
७३औँ प्रजातन्त्र दिवसका अवसरमा जुम्लामा वृक्षारोपण कार्यक्रम गरिएको छ । तातोपानी गाउँपालिकाको ऐरेनीस्थित डुठेचौरमा वृक्षारोपण गरिएको हो ।
स्याउ, ओखर, देवदियार र सल्लाको गरी तीन सय बिरुवा रोपिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । उनले भने, ‘नांगा डाँडापाखा हराभरा बनाउन वृक्षारोपण गरेका हौँ ।’ दुई बिघा ९ कट्ठा ३ धुर जग्गामा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रमका प्रमुख अथितिसमेत रहेका जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले वृक्षारोपणपछि रेखदेख पनि गर्नुपर्ने बताए । उनले भने, ‘वृक्षारोपण गर्नु असल कार्य हो । तर, रोपेर मात्र हुँदैन । यसको रेखदेख र संरक्षण पनि गर्नुपर्छ ।’