१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
अनिल यादव काठमाडाैं
२o८१ बैशाख ३० आइतबार o६:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपतिको दौडमा महन्थ पनि थपिए

मंगलबार ठाकुरले भेटे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली, आज देउवालाई भेट्दै

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o६:४९:oo

भावी राष्ट्रपतिमा विभिन्न व्यक्तिको नाम चर्चामा आइरहेका वेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले पनि दाबेदारीसहित औपचारिक दौड सुरु गरेका छन् ।

 मंगलबार दिउँसो बसेको लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन पहल थाल्ने निर्णय गरेलगत्तै पार्टीका नेताहरू लिएर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीकहाँ पुगेका उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन औपचारिक प्रस्ताव गरेका हुन् । 

‘हामीले राष्ट्रिय सहमतिको राष्ट्रपतिका लागि उपयुक्त पात्र महन्थ ठाकुर हुनुहुन्छ भनेर पहल सुरु गरेका छौँ । त्यही सिलसिलामा प्रधानमन्त्री र ओलीलाई भेट्यौँ । दुवै सकारात्मक हुनुहुन्छ । बुधबार अन्य दलका नेतृत्वलाई भेट्ने तयारीमा छौँ,’ लोसपाका वरिष्ठ नेता शरत्सिंह भण्डारीले भने । भण्डारीका अनुसार बुधबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने र त्यसपछि अन्य दलका नेतालाई भेट्ने तालिका तय भएको छ । 

लोसपाले चार दिनयता ठूला दलका दोस्रो तहका नेताहरूसँग अनौपचारिक छलफल गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डसँग ‘वान टु वान’ छलफलका लागि तीन दिनयता प्रयास गरेको थियो । मंगलबार बैठक बसिरहेकै वेला प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि ठाकुरसहित लोसपा नेताहरू शरत्सिंह भण्डारी, राजेन्द्र भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ल र सुरेन्द्र झा बालुवाटार पुगेका थिए । बालुवाटारमा लोसपाका नेताहरूले महन्थलाई राष्ट्रपति बनाउन औपचारिक आग्रह गरेको र प्रधानमन्त्री सकारात्मक रहेको नेता भण्डारीले बताए । 

शरत्सिंह भण्डारी, वरिष्ठ नेता, लोसपा
हामीले राष्ट्रिय सहमतिको राष्ट्रपतिका लागि उपयुक्त पात्र महन्थ ठाकुर हुनुहुन्छ भनेर पहल सुरु गरेका छौँ । त्यही सिलसिलामा प्रधानमन्त्री र ओलीलाई भेट्यौँ । दुवै सकारात्मक हुनुहुन्छ । बुधबार अन्य दलका नेतृत्वलाई भेट्ने तयारीमा छौँ ।

‘प्रधानमन्त्री प्रचण्ड पजिटिभ सुनिनुभयो । उहाँले महन्थजीको कुरा नयाँ होइन, यो विषय प्रवेश भइसकेको र राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चर्चा भइसकेको बताउनुभयो । उहाँले आफू पनि यस विषयमा अरू दलसँग छलफल गर्ने र तपाईंहरूले पनि सबैसँग छलफल गर्नु भन्नुभयो,’ नेता भण्डारीले भने । 

छलफलमा सहभागी लोसपाका अर्का नेता डा. सुरेन्द्र झाका अनुसार प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म विभिन्न नामको चर्चा आए पनि कुनैमा सहमति नभएको बताए । ‘हामीले प्रधानमन्त्रीलाई तपाईंले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिरहनुभएको छ, त्यसमा हामी सहमत छौँ । अहिलेको परिस्थितिमा महन्थजी त्यसका लागि उपयुक्त पात्र हुनुहुन्छ, उहाँको नाममा त्यो राष्ट्रिय सहमति गर्नुस् भनेर औपचारिक प्रस्ताव गर्‍यौँ,’ नेता झाले भने, ‘उहाँले हिजोबाट माधव नेपालजीको पनि नाम आएको, तर अहिलेसम्म पात्रको नाममा सहमति भइनसकेको बताउनुभयो । जुन दलबाट भए पनि राष्ट्रिय सहमति गरौँ भन्ने पक्षमा उहाँ हुनुहुन्छ । यसका लागि महन्थजी पनि उपयुक्त पात्र हुन सक्ने उहाँको भनाइ थियो ।’ 

