१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
काठमाडौंको घट्टेकुलोमा ढल र खानेपानीको पाइपलाइन बिछ्याउने क्रममा खुलै छाडिएको मंगाल । तस्बिर : यम बम/नयाँ पत्रिका
२०७९ फाल्गुण १० बुधबार ०९:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका सडकमा पिआइडी र विद्युत् प्राधिकरणका धराप अझै उस्तै

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण १० बुधबार ०९:१०:००
  • मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले केही दिनअघि घट्टेकुलो क्षेत्रमा खानेपानीको पाइप बिछ्याउने क्रममा सडक भत्कायो । काम सकेर सडकमा माटो बिछ्याए पनि मध्यभागमा रहेको मंगालको ढक्कन खुलै छाडेको छ । बीचसडकको मंगाल खुला छाड्दा धराप थापेजस्तो भएको छ । 
  • चाबहिल–चुच्चेपाटी–महाँकाल सडकखण्डका मंगालहरू पनि सर्वसाधारणलाई पासो थापेजस्तो देखिन्छ । यसखण्डका मंगालका मुख एक महिनादेखि खुला छन् । सडकको मध्यभागका मंगाल खुलै छाड्दा सडकयात्रु र सवारीसाधन दुर्घटनामा पर्ने जोखिम छ । 
  • बागमती करिडोरमा त झन् बागमती सभ्यता एकीकृत विकास समिति, विद्युत् प्राधिकरणलगायतले पाइपलाइन र तार भूमिगत गर्दा खनेको खल्डो नपुर्दा जताततै धराप बनेको छ । समिति र प्राधिकरणलाई भौतिक योजना मन्त्रालयले पटक–पटक खाल्डा पुर्न निर्देशन दिए पनि करिडोराई अस्तव्यस्त पारेका छन् । प्राधिकरणले करिडोरको पिच सडकमा खाल्डैखाल्डा पारेको छ भने समितिले गिटी र बालुवा थुपार्दा पैदलयात्रीलाई ओहोरदोहोरमा सास्ती हुने गरेको छ ।

पछिल्लो सयम उपत्यकाका धेरैजसो सडकमा भत्काउने र बनाउने काम भइरहेको छ । विभिन्न सरकारी निकायबीच समन्वयविनै सडक भत्काउँदा मुख्य र सहायक सडक धरापपूर्ण बन्ने गरेका छन् । ती सडक बिगार्ने सरकारी निकाय नै हुन् । नेपाल विद्युत् प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले सडक भत्काएर जोखिमपूर्ण बनाएका छन् । यी निकायले आ–आफ्नो काम गर्न सडक भत्काएपछि त्यसलाई पुरानै अवस्थामा मर्मत नगरिदिँदा सर्वसाधारण जोखिमपूर्ण सडक प्रयोग गर्न बाध्य छन् ।

 शिवप्रसाद नेपाल, प्रवक्ता,
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
विद्युत् प्राधिकरण र पिआइडीले सडक भत्काएर भताभुंग पारेका छन् । अब विनाअनुमति मुख्य सडक खन्न दिन्नौँ । एक ठाउँको काम पूरा गरेपछि मात्रै अर्को ठाउँमा काम सुरु गर्न मन्त्रालयले  निर्देशन पनि दिइसकेको छ । 

 प्राधिकरण र पिआइडी  जिम्मेवार बनेनन् : मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले सडक विभाग र डिभिजन सडक कार्यालयले कालोपत्रे गरेका सडक अन्य सरकारी निकायले भत्काएर अपलत्र छाड्दा सडकमा जोखिम बढेको बताए । उपत्यकामा सडक बिगार्ने कार्य दुई निकायले गर्ने गरेको उनको दाबी छ । ‘विद्युत् प्राधिकरण र पिआइडीले सडक भत्काएर भताभुंग पारेका छन्,’ उनले भने, ‘अब विनाअनुमति मुख्य सडक खन्न दिन्नौँ ।’ उनले एक ठाउँको काम पूरा गरेपछि मात्रै अर्को ठाउँमा काम सुरु गर्न मन्त्रालयले पटक–पटक निर्देशन दिएको बताए ।

प्राधिकरण र पिआइडी सडकमा काम गर्दा जिम्मेवार नभएको भन्दै भौतिकमन्त्री नारायणकाजी श्रेष्ठसमेत यी निकायसँग रुष्ट बनेका छन् । सोमबार मन्त्रालयमा बसेको बैठकमा मन्त्री श्रेष्ठले एक ठाउँका काम सकिएपछि मात्रै अर्काे ठाउँमा सुरु गर्न र सुरु गर्नुअघि समन्वय गर्न प्राधिकरण र पिआइडीलाई निर्देशन दिएका थिए । उपत्यकाका अधिकांश सडकमा खाल्डाखुल्डी छन् । महाराजगन्ज–लैनचौर, थापागाउँ अनामनगर सडक, चक्रपथको चाबहिल खण्ड, लाजिम्पाट, चाबहिल–महाँकाल, तिनकुने र धोबीखोला करिडोर, अनामनगर–घट्टेकुलोलगायत सडक धरापपूर्ण छन् ।