मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १०:५३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विमानस्थलमा भिजिट भिसाको सेटिङ, कुवेतमा बेचबिखन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १०:५३:००

सेटिङ मिलाउने ट्राभल सञ्चालक पक्राउ 

भिजिट भिसामा खाडी मुलुकमा पुर्‍याएर महिलालाई बेचबिखन गर्ने गिरोहका सदस्य पक्राउ पर्न थालेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले ट्राभल एजेन्सीका सञ्चालकसहित तीनजनालाई पक्राउ गरेको छ । 

सिनामंगलस्थित डिएचएन शुभयात्रा ट्राभल्स एन्ड टुर्सका सञ्चालक सिन्धुपाल्चोक घर भएका चिरञ्जी गिरीलाई मंगलबार ब्युरोले पक्राउ गरेको हो । यसअघि पक्राउ परेका लालबहादुर मगर र डम्बरबहादुर दर्लामीमाथि अनुसन्धान गर्ने क्रममा गिरीको संलग्नता खुलेको र उनी यस्तो गिरोहका नाइके भएको प्रहरीले जनाएको छ । सो गिरोहले महिलालाई कुवेतको रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै भिजिट भिसामा त्यहाँ लगेर बिक्री गरेका थिए । बेचिएकी महिलाको प्रहरीको पहलमा नेपाली दूतावासले उद्धार गरेको थियो । 

जीवनकुमार श्रेष्ठ, एसएसपी निर्देशक, मानव बेचबिखन अनुसन्धान ब्युरो 
भिजिट भिसामा कुवेत तथा ओमान पुर्‍याएपछि एजेन्टहरूले एउटै घरमा राख्ने र त्यहाँ छानी–छानी बेचबिखन हुने गरेको छ । यसरी धेरै महिला बेचबिखनमा पर्नुभएको छ भन्ने सूचना आएको छ । केहीको उद्धार गरी अनुसन्धान गरिरहेका छौँ । 

ती महिला २६ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडेकी थिइन् । उनको टिकट काट्नेदेखि विमानस्थलस्थित अध्यागमन कार्यालय र एयलाइन्सको काउन्टरमा सेटिङ मिलाउने काम ट्राभलका सञ्चालक गिरीले गरेको खुलेपछि उनी पक्राउ परेका हुन् । पक्राउ परेका लालबहादुरले आफूले ती महिलालाई गिरीको जिम्मा लगाएको र उनले नै भिजिट भिसामा कुवेत पठाएको बयान दिएका छन् । 

‘कुवेतको रोयल रेस्टुरेन्टमा मासिक एक सय २० कुवेती दिनार (करिब ५० हजार नेपाली रुपैयाँ) तलब हुने भन्दै त्यहाँ पुर्‍याइएको रहेछ,’ ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीषक (एसएसपी) जीवनकुमार श्रेष्ठले भने, ‘त्यहाँ लगेपछि एक हजार तीन सय दिनारमा बेचिएको खुलेको छ ।’ घरेलु कामदारका लागि आफूलाई बेचिएको र त्यहाँ यातना र शोषण भोगेको ती महिलाको भनाइ छ । कुवेतमा बस्ने नेपाली एजेन्टले नै आफूलाई बिक्री गरेको उनले बताएकी छिन् । गत २ माघमा नेपाल फर्किएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् । अध्यागमनकै सेटिङमा उनी कुवेत पुगेको आशंका गरिएको छ । 