प्रधानमन्त्री प्रचण्डले देश चलाउन १२ बुँदे सम्झौताका पक्षधरहरू एकै ठाउँमा उभिएर राष्ट्रिय सहमति गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका वेला लोसपाका नेताहरूले त्यसैलाई उद्धृत गर्दै ठाकुर त्यसका लागि सर्वस्वीकार्य पात्र रहेको बताएका थिए । छलफलमा अध्यक्ष ठाकुरले जनचाहना आफ्नोतर्फ रहेको, तर मत तपाईंहरूसँग रहेको भन्दै प्रचण्डसँग सहयोगको आग्रह गरेका थिए । ‘मेरो नाममा जनचाहना त देखिन्छ, तर भोट त जनताले होइन, पार्टीले हाल्ने हो । त्यो तपाईंहरूसँग छ,’ ठाकुरले प्रचण्डसँग गरेको प्रस्ताव उद्धृत गर्दै छलफलमा सहभागी नेता झाले भने । 

प्रचण्डले सकारात्मक जवाफ दिएको पनि उनको दाबी छ । प्रधानमन्त्रीले ‘अहिले आइरहेका उम्मेदवारहरूको नाममध्ये तपाईं उपयुक्त पात्र हो । तपाईं नआए पनि मैले तपाईंबारे सोचिरहेकै थिएँ । तपाईंको व्यक्तित्वप्रति म सकारात्मक छु । यसरी नै कांग्रेस र एमालेसँग पनि संवाद गर्नुस्’ भनेको झाले बताए । 

करिब एक घन्टाको छलफलपछि बालुवाटारबाट निस्किएका लोसपाका नेताहरूले मंगलबार साँझ नै केपी ओलीसँग पनि भेटघाट गरेका छन् । साँझ ७ः२५ मा ठाकुरसहित चार नेता ओलीनिवास बालकोट पुगेका थिए । ओलीसँग पनि ठाकुरले राष्ट्रपतिको साझा उम्मेदवारका रूपमा आफ्नो नाममा सहमति गर्न प्रस्ताव गरेका छन् । 

करिब दुई घन्टा भएको छलफलमा एमाले अध्यक्षले पार्टीभित्र छलफल गरेर यसबारे निर्णय गर्ने बताएको नेता भण्डारीले बताए । ‘ओलीज्यूले महन्थजी उपयुक्त पात्र रहेकोमा कुनै शंका नरहेको, तर त्यसका लागि पार्टीको बैठकमा छलफल गर्नुपर्छ भन्नुभयो,’ ओलीको भनाइ उद्धृत गर्दै भण्डारीले भने । 

छलफलमा सहभागी अर्का एक नेताका अनुसार ओलीले प्रधानमन्त्री प्रचण्डबाट ठाकुरको नाममा प्रस्ताव आए आफूलाई सहज हुने बताएका थिए । ‘मेरो प्राथमिकतामा तपाईं हुनुहुन्छ नै । प्रधानमन्त्रीज्यूबाट तपाईंको नाममा प्रस्ताव आयो भने मलाई सहज हुन्छ । अहिले मैले तपाईंको नाम प्रस्ताव गरेँ भने १० पुसमा सत्तागठबन्धनभित्र भएको सहमतिबाट म आफैँ ब्याक भएको सन्देश जान्छ । एमाले स्वयंले समझदारी तोडेको अर्थ लाग्छ,’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने । 

ओलीले ठाकुरसहित लोसपाका पाँच नेतासँगको छलफलमा प्रधानमन्त्रीका कारण कांग्रेसले उम्मेदवारी दिने स्थिति सिर्जना भइरहेको परिस्थितिबारे पनि बोलेको थिए । ‘भोलि कांग्रेसले उम्मेदवार उठाउने अवस्था आयो भने एमालेले पनि उठाउनुपर्ने हुन्छ । तर, कांग्रेस र एमाले दुवै ब्याक भएर महन्थजीलाई बनाऔँ भन्ने परिस्थिति सिर्जना भयो भने तपाईंलाई समर्थन गर्न सहज हुन्छ,’ ओलीले ठाकुरसँगको छलफलमा भनेको सहभागी एक नेताले बताए । 

२७ माघमा संसद् भवनबाट एमाले अध्यक्ष केपी ओलीले आफ्नै गाडी चढाएर बालकोट लगेपछि राष्ट्रपतिमा महन्थको नाममा चर्चा सुरु भएको थियो । त्यसपछि लोसपाले ठाकुरको नाममा राष्ट्रिय सहमति गराउन पहल थालेको हो । 

ad
ad