१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ फाल्गुण ३ बुधबार ०७:५८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सहज जित निकाल्दै संकटा सेमिफाइनलमा

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ३ बुधबार ०७:५८:००

संकटा क्लब सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा नव जनजागृति युवा क्लब सिमरालाई ३–० ले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।

संकटाले फाइनल प्रवेशका लागि जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जावलाखेल प्रिक्वार्टरफाइनलमा एपिएफ र क्वार्टरफाइनलमा साबिक विजेता पिप्ले युवा क्लबलाई हराउँदै अन्तिम दुई स्थान पक्का गरेको थियो । बुधबार प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र आयोजक बागमती युवा क्लब सर्लाहीबीच हुनेछ । 

मनीषको दुई गोल
खेलको ३४औँ मिनेटसम्म सिमराले संकटालाई गोल गर्न रोकेको थियो । खेलको ३५औँ मिनेटमा संकटाले गोलको खाता खोल्यो । आयुष घलानले संकटालाई १–० को अग्रता दिलाएका हुन् । खेलको ४२औँ मिनेटमा गणेश हमालले संकटालाई २–० को स्थितिमा राखे । हमालले डाँगीको सहज पासमा डिबक्सभित्रबाट गोल गरे । पहिलो हाफमा संकटाले बल पोसेसन बनाएको थियो । 

खेलको ५८औँ मिनेटमा मनीष डाँगीले व्यक्तिगत दोस्रो गोल थप्दा संकटा ३–० ले अघि रह्यो । सुनील बलको पासमा डाँगीले आकर्षक गोल गरेका थिए । 

 रणनीतिअनुसारकै परिणाम आयो 
सल्यान खड्गी, प्रशिक्षक, संकटा

खेलाडीहरूले जितका लागि धेरै मिहिनेत गरे । रणनीति बुझेर खेल्दा जित निकाल्न सहज भयो । यो नतिजा खेलाडीको मिहिनेतको कारण नै हो । गोल नहुँदासम्म खेलाडी दबाबमा जस्तो देखिए । गोल भएपछि उनीहरूको मनोबल उच्च हुँदै गयो । त्यसपछि खेलमा थप गोल भयो । प्रतिस्पर्धामा खेलाडीहरूबीच तालमेल मिलेको थियो । 

 फिनसिङमा कमजोर देखियो
सोनु क्षेत्री, प्रशिक्षक, सिमरा 

स्थानीयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लब सञ्चालन गरेका हौँ । हामीसँग पूरै स्थानीय खेलाडी मात्र छन् । हाम्रो टोलीमा सेटका तीनजना खेलाडी ए डिभिजन क्लबमा समेत आबद्ध छन् । लिगको तयारीका कारण उनीहरू प्रतिस्पर्धामा सहभागी हुन पाएनन् । त्यसले गर्दा हाम्रो फिनिसिङ कमजोर भएको हो । यद्यपि, खेलाडीले संकटाविरुद्ध राम्रो खेलेका थिए ।