मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण ९ मंगलबार ११:३६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्षा नहुँदा सुक्न थाले अलैँचीका बोट

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ९ मंगलबार ११:३६:००

हिमाली जिल्ला ताप्लेजुङमा पाँच महिनादेखि वर्षा नहुँदा नगदे बालीलगायत विभिन्न बालीनाली सुक्दै जान थालेका छन् । असोजको पहिलो हप्तामा भएको वर्षापछि अहिलेसम्मको समयमा पानी नपर्दा मुख्य नगदे बाली अलैँची तथा सुन्तलाका बोटसमेत सुक्न थालेका छन् ।  

पानी बग्ने खोल्साहरूमा समेत पानी हराउन थालेको छ । खेतका कान्ला तथा विभिन्न ठाउँमा उम्रेका मूलसमेत सुक्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । खोला–खोल्सीमा पानी सुकेपछि सिँचाइ गर्नसमेत कृषकहरूले पाएका छैनन् । सबैभन्दा समस्या नगदे बाली अलैँचीमा परेको छ । अझै हिउँ नपरेपछि चिस्यान क्षेत्रहरूसमेत सुक्खा भएका छन् । यतिवेला हरियाली हुने अलैँचीका बगानहरू सुकेर रातै देखिन थालेपछि किसानहरू चिन्ता थपिएको बताउँछन् । 

ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, मयामका किसान मानबहादुर कार्कीले खेतको अलैँची राताम्मै भएर सुकेको बताए । गएको वर्षमा अनुकूल मौसम हुँदा यो वर्ष उत्पादनमा वृद्धि भएको थियो । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउने फुङलिङ नगरपालिका–६ का अलैँची कृषक बलबहादुर गुरुङले बताए ।

कृषक गुरुङले भने, ‘यतिवेला पालो गरेर बोट भिजाउने समय थियो । तर, यस वर्ष खोलामा पानी सुकेकाले सिँचाइ गर्न सकेको छैन ।’ ताप्लेजुङको तल्लो भेगमा साउन र माथिल्लो भेगमा कात्तिक अन्तिमसम्म अलैँची टिप्ने गरिन्छ । त्यसपछि मंसिर पहिलो सातादेखि सिँचाइ गर्नुपर्छ । जरामा चिस्यान बनाउन पातपतिंगरले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने गरेकोसमेत कृषकहरू बताउँछन् ।  

गएको हिउँदमा माघ अन्तिमसम्ममा हिउँसँगै वर्षा चारपटकसम्म भएको थियो । यसरी पटक–पटक हिमपात र वर्षा हुँदा खोला–खोल्सा नसुकी पानी प्रशस्तै बगेको थियो । यस वर्ष असोजको सुरुदेखि नै वर्षा नभएको साथै हिमपात पनि नपरेकाले यतिवेला जिल्लाका सबै भागका हिउँदे बालीमा असर परेको कृषकहरू बताउँछन् । कृषि ज्ञानकेन्द्र ताप्लेजुङको तथ्यांकअनुसार यो आर्थिक वर्षमा दुई हजार ६ सय ५० मेट्रिकटन अलैँची उत्पादन भएको छ । जिल्लाको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ । फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्छ । यो वर्षको टुसाले अर्को वर्षमा उत्पादन दिने गर्छ । 

तर, यो समयमा अलैँचीमा पानी अत्यधिक चाहिनेमा वर्षा नै नभएपछि आगामी वर्ष अलैँची उत्पादनमा ह्रास आउने बताइन्छ । यस वर्ष फागुन लाग्दा पनि हिमालमा हिउँ परेको छैन । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने, तर त्यो नभएको कृषकहरू बताउँछन् ।

अलैँची पानी प्रशस्त भएको, ओसिलो तथा सिँचाइ सुविधा भएको ठाउँमा राम्रो सप्रने गरेको अर्का किसान भीम गुरुङले बताए । अलैँचीको मूल्यमा आएको गिरावटले कृषकहरू चिन्तित त छँदै छन्, त्यसमाथि पनि पानी नपरेका कारण सिँचाइ नभएर बोट नै मर्न थालेपछि कृषकमा अझै चिन्ता थपिएको छ ।