Skip This
जलेश्वर आइपुग्यो विश्वकै लामो धार्मिक परिक्रमा [फोटोफिचर]
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १२ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ फाल्गुण १२ शुक्रबार १५:४४:oo
Read Time : > 2 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

जलेश्वर आइपुग्यो विश्वकै लामो धार्मिक परिक्रमा [फोटोफिचर]

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण १२ शुक्रबार १५:४४:oo

मिथिलामा परापूर्वकालदेखि मिथिला माध्यमिकी परिक्रमा हुँदै आएको छ। करिब १३० किलोमिटर दूरीको विभिन्न १४ धार्मिकस्थलको १५ दिने माध्यमिकी परिक्रमा गर्दै शुक्रबार जलेश्वर आइपुगेको हो। 

मिथिलाका राजा जनकले राज्यमा अकाल पर्दा आफैँ हलो जोतेका थिए । हलो जोत्ने क्रममा माता सीता यही धर्तीबाट प्रकट भएकी थिइन्। तिनै माता सीताको अवध (अयोध्या)का राजकुमार रामसँग विवाह भएको थियो।

सीता र रामको यही जोडीले मिथिलालाई ब्रह्माण्डमा चिनायो। अझै रामको नामसँगै माता सीताको नाम उच्चारण हुन्छ। तिनै अलौकिक राम र सीता मिथिलामा हुँदा विहार (भ्रमण) गरेका देवस्थल, राजा जनकको राज्यका चारै कोणमा अवस्थित शिवालय, उनको कुलदेवी, माता सीताको फूलबारी (जहाँ राम र सीताको पहिलो भेट भयो), राम र सीताले नित्य होली खेल्ने स्थल कञ्चनवन, उनको विवाहमा मटकोरका लागि माटो उत्खनन भएको मटिहानीलगायतका मिथिलाधामभित्रका विभिन्न धार्मिक, पौराणिक र ऐतिहासिक स्थलहरूको परिक्रमा गर्दै माध्यमिकी परिक्रमा शुक्रबार जलेश्वर आइपुगेको छ। 

जनकपुरको हनुमानगढीबाट सुरु भएको परिक्रमा भारतको कल्याणेश्वरमा संकल्प लिँदै भारतकै गिरिजास्थान (फुलहर) हुँदै बिहीबार मटिहानी र आज शुक्रबार जलेश्वर आइपुगेको हो। 


माध्यमिकी परिक्रमा जलेश्वर आइपुग्दा स्व. परशुराम साह मिथिला परिक्रमा धर्मसंस्थाका पदाधिकारी र स्वयंसेवकसँगै जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, प्रमुख जिल्ला अधिकारी दीपक पहाडी,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेसहितका सुरक्षाकर्मी, प्रमुख तथा विशिष्ट व्यक्तित्वहरूले भार्गवसर कुटीमा स्वागत गरेका छन्। 

धर्मसंस्था टोलीले परिक्रमाको मिथिला विहारीको डोलालाई भार्गवसर कुटीमा स्वागत गरी परिक्रमा पडावस्थलसम्म पुर्‍याएका छन्। जलेश्वरकै इतिहास करिब पाँच सय वर्षभन्दा धेरै नभए पनि जलेश्वरनाथबारे भने त्रेतायुगमै समेत वर्णन गरिएकोमा जलेश्वरनाथको दर्शनले सम्पूर्ण फलको प्राप्ति हुने भएकोले जलेश्वरबाट मडई पडावस्थल पुग्नुअगावै परिक्रमायात्रीहरू जलेश्वरनाथको दर्शन गर्दै यात्रा अगाडि बढ्नेछन्। 

विभिन्न समयमा जलेश्वरनाथ महादेवको दिव्य लिंग उजागर हुने र पुनः विलीन हुने गरेकोमा परापूर्वकालमा बाबा जगदीशनाथले उत्खनन गरेको जलेश्वरनाथ महादेव मन्दिर मोक्ष तथा मनोरथ पूरा गर्ने सिद्ध धार्मिकस्थल हो। 

यता परिक्रमा पडावस्थलको तयारीबारे जानकारी लिन बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले समेत जलेश्वरस्थित पडावस्थलको अवलोकन गरेका छन्। 

उनले जलेश्वर नगरपालिका र स्व. परशुराम साह मिथिला परिक्रमा धर्मसंस्थालाई समेत परिक्रमा व्यवस्थापन तयारीमा सक्रियता देखाएकामा धन्यवाद ज्ञापन गरेका छन्। अध्यक्ष साहले मिथिला माध्यमिकी परिक्रमा स्थलहरूमा अझै धेरै कार्य गर्नुपर्ने भएकोले आगामी यात्राका लागि थप धेरै कार्य गरिने बताएका छन्। 

जलेश्वरमा परिक्रमालाई स्वागत गर्ने मुख्य धार्मिक संस्थाको रूपमा रहेको स्व. परशुराम साह मिथिला परिक्रमा जलेश्वरका पदाधिकारी तथा स्वयंसेवकले परिक्रमामा आएका साधुसन्तलाई विभिन्न खाद्य सामग्री, दाउरा, पराललगायत संस्थाकै तर्फबाट उपलब्ध गराउँदै आएका छन्। 

जलेश्वरपश्चात् मडई, ध्रुवकुण्ड, पर्वता, सत्तोषर, औरही र विशौल हुँदै परिक्रमा फागुन चतुर्दशीको दिन विशौलबाट परिक्रमा जनकपुर फर्किन्छ। राजा जनकको राज्यको मध्यभागको परिक्रमा गरेर फर्केका परिक्रमायात्रीले जनकपुर पुगेर सम्पूर्ण फलको प्राप्ति भएको महसुस गर्छन्। 

यहीँ माता सीताको मन्दिर जानकी मन्दिरमा दर्शन गरेर भोलिपल्ट अन्तगृही परिक्रमा गरेर आ–आफ्नो घर फर्कन्छन् । घर पुगेर अघिल्लो दिन मिथिलामा होली खेलिन्छ। 

परिक्रमा परापूर्वकालदेखि चल्दै आएको मिथिलाको महाकुम्भ हो। नेपाल तथा भारतका विभिन्न धार्मिक महत्व बोकेको स्थलहरूको भ्रमणले पुन्य प्राप्त हुने उद्देश्यका साथ लाखौँको संख्यामा साधुसन्त तथा गृहस्तहरू परिक्रमा घुम्ने गरेको सुन्दर सदन तथा किशोरीजीको डोला प्रमुख महन्थ नवलकिशोर शरणको भनाइ छ। दुई देशबीचको आपसी मिलनको अभूतपूर्व सम्बन्ध स्थापित गर्न परिक्रमाकै मुख्य योगदान छ।

तस्बिरहरू : रञ्जन भण्डारी/नयाँ पत्रिका