मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एडवर्ड वोङ
२०७९ फाल्गुण ११ बिहीबार ०८:५४:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

चीनले रुसलाई हतियार दिने अमेरिकी आरोप कति सत्य ?

अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले शनिबार र आइतबार विभिन्न मञ्चमा बेइजिङले मस्कोलाई हतियारमा सघाउन लागेको आरोप लगाएका थिए, उनले त्यसो नगर्न चीनलाई चेतावनी पनि दिएका छन्

Read Time : > 3 मिनेट
एडवर्ड वोङ
२०७९ फाल्गुण ११ बिहीबार ०८:५४:००

गत सप्तान्तमा अमेरिका र चीनका शीर्ष विदेश मामिलाका नीति–निर्माताहरू युरोपमा सम्पन्न भएको एक वैश्विक सुरक्षा सम्मेलनमा सहभागी भए । दुवै पक्षले तिनको सरकारले नयाँ शीतयुद्ध नखोजेको कुरामा जोड दिएका थिए । तर, सम्मलेनलगत्तै अमेरिकी अधिकारीको चेतावनीले शीतयुद्धको झल्को दियो । चीनले युक्रेन युद्धमा रुसलाई हतियार र गोलाबारुद दिन लागेको अमेरिकी अधिकारीले आरोप लगाएका छन् । 

सोभियत संघको विघटनअघि दशकौँसम्म चलेको शीतयुद्धको समयमा अमेरिका, सोभियत संघ र कहिलेकाहीँ चीनले विश्वका विभिन्न युद्धमा सैन्यस्रोत खन्याउँथे, जसले कोरिया, भियतनामदेखि अफगानिस्तानसम्मको संघर्ष निकै लामो र रक्तपातपूर्ण बन्न पुगेको थियो । युक्रेन युद्धको गत एक वर्षको अवधिमा चीनले रुसलाई सैन्य सहायता नदिएको अमेरिकी अधिकारी भन्छन् । रुसलाई इरान र उत्तर कोरियाले भने सहयोग गरेको अमेरिकाको आरोप छ । राष्ट्रपति बाइडेनले उनका चिनियाँ समकक्षी सी जिनपिङलाई रुसलाई सहयोग गरे गम्भीर दूरगामी परिणाम निम्तिने चेतावनी दिँदै आएका छन् ।

युक्रेन युद्धमा चीनको प्रवेशले द्वन्द्वको प्रकृति रूपान्तरण हुनेमा कुनै शंका छैन । चीनको प्रवेश भएमा युक्रेन युद्ध विश्वका तीनवटै ठूला महाशक्ति : रुस, चीन र अमेरिका एकअर्कोविरुद्ध आमनेसामने हुने युगान्तकारी संघर्षमा परिणत हुनेछ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले शनिबार र आइतबार विभिन्न मञ्चमा चीनलाई चेतावनी दिएर चीन रुसलाई सघाउने कुराको निकै नजिक पुगेको अमेरिकी सूचनाको खुलासा गरे । अमेरिका र युरोपेली मुलुक नजिकिँदै गरेको अवस्थामा रुसतर्फबाट बढ्न सक्ने आक्रमणको तयारी गरिरहेका छन् । साथै उनीहरू यस जाडोमा रुसलाई युक्रेनी प्रतिरक्षा तोड्न नदिन पनि सक्दो मिहिनेत गरिरहेका छन् । 

यस पृष्ठभूमिमा म्युनिख सुरक्षा सम्मेलनको साइडलाइनमा शनिबार राति ब्लिन्केनले चीनका शीर्ष विदेश नीति अधिकारी वाङ यीलाई रुसलाई सहयोग उपलब्ध गराउने विचारले गम्भीर परिणाम निम्तिने चेतावनी दिएका थिए । ब्लिन्केनले पछि टेलिभिजन अन्तर्वार्ता पनि चिनियाँ सहायताअन्तर्गत हतियार र गोलाबारुद समावेश हुने बताए । तर, उनले बाइडेन प्रशासनले यी जानकारी कुन गुप्तचर माध्यमबाट प्राप्त गर्‍यो भनेर खुलाएनन् ।

