१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ फाल्गुण १२ शुक्रबार ०८:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चक्रपथको कलंकी–महाराजगन्ज खण्ड : चीनले पेस गरेको डिजाइन दुरुस्तै पास नहुने

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ फाल्गुण १२ शुक्रबार ०८:५६:००

चक्रपथको अब विस्तार गर्न लागिएको कलंकी–महाराजगन्ज खण्ड कोटेश्वर–कलंकीजस्तो नबन्ने भएको छ । चीन सरकारले निर्माण गरेको कोटेश्वर–कलंकी खण्ड जोखिमपूर्ण रहेको भन्दै उक्त गल्ती नदोहोर्‍याउन नेपाल पक्षले चीनलाई आग्रह गरेको छ । 

चक्रपथको कलंकी–महाराजगन्ज खण्ड विस्तारअघि बिहीबार अवलोकन गर्न पुगेका चिनियाँ राजदूत चेन सोङसमक्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । नेपाल पक्षले ‘साइट क्लियर’ नगरेको भन्दै चीनले यो खण्ड विस्तार सुरु गर्न आनाकानी गर्दै आएको छ । डेढ महिनाअघि आएको चिनियाँ अवलोकन टोली ‘साइट क्लियर’ नभएपछि फर्किएको थियो ।

मन्त्रालय र सडक विभागले ‘साइट क्लियर’ गरिसकेको जानकारी गराएपछि बिहीबार राजदूत सोङ अवलोकनमा आएका हुन् । उनले बाँकी रहेका रूख र बिजुलीका तार पनि हटाउन आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले एक साताभित्र सबै साइट क्लियर पार्ने प्रतिबद्धता जनाउँदै चीनलाई काम अघि बढाउन आग्रह गरे । उनले नेपाल विद्युत् प्राधिकरण, काठमाडौं महानगरलगायतलाई साइटमा भएका अवरोधहरू हटाउन निर्देशन दिएका छन् । ‘यो काठमाडौंको लाइफलाइन सडक हो, यसलाई सकेसम्म छिटो सक्नुपर्छ,’ उनले भने, ‘अहिले सहयोग भएन भने सडक विस्तार गर्न कठिन हुन्छ ।’

 दुई साताभित्र सडकको  डिजाइन आउने
चीनले डिजाइन पेस गरेपछि सडक प्रयोगकर्ता, सवारीचालक, ट्राफिक प्रहरी, इन्जिनियर, यातायातविज्ञलगायतको टोलीलाई सहभागी गराएर डिजाइन पास गरिनेछ । चीनले दुई साताभित्र कलंकी–महाराजगन्ज खण्डको डिजाइन नेपाललाई पेस गर्नेछ । तर, त्यसलाई दुरुस्तै पास नगरिने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका इन्जिनियर विजय जैसीले बताए ।

उनले कोटेश्वर–कलंकी खण्डमा कैयौँ त्रुटि भएकाले अब सो गल्ती दोहोर्‍याउन नदिने बताए । ‘चीनले कम्तीमा दुई साताभित्र चक्रपथ विस्तारको डिजाइन पेस गर्ने बताएको छ,’ उनले भने, ‘तर, उसले दिएको डिजाइन दुरुस्तै पास हुँदैन, यसमा व्यापक छलफल र बहस हुनेछ ।’

करिब तीन वर्षअघि नै कलंकी–कोटेश्वर खण्ड निर्माण गर्नेबारे चीनसँग सहमति भएपछि नेपाल सरकार चीनको पर्खाइमा थियो । साइट लेन भने नेपालले नै बनाउने सहमति भएबमोजिम चक्रपथ विस्तार आयोजनाले काम थालेको छ । 

 कलंकी–कोटेश्वरजस्तै बन्न नदिइने 
कोटेश्वर–कलंकी सडकखण्ड पैदलयात्रुका लागि ‘ज्यानमारा सडक’ भएको सर्वसाधारणको आरोप छ । गाडी हुइँक्याउन सहज भए पनि पैदलयात्रुका लागि ‘धराप’जस्तो छ । पर्याप्त अकासे पुल र जेब्राक्रस नभएपछि यो सडकखण्डमा वारपार निकै कष्टकर छ ।

सडकआसपासमा स्थानीय सडक पार गर्न करिब दुई किलोमिटर हिँड्नुपर्ने बाध्यता छ । यस खण्डमा पाँच वर्षमा एक सय ३० पैदलयात्रीको मृत्यु भइसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तथ्यांक छ । उपत्यकामा सवारी दुर्घटना हुने सडकमध्ये यो सडक पहिलो स्थानमा पर्छ । 

कोटेश्वर कलंकीको जस्तै त्रुटि र जोखिम नदोहोरियोस् भनेर नेपाल सरकारले ठाउँ–ठाउँमा डिभाइडर, साइकल लेन, बीचभागमा हरियाली, पर्याप्त अकासे पुल र जेब्राक्रस राख्न चीनलाई आग्रह गर्दै आइरहेको छ । चीनले आफ्नो डिजाइनमा यी कुरा नसमेटे सच्याउन लगाइने मन्त्रालयले जनाएको छ ।

चीनले कोटेश्वरकै डिजाइनअनुसार कलंकी–महाराजगन्ज खण्ड निर्माण गर्ने यसअघि नेपाल सरकारलाई मौखिम रूपमा जानकारी गराइसकेको थियो । सडक विभाग र भौतिक मन्त्रालयले सहरी सडक भएकाले डिजाइन सुधार गर्न चीनलाई सुझाव दिएका थिए ।