कुवेतमा नेपाली महिलाको बेचबिखन बढ्यो 
आकर्षक रोजगारीको प्रलोभनमा नेपाली महिलालाई भिजिट भिसामा कुवेत तथा ओमान पुर्‍याएर बेचबिखन गर्ने घटना बढेका छन् । ती देशमा महिलालाई घरेलु कामदारमा लैजान बन्द भएपछि मानव तस्कर गिरोहले भिजिट भिसामा लैजाने गरेको हो । यससम्बन्धी उजुरी प्रहरीमा बढ्न थालेका छन् । कुवेत तथा ओमान पुर्‍याएपछि एजेन्टहरूले एउटै घरमा राख्ने र त्यहाँ छानी–छानी बेचबिखन हुने गरेको ब्युरोका एसएसपी श्रेष्ठ बताउँछन् । ‘कुवेत र ओमानमा धेरै महिला यसरी बेचबिखनमा पर्नुभएको छ भन्ने सूचना आएको छ,’ उनले भने, ‘पीडितहरूको उद्धार गरी अनुसन्धान गरिरहेका छौँ ।’ कतिपय मेनपावर कम्पनीसमेत यस्तो धन्दामा संलग्न देखिएको प्रहरी स्रोत बताउँछ । दुबईको श्रम स्वीकृतिमा कुवेत ट्रान्जिट बनाएर टिकट काट्ने र कुवेतबाटै बिक्री गर्ने घटनासमेत देखिएका छन् । 

भिजिट भिसाको धन्दा लामो समयदेखि चल्दै आए पनि विगतमा एजेन्टहरू पक्राउ परेका थिएनन् । गत महिना मानव बेचबिखन ब्युरोले झापा घर भई काठमाडौं बस्ने प्रकाश धिमाललाई पक्राउ गरेको थियो । उनी जेल चलान भएका छन् । धिमालले गत १२ वैशाखमा केही महिलालाई दुबई हुँदै कुवेत पठाएका थिए । आकर्षक तलब दिने भन्दै उनले भिजिट भिसामा दुबई हुँदै कुवेत पुर्‍याएको थिए । महिलालाई सीधै कुवेत जान कठिन हुने भएकाले दुबई हुँदै लगिएको थियो । सो घटनाको अनुसन्धानमा ११ जना महिलालाई त्यसरी बिक्री गरेको पाइएको थियो । 

उद्धार गरिएकी महिलालाई पनि नौ सय कुवेती दिनार (करिब तीन लाख ८५ हजार रुपैयाँ)मा बिक्री गरिएको थियो । जसले उनलाई किने, त्यहाँ बन्धक बनाई दैनिक २० घन्टासम्म काममा लगाउँथे । फर्कन खोज्दा पाँच लाख रुपैयाँ मागिएको थियो । महिलाका परिवारले एजेन्ट धिमाललाई फर्काउन आग्रह गर्दा उनले पैसा मागेका थिए । यहीबीचमा ती महिला बिरामी परिन् । उपचारका लागि अस्पताल जाँदा त्यहीँबाट भागेर कुवेतस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेकी थिइन् । दूतावासको सहयोगमा उनको उद्धार भएको हो । 

खाडी मुलुकमा यसरी हुने बेचबिखनमा देशभित्रको बेरोजगारी र भिजिट भिसामा हुने सेटिङ प्रमुख कारण रहेको प्रहरी अधिकारीहरू बताउँछन् । अध्यागमन कार्यालयमा समेत सेटिङ मिलाएर महिलालाई खाडीलगायत देशमा लगेर बिक्री गर्ने गरिएको छ । जसमा अध्यागमन कार्यालयमाथि पटक–पटक छानबिन भए पनि कारबाही नहुँदा रोकिन सकेको छैन । माघमा मात्र बेचबिखनको उच्च जोखिममा रहेका दुई सय ५० जनालाई प्रहरीले विमानस्थलबाट फर्काएको छ । 

वैदेशिक रोजगारीको प्रलोभनमा बेचिएका २८ जना माघमा मात्र प्रहरीको पहलमा विदेशबाट उद्धार भएको छ । जसमध्ये ६ जना कुवेत र दुईजना ओमानबाट छन् । भारतबाट १९ तथा इराकबाट समेत उद्धार गरिएको छ । कतिपय पीडितले उजुरी नदिने गरेका कारण गिरोहमाथि कारबाही गर्न समस्या भइरहेको एसएसपी श्रेष्ठ बताउँछन् । मानव बेचबिखनसम्बन्धी कसुरमा पीडितले उजुरी नदिएसम्म कारबाही गर्न नमिल्ने कानुनी प्रावधान छ ।