
नेपाल टी– २० लिगमा ‘स्पट फिक्सिङ’ गरेको अभियोगमा दुई खेलाडीसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार तीन वर्षसम्म कैद र ५० हजारसम्म जरिवानाको माग गरी शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
मुद्दा दायर गरिएका खेलाडीमा नेपालका मोहमद आदिल आलम र वेस्टइन्डिजका एन्ड्री म्याकार्थी छन् । म्याकार्थीले एक तथा आलमले दुई खेलमा फिक्सिङ गरेको प्रहरी दाबी छ ।
त्यस्तै, नेपाल क्रिकेट संघसँग प्रतियोगिता सञ्चालनको जिम्मा लिएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्का तीनजनाविरुद्ध मुद्दा दायर भएको छ । जतिन अहलुवालिया, अभिशेख शाखलानी र विनोद धानीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।
मुद्दा दायर भएका अन्यमा काठमाडौं नाइट्सका मालिक नवीन कँडेल, म्यानेजर राहुल शर्मा, पूर्वक्रिकेटर महबुब आलम र वीरगन्जका क्रिकेटर नितेश गुप्ता छन् । त्यस्तै, तीन बुकीविरुद्ध पनि मुद्दा दायर भएको छ । महबुबलाई फिक्सिङमा लगाउने रवि माझी, आदिललाई लगाउने समीर शेख तथा गुप्तालाई लगाउने वीरेन्द्र साहविरुद्ध मुद्दा दायर भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत बुधबार अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएकोमा शुक्रबार सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । सो प्रतियोगितामा खेलाडी चयनदेखि नै फिक्सिङको योजना बनेको सिआइबीको निष्कर्ष छ । अधिकांश क्लब अप्रत्यक्ष रूपमा सेभेन थ्री स्पोर्टस्कै स्वामित्वमा देखिएको र फिक्सिङकै लागि केही विदेशी खेलाडीलाई छानिएको अनुसन्धानमा आबद्ध सिआइबी अधिकारी बताउँछन् ।
प्रतियोगिताको तीन खेलमा फिक्सिङ भएको सिआइबी दाबी छ । प्रतियोगिताको १६औँ खेलमा विराटनगरका खेलाडी म्याकार्थीले पावरप्लेभित्र २९ रन मात्र बनाएर फिक्सिङ गरेका थिए ।
त्यस्तै, जनकपुर रोयल्सका खेलाडी आदिलले बुकीकै निर्देशनअनुसार दुई खेलमा ‘नो बल’ र वाइड फालेको पुष्टि भइसकेको छ । १२ पुसमा भएको काठमाडौं नाइट्सविरुद्धको खेलमा १२ ओभरमा फिक्सिङअनुसार उनले ‘नो बल’ र वाइड फालेका थिए । १२ प्रतिवादी भए पनि तीनजना मात्र पक्राउ परेका छन् । आदिल, महबबु र नितेश पक्राउ परेका हुन् । तर, आर्थिक कारोबार भएको प्रमाण भने प्रहरीले जुटाउन सकेको छैन ।