Skip This
पहिलो सर्त पूरा भएपछि रास्वपा सरकारमा फर्किन लचक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Tuesday, 13 May, 2025
अनिल यादव काठमाडाैं
२o७९ फाल्गुण २ मंगलबार o७:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पहिलो सर्त पूरा भएपछि रास्वपा सरकारमा फर्किन लचक

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार o७:३६:oo

चितवन २ मा चाँडो उपनिर्वाचन हुनुपर्ने आफ्नो पहिलो सर्त पूरा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा फर्किन लचिलो देखिएको छ । केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले उपनिर्वाचनको सर्त पूरा भएकाले नयाँ सहमतिका आधारमा सरकारमा जाने विषयमा विकल्प खुला राख्नुपर्ने मत राखेका थिए । 

सोमबार पार्टी कार्यालय वसुन्धरामा करिब साढे दुई घन्टासम्म चलेको बैठकमा धेरैजसोले गृहसहित पुरानै मन्त्रालयको जिम्मेवारी पाउने अवस्थामा सरकारमा जान सकिने मत राखेका थिए । नागरिकताको मुद्दाले सभापति रवि लामिछानेको सांसद पद खारेज भएसँगै रास्वपाले चितवन २ मा उपनिर्वाचनको सर्त राखेको थियो । आइतबार निर्वाचन आयोगले १० वैशाखमा उपनिर्वाचन गर्ने निर्णय लिएको छ । 

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पुरानै जिम्मेवारी पाए सरकारमा जाने बताए । ‘पुरानो सहमति तोडिएको अवस्था छ, त्यसैले नयाँ सहमति कायम नभएसम्म सरकारमा नजाने भन्ने विषयमा छलफल भयो,’ रास्वपा सहमहामन्त्री बुर्लाकोटीले भने, ‘उपनिर्वाचनको मिति तोकिएकोमा हामी खुसी छौँ । अब सत्तागठबन्धनभित्र हामीलाई पुरानै जिम्मेवारी दिन तयार भए हामी सरकारमा जान सक्छौँ ।’

सहमहामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा बैठकमा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक संयन्त्रमा भएको छलफलबारे ‘ब्रिफिङ’ गरेका थिए । ‘संयन्त्रको बैठकमा चुनावको मिति घोषणा गर्नुपर्‍यो भनेको थिएँ, त्यो माग उहाँहरूले पूरा गर्नुभयो । उहाँहरूले सरकारमा आउनुहोस् भनेर भनिरहनुभएको छ । तर, मैले सहमतिको पूर्ण कार्यान्वयन नभएसम्म जान नसकिने भनेको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै उनले भने । 

बैठकले चितवन २ को उम्मेदवारीबारे औपचारिक निर्णय भने नगरेको बुर्लाकोटीले बताए । ‘तर, उपनिर्वाचनको तयारी गर्ने भन्ने निर्णय भएको छ । स्वाभाविक रूपमा सभापति नै उम्मेदवार बन्नुहुन्छ, यसमा समस्या छैन । औपचारिक निर्णय हुन मात्रै बाँकी हो,’ उनले भने । 

सभापति लामिछानेले राष्ट्रपतिलाई लिएर एमाले र माओवादीबीच मतान्तरको स्थिति देखिएको बताएका थिए । उनले गठबन्धनमा समस्या आए पार्टीको भूमिका पनि बदलिने जानकारी दिएका थिए । ‘गठबन्धन नै कायम नभएर दायाँबायाँ हुन थाल्यो भने हामीले पनि फरक निर्णय गर्नुपर्ने हुन सक्छ,’ बैठकमा सभापति लामिछानेको भनाइ थियो । 

केन्द्रीय समिति विस्तार, १६ सदस्य थपिए
रास्वपाले केन्द्रीय समितिसमेत विस्तार गर्दै ४० सदस्यीय बनाएको छ । यसअघि २४ सदस्यीय केन्द्रीय समिति थियो । सहमहामन्त्री बुर्लाकोटीका अनुसार करिब सयजनाको नाम सिफारिस भएकोमा १६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।

मनोनीत हुनेमा रमेश प्रसाईं, ज्वाला संग्रौला, निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरू, मेघ आले, मोहनबहादुर थापा, खुश्बुसरकार श्रेष्ठ, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

केन्द्रीय सदस्य विपिनकुमार आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले १६ जनाको नाम टुंगो लगाएको हो । रास्वपाको अर्को बैठकबाट थप केही केन्द्रीय सदस्य विस्तार गर्ने तयारीसमेत छ ।