेद हुने दर २ प्रतिशत वा सोभन्दा कम हुनुपर्नेछ ।

विनियमावलीअनुसार फोनकलमा आवाजको गुणस्तर तीन वा सोभन्दा बढी हुनुपर्नेछ । मोबाइल फोनमा कुरा गर्दा सुन्ने व्यक्तिले अनुभव गर्ने अर्कोतर्फ बोलेको व्यक्तिको आवाजको स्तरलाई फोनकलमा आवाजको गुणस्तर भनिन्छ । प्राधिकरणबाट स्वीकृत विधिबमोजिम ड्राइभ टेस्टमार्फत यसको मापन गरिनेछ । पाँच अंकलाई सबैभन्दा उत्कृष्ट मानिएको छ । 

साथै, ३० सेकेन्डभित्रमा एमएसमएस सम्प्रेषण हुनुपर्नेछ । प्राधिकरणले एक व्यक्तिले एसएमएस प्रेषण गरेको समय र लक्षित प्राप्तकर्ता व्यक्तिले एसएमएस प्राप्त गरेको समयबीचको अवधिलाई सम्प्रेषण हुन लाग्ने समय भनेको छ । सफलतापूर्वक सम्प्रेषण भएका एसएमएसहरूको सम्प्रेषण हुन लागेको औसत समयका रूपमा यसको मापन गरिनेछ । सफलतापूर्वक एसएमएस सम्प्रेषण हुने दर ९९.५ प्रतिशत हुनुपर्नेछ । त्यस्तै, सहरी क्षेत्रमा मोबाइल नेटवर्कको उपलब्धता ८५ प्रतिशत हुुनुपर्नेछ । हाइवेमा ७५ र ग्रामीण क्षेत्रमा ६५ प्रतिशत हुनुपर्नेछ । 

ग्राहकले १०० एमबिपिएसको सेयर ब्यान्डविथ खरिद गरेको छ भने कम्तीमा २५ एमबिपिएसको स्पिड उपलब्ध गराउनुपर्नेछ । विनियमावलीअनुसार ग्राहकले खरिद गरेको इन्टरनेटको सेवाको स्पिडको तुलनामा सेवा व्यस्त रहने समयमा ग्राहकले प्राप्न गर्नुपर्ने न्यूनतम स्पिड भन्ने सम्झनुपर्छ । सेवाप्रदायकले ग्राहकसँग गरिने खरिद सम्झौतामा सेयर ब्यान्डविथ उपलब्ध गराएको अवस्थामा ग्राहकले खरिद गरेको स्पिड सेयरिङ रेसियो तथा ग्राहकले प्राप्त गर्ने स्पिडको न्यूनतम प्रत्याभूतिको विवरण सम्झौतामा उल्लेख गरेको हुनुपर्नेछ । ब्यान्डविथ उपयोग ८० प्रतिशतभन्दा बढी भएमा ब्यान्डविथको क्षमता थप्ने प्रक्रिया सुरु गर्नुपर्नेछ । ९० प्रतिशतभन्दा बढीमा भएमा क्षमता थपिसक्नुपर्नेछ । 

सेवाप्रदायकले ७५ मिलिसेकेन्डमा (राष्ट्रिय) र ५५० मिलिसेकेन्डमा (अन्तर्राष्ट्रिय) ल्याटेन्सी दिनुपर्नेछ । प्राधिकरणले जारी गरेको विनियमावलीअनुसार प्रयोगकर्तादेखि लक्षित टर्मिनलसम्म डेटा पुग्न र सोको जानकारी प्रयोगकर्तासमक्ष आइपुग्न लाग्ने समयलाई ल्याटेन्सी भनिछ । 

ad
ad
ad
ad