१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Saturday, 10 May, 2025
नवीन अर्याल काठमाडाैं
२o७९ फाल्गुण ७ आइतबार o७:४१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा साढे दुई अर्ब लगानी भित्रिँदा विदेशी कम्पनीले नाफासहित पौने दुई अर्ब लगे

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार o७:४१:oo

बाह्य तथा आन्तरिक कारणले सिर्जित आर्थिक मन्दीका कारण नेपाल भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) पनि प्रभावित भएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी आप्रवाह ७८ प्रतिशतले घटेको छ । जबकि, गत आवको यसै अवधिमा विदेशी लगानी ४४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

यस वर्ष साउनदेखि पुससम्म विभिन्न देशबाट दुई अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत वर्षको यसै अवधिमा ११ अर्ब ६० करोड रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । यस्तै, अघिल्लो आव ०७७/७८ को ६ महिनामा आठ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । बाह्य तथा आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याले पछिल्लो समय विदेशी लगानीकर्ता निरुत्साहित भएका छन् । 

चालू आवको ६ महिनामा दुई अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी भित्रिँदा विदेशी लगानीमा सञ्चालित कम्पनीले एक अर्ब ८१ करोड रुपैयाँ नगद फिर्ता (रिप्याट्रिएसन) लगेका छन् । विदेशी कम्पनीहरूले आफूले कमाएको मुनाफा र लगानी नगदमा फिर्ता लैजानु ‘रिप्याट्रिएसन’ हो । कुनै पनि देशमा आफ्नो उद्योग–व्यवसाय राम्रोसँग चलेन वा व्यावसायिक वातावरण भएन वा अन्य कुनै कारणले स्वदेश फर्किनुपर्‍यो भने लगानीकर्ताले उद्योग–व्यवसाय नै बिक्री गरेर लगानी फिर्ता लैजाने पनि गर्छन् । नेपालमा सञ्चालित विदेशी कम्पनीहरूले राम्रै मुनाफा कमाइरहेका हुनाले मोटो रकम मुनाफा आफ्नो देशमा लैजाने गरेका छन् । 

अघिल्ला दुई आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आवमा ‘रिप्याट्रिएसन’ रकम बढेको राष्ट्र बैंकको तथ्यांक छ । आव ०७७/७८ को पहिलो ६ महिनामा ३९ करोड ६७ लाख, आव ०७८/७९ को ६ महिनामा २८ करोड आठ लाख रुपैयाँ रिप्याट्रिएसन भएको देखिन्छ । यस वर्ष विदेशी लगानी ७८ प्रतिशतले घट्दा ८६ प्रतिशतले क्यास रिप्याट्रिएसन बढेको छ । 

नेपाल लगानीका लागि भर्जिन मुलुक भनिँदै आइएको छ । तर, यहाँ विदेशी लगानी अत्यन्तै कम भित्रिने गर्छ । तैपनि, नेपालमा सञ्चालित विदेशी लगानीका कम्पनीले भने राम्रो प्रदर्शन गरिरहेका छन् । र, उच्च मुनाफा कमाइरहेको पनि वित्तीय प्रतिवेदनले देखाउँछ । दोस्रो बजारमा विदेशी कम्पनीकै सेयर सबैभन्दा चर्को मूल्यमा बिक्री भइरहेको छ ।

नेपालमा विदेशी लगानीमा सञ्चालित कम्पनीहरू युनिलिभर, सूर्य नेपाल, डाबर नेपाल, कोकाकोला, बैंक तथा वित्तीय संस्थाहरू, एनसेललगायतले राम्रो कमाइ गर्दै आइरहेका छन् । 

आर्थिक मन्दीको असर
कोभिड महामारी, रुस–युक्रेन द्वन्द्वलगायत कारणले विश्व अर्थतन्त्रमा मन्दी छाएपछि नेपालमा एफडिआई घटेको विज्ञको अनुमान छ । तरलता अभाव, चर्को ब्याजदर, मूल्यवृद्धि, मागमा ह्रासलगायत समस्याले अर्थतन्त्रमा मन्दी देखिएको छ । बजारमा माग नै स्वात्तै घटेर सञ्चालनमा रहेकै उद्योग–व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेका वेलामा नयाँ लगानीकर्ता तत्काल आउने सम्भावना देखिँदैन । पछिल्लो समय स्वदेशी तथा विदेशी लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । नेपालमा लगानी भित्र्याउने विदेशी लगानीकर्ता आफैँले पनि आफ्नै देशमा मन्दीको सामना गरिरहनुपरेको छ । नेपालमा सिमेन्ट उद्योग, डन्डी उद्योग, खाद्यान्न उद्योग, अटोमोबाइल, रियल इस्टेट क्षेत्रमा मन्दी छाएको छ । 

उद्योगमा लगानी वृद्धि गरेर अर्थतन्त्रमा योगदान पुर्‍याउन प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण कार्यलाई प्रोत्साहन गर्ने राज्यको नीति भए पनि अपेक्षित वैदेशिक लगानी भित्र्याउन नसकेको महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनमा उल्लेख छ । विदेशी लगानी आकर्षित गर्न नीतिगत अस्थिरता, कर प्रशासनमा समस्या, जग्गा विवाद, औद्योगिक सुरक्षा, कच्चा पदार्थको अभावलगायत विविध कारणहरू रहेको महालेखाको ठहर छ । तर, यी समस्या समाधान गरेर विदेशी लगानीकर्ता आकर्षित गर्नुपर्नेमा सरकार जहिल्यै चुक्दै आइरहेको देखिन्छ ।