Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ फाल्गुण २ मंगलबार ०६:२४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फाइभजीको आन्तरिक परीक्षण गर्दै नेपाल टेलिकम

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ फाल्गुण २ मंगलबार ०६:२४:००

नेपाल टेलिकमले आन्तरिक रूपमा फाइभजी परीक्षण सुरु गरेको छ । कम्पनीका अनुसार काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी नेटवर्कका लागि उपकरण जडान गरिएको छ । सोही क्षेत्रबाट अहिले आन्तरिक परीक्षण भइरहेको कम्पनीका सहायक प्रवक्ता रञ्जित लोहियाले बताए । उनका अनुसार अहिले सर्वसाधारणका लागि फाइभजी नेटवर्क उपलब्ध छैन, कम्पनीका प्राविधिकले टोलीले नै विभिन्न ह्यान्डसेट नेटवर्कको परीक्षण गरिरहेको छ । हालसम्मको परीक्षणको नतिजा उत्साहजनक रहेको कम्पनीका प्रवक्ता लोहियाले बताए ।  

 ह्यान्डसेटको चुनौती
टेलिकम कम्पनीले फाइभजी सेवा सुरु गरे पनि बजारमा फाइभजी सपोर्ट गर्ने मोबाइल सेट उपलब्ध छैन । बजारमा ह्यान्डसेट अभावका कारण परीक्षण कार्य पनि लम्बिएको कम्पनीका प्रवक्ता लोहियाले बताए । ‘थ्री जी र फोरजी सेवा सुरु हुँदा पनि बजारमा ह्यान्डसेट उपलब्ध थिएन । माग बढ्ेपछि बिस्तारै सप्लाई पनि हुँदै गयो,’ उनले भने ।  

तर, फाइभजी सेवा सञ्चालनमा तत्काल विभिन्न कारणले प्रभाव पर्ने कम्पनीका प्रवक्ता लोहियाले बताए । उनले भने, ‘पहिलो कुरा भनेको नेटवर्क हो । दोस्रो ह्यान्डसेट अनि अर्को भनेको फाइभजीलाई सपोर्ट गर्ने एप्लिकेसन हो । हामीले नेटवर्कको सुरुवात गरे पनि बजारमा ह्यान्डसेट र एप्लिकेसन छैन ।’ त्यसैले कम्पनीले सुरुवात गर्दैमा तत्काल सर्वसाधारणले उपयोग गर्न नसक्ने उनको भनाइ छ ।  

आन्तरिक परीक्षणपछि कम्पनीले सर्वसाधारणका लागि पनि सेवा सुरु गर्ने योजना बनाएको छ । काठमाडौंमा सफल परीक्षण भएपछि अन्य प्रदेशमा पनि फाइभजीको परीक्षण सुरु गरिने कम्पनीले जनाएको छ । कम्पनीले सातै प्रदेशका एक–एक ठाउँमा फाइभजी परीक्षण गर्नेछ ।   

 ढिलो गरी सुरु भयो परीक्षण
  टेलिकमले ७ असार ०७८ मा फाइभजी सेवा सुरु गर्न प्राधिकरणलाई प्रस्ताव बुझाएको थियो । प्राधिकरणले सोही वर्ष कात्तिकमा टेलिकमलाई फाइभजीका लागि २६ सय मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी ६ महिनाका लागि प्रदान गरेको थियो । गत जनवरीको सुरुवातमा नै परीक्षण सुरुवात गर्न निर्देशन दिएको थियो ।

फाइभजीको उपकरण आपूर्तिकर्ता चिनियाँ कम्पनी हुवावेले आफ्नो तयारी सम्पन्न गरेको थियो । तर, टेलिकमले पर्याप्त तयारी गर्न नसकेपछि परीक्षणको तालिका पछाडि धकेलिएको थियो । तोकेको समयमा परीक्षण सुरु नगरेपछि प्राधिकरणले टेलिकमसँग लिखित जवाफसमेत मागेको थियो । नेपालमा भर्खरै टेलिकमले फाइभजीको परीक्षण सुरु गरे पनि विश्वमा २०१९ देखि फाइभजी सेवा सुरु भएको थियो । नेपालमा सन् २००९ देखि फोरजी इन्टरनेट सेवा विस्तार भएको थियो । यद्यपि, अझै पनि देशका कतिपय स्थानमा फोरजी पुग्न सकेको छैन । 

फाइभजी नेटवर्क इन्टरनेटको स्पिड उच्च हुने कारण ठूला आकारका डेटाहरूलाई छोटो समयमै डाउनलोड तथा अपलोड गर्न सकिन्छ । अहिले सञ्चालनमा रहेको फोरजी नेटवर्कले औसतमा ४५ एमबिपिएसको गति दिन्छ भने फाइभजीले त्योभन्दा २० गुणा धेरै गति दिने बताइएको छ । टेलिकमले परीक्षण सुरु गरेको फाइभजी परियोजनालाई हुवावेले सहयोग गरेको छ । यसअघि पनि हुवावेले नेपालमा फोरजी, इन्टेलिजेन्ट नेटवर्क, आइभिआर, आइपी टेलिफोनमा आइपी मल्टिमिडिया सबसिस्टम, टुजी जिसिएम र सिडिएमए नेटवर्कलगायतका प्रविधिमा सञ्चालनमा सहयोग गर्दै आएको छ ।