
जीवित रहनका लागि नभई नहुने तत्व हो रगत । यो प्लाज्मा र रक्तकोषबाट बनेको हुन्छ । यसले शरीरका कोषहरूमा ग्लुकोज, एमिनो एसिडलगायत पोषक तत्वसँगै अक्सिजनलगायत आवश्यक पदार्थ हरेक अंगमा पुर्याउने काम गर्छ । रगतले कार्बनडाइअक्साइड, युरिया, ल्याक्टिक एसिडजस्ता काम नलाग्ने पदार्थलाई बाहिर निकाल्ने कामसमेत गर्छ ।
हरेक दुई सेकेन्डमा कसै न कसैलाई रगतको आवश्यकता परिरहेको हुन्छ । दुर्घटनाग्रस्त, रोगबाट पीडित, अविकसित शिशु, जटिल शल्यक्रिया आदि विभिन्न अवस्थामा रगतको आवश्यकता अझै धेरै पर्छ ।
यसकारण गर्ने रक्तदान
स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सकिन्छ । रगत शरीरमा लगातार उत्पादन हुनेतत्वहो, जुन प्रत्येक तीन महिनामा आफैँ नष्ट भएर जाने गर्छ । तीन–तीन महिनामा रक्तदान गर्दा शरीरमा ताजा रगत बग्न सघाउ पुग्छ । जुन स्वास्थ्यका दृष्टिकोणले एकदमै राम्रो हो ।
सामान्यतया १८ देखि ५६ वर्षका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्छन् । रगत दिँदा कमजोर भइन्छ भन्ने भ्रमसमेत हाम्रो समाजमा रहेको पाइन्छ । तर, उचित पौष्टिक आहारको सेवन गर्दा कुनै समस्या हुँदैन ।
कसले नगर्ने ?
- रगतमा आइरन र हेमोग्लोबिनको कमी भएका व्यक्तिले रक्तदान गर्नुहुँदैन ।
- रक्तदान गर्ने व्यक्ति कुनै दीर्घरोग र संक्रामक रोग नभएको हुनुपर्छ । जस्तै, छारेरोगको औषधि सेवन गरिरहेका व्यक्तिले रक्तदान गर्न मिल्दैन ।
- महिनावारी भएको अवस्था, गर्भवती र बच्चालाई दूध खुवाइरहेका महिलाले रक्तदान गर्नुहुँदैन ।
- विशेष पेसा भएका व्यक्ति अर्थात् मेसिनरी काम गर्ने, जस्तैः पाइलट, ड्राइभर, अस्पताल अर्थात् अन्य क्षेत्रमा मेसिनमा काम गर्ने व्यक्तिहरू रक्तदान गर्नासाथ काममा जान मिल्दैन । उनीहरूले केही समय आराम गर्नुपर्छ ।
- शरीरमा ट्याटु खोपेका व्यक्तिले पनि रक्तदान गर्न मिल्दैन ।