
हुम्लाको चंखेली गाउँपालिका सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्मको ३९ किलोमिटर दूरीमा यातायात व्यवसायीले मनपरी रूपमा गाडी भाडा असुल्दै आएपछि अब नयाँ भाडादर कायम हुने भएको छ।
३९ किलोमिटर दूरीमा १२ सय भाडा बुझाउनुपर्ने समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिकमा माघ २६ गते समाचार प्रकाशित भएपछि नयाँ भाडादर कायम गर्न भएको छ।
फागुन २ गते चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको छ। राष्ट्रिय सडक सञ्जालसँग जोडिएका चंखेली, सर्केगार्ड, ताजाँकोट अदानचुलीका जनप्रतिनिधिको संयुत बैठकले यस्तो निर्णय गरेको चंखेली गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए।
‘प्रतिकिलोमिटर २३ रुपैयाँका दरले भाडादर कायम भएको छ,’ अध्यक्ष शाहीले नयाँ पत्रिकासँग भने। चार गाउँपालिका प्रतिनिधिको संयुक्त रूपमा बसेको बैठकले यातायात व्यवसायीहरूसँग प्रतिकिलोमिटर २३ रुपैयाँका दरले गाडी भाडा लिने निर्णय गरेको उनले भने।
चंखेली गाउँपालिका सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म ३९ किलोमिटर दूरीमा अब आठ सय ९७ रुपैयाँ गाडी हुने भएको छ। पहिला यातायात व्यवसायीहरूले असुल्ने भाडाभन्दा तीन सय तीन रुपैया कम पर्ने भएको छ।
सर्केगाड गाउँपालिका केन्द्रदेखि चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म १० किमि व्यवसायीले पाँच सय असुल्ने गरे पनि अब दुई सय ३० रुपैयाँ पर्ने भएको छ।
त्यस्तै, सर्केगाड– १ को खच्चादेखि भुज्माधारासम्म पाँच किमि कच्ची सडकमा व्यवसायीहरूले एक सय १५ रुपैयाँ भाडादर कायम गरेका छन्।
अदानचुली गाउँपालिकाको गल्फागाडदेखि श्रीनगर बजारसम्म १० किमिको व्यवसायीहरूले तीन सय असुल्दै आएका थिए भने दुई सय ३० रुपैयाँ हुनेछ।
ताजाँकोट गाउँपालिकाको कबाडीदेखि ताजाँकोट गाउँपालिका केन्द्र छप्रेला चाँखुरेसम्म ११ किमि छ। व्यवसायीले तीन सय उठाउँथे भने अब दुई सय ५३ रुपैयाँ हुने भएको छ।
त्यस्तै, लयटादेखि काडागाउँसम्म ५६ र छप्रेलादेखि नैकालासम्म ३२ रुपैयाँ भाडादर कायम गर्ने सहमति गरेको व्यवसायीले दुई सयका दरले अअल्दै आएका छन्।
चार पालिकाका तीन निर्णय
चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा बसेको चार गाउँपालिका बैठकले तीनवटा निर्णय गरेको छ।
निर्णय १ मा ताजाँकोट अदानचुली सर्केगार्ड तथा चंखेली गाउँपालिकाभित्र चल्ने सवारीको प्रतिकिलोमिटर रु. २३ रुपैयाँ तोकेको छ।
निर्णय २ मा डिजेल पेटोल मूल्य हाल चलिरहेअनुसार प्रतिलिटर दुई सयमा पेट्राेल दुई सय पाँचका दरले बिक्री गर्ने नेपाल आयल निगम घटबढ गर्न बताएको छ।
निर्णय ३ मा ताजाँकोट,चंखेली,सर्केगार्ड, अदानचुलीको संयुक्त बैठक प्रत्येक महिनाको १५ गते बस्ने निर्णय गरिएको छ।