मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १०:३३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सम्पत्ति शुद्धीकरणमा दुईजनालाई दुई वर्ष सजाय, साढे १४ करोड जरिवाना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ५ शुक्रबार १०:३३:००

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दुईजनालाई दोषी ठहर गरी सजाय सुनाएको छ । बिहीबारको इजलासले भारतीय नागरिक विनोदकुमार गुप्ता र उनकी श्रीमती मधुकुमारी चौधरीलाई अभियोग दाबी ठहर हुने फैसला गरेको हो । 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले आंशिक ठहर हुने फैसला गरेको हो । मुद्दाका प्रतिवादीमध्येका एक वीरेन्द्र महतोले सफाइ पाएका छन् । विशेषका अनुसार चौधरी र गुप्तालाई जनही दुई वर्ष कैद सजाय सुनाइएको छ भने दुवैजनाले गरी १४ करोड ६६ लाख ५५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । महतो भने विपक्षीमध्येको एक हिमालयन कार्गोका कर्मचारीसम्म रहेको देखिएकाले आरोप दाबी नपुग्ने फैसला भएको हो । हिमालयन कार्गोका प्रोपाइटरलाई सजाय भइसकेका कारण प्रतिवादी बनाइएको कम्पनीलाई पनि आरोप दाबीबाट सफाइ दिइएको छ । 

मुद्दाका प्रतिवादीहरू चौधरी, गुप्ता र महतो तीनैजना राजस्व छलीसम्बन्धी अर्काे मुद्दामा दोषी ठहर भई थुनामा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूउपर ११ वैशाख ०७६ मा मुद्दा दायर गरेको थियो । चौधरीका नाममा दर्ता रहेको हिमालयन कार्गो नेपालका प्रोपराइटर गुप्तासमेतले आर्थिक वर्ष ०६४÷६५ देखि ०७४÷७५ सम्म सात करोड ३३ लाखभन्दा बढी रकम गैरकानुनी सम्पत्ति आर्जन गरेको तथा उक्त रकमले सम्पत्ति, जग्गाजमिन, सेयर खरिद र लगानी गरी सम्पत्ति शुद्धीकरण गरेको विशेषको ठहर छ । 

विशेषले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा (१) र (३) को कसुर गरेको भन्दै दफा ३० (१) बमोजिम सजाय तोकेको हो । दफा ३० (१) मा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्य हेरी दुई वर्षदेखि १० वर्षसम्म कैद हुने उल्लेख छ । उनीहरूले एक दशकमा २३ करोड ९५ लाख ६८ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको विभागको अनुसन्धानबाट देखिएको थियो । उक्त रकमले भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा जग्गा जोडेको, दुई कम्पनीमा लगानी गरेको तथा विभिन्न कम्पनीको सेयरमा लगानी गरेको भेटिएपछि मुद्दा दायर भएको थियो । 

उच्च अदालत पाटन र राजस्व न्यायाधिकरण काठमाडौंको फैसलाबाट समेत उनीहरू दोषी ठहर भइसकेका छन् । चौधरी र गुप्ताले गरी राजस्व चुहावटको कसुर गरी तीन करोड ९३ लाख ९२ हजार रुपैयाँभन्दा बढी र नक्कली अन्तःशुल्क टिकट ओसारपसारको कसुर गरी तीन करोड ३९ लाख ३५ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको थियो । यी दुई अदालतका फैसलासमेत टेकेर विशेषले दोषी ठहर तथा सजाय निर्धारण गरेको हो ।