
नेपाल भ्रमणमा रहेका जर्मन सांसदहरूको टोलीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहसँग भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा जर्मन टोलीले मन्त्री साहसँग भेट गरेका हुन् ।
नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जको अगुवाइमा आएको टोलीले जर्मन र नेपालबीचको सम्बन्धलाई कृषिका माध्यमबाट कसरी थप मजबुद बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए।
भेटमा जर्मन टोलीले नेपालको कृषि क्षेत्रको बृहत्तर विकास र प्रवर्द्धनका लागि जर्मन सरकारले नेपालमा सञ्चालन गर्न चाहेको सीप विकासको कार्यक्रमबारे सरकारको धारणा जान्न चाहेका थिए ।
जवाफमा मन्त्री साहले ०७२ सालको भूकम्पमा जर्मनले नेपाललाई गरेको सहयोगको सधैँ स्मरण गरी रहने भन्दै कृषि क्षेत्रको उन्नयनका लागि जर्मनले गर्न चाहेको सहयोग प्रशंसा गरिन् ।
उनले नेपाललाई कृषिको माध्यमबाट अगाडि बढाउन आफू लागेको भन्दै उक्त लक्ष्य पूरा गर्न सहयोगको आवश्यकता रहने बताइन् ।