युक्रेनमा आक्रमण सुरु हुनुअघि बेइजिङमा भएको रुसी तथा चिनियाँ राष्ट्रपतिले भेटेर आफूहरूबीच ‘सीमाहीन’ साझेदारी रहेको घोषणा गरेका थिए । त्यस घोषणाले वासिंगटन र युरोपेली राजधानीका अधिकारीलाई चिन्तित बनाएको थियो । युद्ध सुरु भएदेखि अमेरिकाले आफूले प्राप्त गरेका गुप्तचर जानकारी सार्वजनिक गरेर चीनलाई सैन्य सहायता दिन निरुत्साहित गर्ने प्रयास गर्दै आएको छ । 

पछिल्लो एक वर्षको युद्ध अवधिमा चीनले रुससँगको सम्बन्धलाई गहन बनाएको अमेरिकी अधिकारी बताउँछन् । गत बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उनको सरकार रुससँगको बृहत् रणनीतिक साझेदारीलाई अगाडि बढाउन तयार रहेको बताएका थिए ।

सन् २०२२ को मार्चमा अमेरिकी अधिकारीले द न्युयोर्क टाइम्सलगायत समाचार संस्थाका पत्रकारलाई रुसले चीनसँग सहायता मागेको सूचना दिएका थिए । त्यो खुलासा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रोममा तत्कालीन चीनका शीर्ष विदेश नीति अधिकारी याङ जिएचीलाई भेट्नुअघि भएको थियो । त्यस रणनीतिले काम पनि ग¥यो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका पश्चिमी छिमेकीमाथि आक्रमण सुरु गर्नुअघि पनि बाइडेन प्रशासनले यससम्बन्धी गुप्तचर जानकारी सार्वजनिक गरेको यियो । त्यस कदमले रुस हतोत्साही हुने अमेरिकी आशा त्यस वेला भने सही साबित भएन, भलै सूचना भने सही थियो । अमेरिकाले चीनविरुद्ध पुनः पहिलेकै रणनीति अंगीकार गरेको छ । 

पछिल्लो एक वर्षको युद्ध अवधिमा चीनले रुससँगको सम्बन्धलाई गहन बनाएको अमेरिकी अधिकारी बताउँछन् । गत बिहीबार म्युनिख सुरक्षा सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उनको सरकार रुससँगको व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउन तयार रहेको बताएका थिए । उता चीनको विदेश मामिलाका सबैभन्दा शीर्ष अधिकारी वाङ यी उनको युरोपको कूटनीतिक भ्रमणको अन्त्यमा सोमबार मस्को आइपुगेका थिए । यीको यस यात्रा अमेरिकी अधिकारीले नजिकबाट हेरिरहेका छन् ।

रुसी अधिकारीले चिनियाँ राष्ट्रपति सीले यही वर्षभित्र जुनकुनै समयमा तिनको देशको भ्रमण गर्ने जानकारी दिएका छन् । यी मस्कोमा रहेकै समयमा बाइडेनले सोमबार किभको अप्रत्याशित भ्रमण गरे । त्यहाँ रहँदा उनले जेलेन्स्कीसँग राजधानीको चक्कर लगाए । सोमबार नै जेलेन्स्कीले एक जर्मन अखबारलाई दिएको अन्तर्वार्तामा चीनले रुसलाई हतियार दियो भने ‘विश्वयुद्ध’ निम्तने चेतावनी दिँदै चिनियाँ नेताहरूले ‘व्यावहारिक मूल्यांकन’ गरेर त्यस्तो कदमबाट टाढा रहने आशा व्यक्त गरे । 

चीनले यस युद्ध अवधिभरि रुसलाई कूटनीतिक समर्थन दिएको छ । उसको विदेश मन्त्रालयले औपचारिक रूपमै अमेरिका तथा युक्रेनविरोधी षड्यन्त्र सिद्धान्त प्रचारप्रसारमा सघाउ पुर्‍याइरहेको छ । जनवरीमा अमेरिकाले युक्रेन युद्धमा मस्कोको पक्षमा लडिरहेको रुसी मिलिसिया ‘वाग्नर समूह’लाई भूउपग्रहीय तस्बिर प्रदान गर्ने एक चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

साथै अमेरिका रुसविरुद्धको निर्यात प्रतिबन्ध उल्लंघन गर्ने विभिन्न चिनियाँ कम्पनीहरूलाई पनि जरिवाना तिराएको अमेरिकी अधिकारीले बताएका छन् । रुसी सेनाले अझै पनि कुनै तरिकाबाट चीनमा निर्मित व्यावसायिक ड्रोनहरू हात पारिरहेको वाल स्ट्रिट जर्नलले खुलासा गरेको छ । चीनलाई रोक्नका लागि अमेरिकासँग सीमित विकल्प मात्र छन् । दुई मुलुकबीच बलियो व्यापारिक साझेदारी रहे पनि सम्बन्ध दशकाैँयताकै सबैभन्दा कमजोर स्तरमा पुगेको छ । यही महिनाको सुरुमा अमेरिकी आकाशमा चिनियाँ जासुस बेलुन प्रवेश गरेसँगै सम्बन्ध झनै तिक्त बनेको छ ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिह्न्वाले जारी गरेको ब्लिन्केन र वाङबीचको बैठकको लामो ‘रिडआउट’मा युक्रेन र रुसबारे चर्चा भएको कतै उल्लेख गरिएको छैन । तर, दुई अधिकारीबीच बेलुन प्रकरणमा चर्काचर्की भएको उल्लेख गर्दै ‘अमेरिकाले चीनलाई रोक्न र दबाउन सबै उपाय प्रयोग गरिरहेको छ ।’ भन्ने समावेश गरिएको छ ।

बेइजिङको सिङ्हुआ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक सिङ युले ग्रीष्मअघि तनाव कम नहुन सक्ने बताइन् । ‘चीन र अमेरिकाबीच तत्कालै संवाद होला जस्तो मलाई लाग्दैन । यसको दूरगामी असर हुनेछ । चीन–अमेरिका सम्बन्धमा यही दुई मुलुक मात्र जोडिएका छैनन् । यसमा चीन र पश्चिमी देशकै सम्बन्ध जोडिएको छ । चीन–अमेरिका सम्बन्धमा युरोप सधैँ अमेरिकाको पक्षमा रहँदै आएको छ ,’ युले भनिन् । अमेरिकी मित्रराष्ट्र«हरूले सप्ताहन्तमा जारी गरेको वक्तव्यमा बेलुन प्रकरणलाई उल्लेख गर्दैै चीनसँग विवादका अन्य क्षेत्रलाई जोड दिए ।

म्युनिखमा जापानी विदेशमन्त्री योसिमासा हयासी र वाङ यीबीच भएको भेटवार्तामा हयासीले जापानको आकाशमा देखा परेको ‘बेलुन आकारको उड्ने वस्तु’बारे कुरा उठाएको जापानी विदेश मन्त्रालयले जारी गरेको दुई अधिकारीबीचको ‘रिडआउट’मा उल्लेख छ । हयासीले जापाननजिकै चिनियाँ र रुसको संयुक्त सैन्य अभ्यास र सेन्काकु टापुवरपर चीनको आक्रामक सामुद्रिक कार्यप्रति विरोध जनाए । सेन्काकु टापुमा जापानी शासन भए पनि चीनले तीमाथि दाबी गर्ने गरेको छ । अमेरिकानजिकका अन्य मुलुकका कूटनीतिज्ञले पनि चीनसँगको वार्तामा रुस र युक्रेन युद्ध प्राथमिकतामा रहेको खुलासा गरेका छन् ।

फ्रान्सका विदेश मामिलामन्त्री क्याथरिन कोलोनाले गत साता वाङसँगको भेटमा ‘युक्रेनमा जारी रुसी युद्ध र त्यसको समाधानको विषयमा ठोस छलफल भएको’ जानकारी दिइन् । एक इटालियन रेडियोमा बोल्ने क्रममा इटलीका विदेशमन्त्री एन्टोनियो ताजानीले गत शुक्रबार वाङले उनलाई सीले आगामी दिनमा युद्धबारे ‘शान्ति मन्तव्य’ दिन लागेको बताएका थिए । अमेरिकी तथा केही युरोपेली अधिकारीले भने यसप्रति आशंका जताएका छन् । चीनले बाहिर शान्तिको पक्षमा रहेको तटस्थ मुलुक देखाउने प्रयास गरे पनि ऊ रुसलाई भौतिक सहायता दिन उद्यत रहेको तिनकोे आरोप छ । 
 वोङ न्युयोर्क टाइम्सका कूटनीतिक संवाददाता हुन् ।– द न्युयोर्क टाइम्सबाट