
नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले लघुवित्तको कारण धेरै मानिसले आत्महत्या गरेको भन्दै सो विषयमा अनुसन्धान गर्न माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै सांसद भण्डारीले यस्तो धारणा राखेका हुन् । उनले लघुवित्तका कारण बढीजसो महिलाले आत्महत्या गर्ने गरेकाे उल्लेख गर्दै यसबारेमा सरकार मौन बसेको आरोप लगाए ।
‘नेपालको कानुनी व्यवस्था, नेपालको न्याय प्रणाली कति छिटो, छरितो छ भन्ने कुरा रवि लामिछानेको मुद्दामा हामीले देख्यौँ । कति छिटो सर्वोच्चले फैसला गर्दोरहेछ । कति छिटो प्रहरीले अनुसन्धान गर्दोरहेछ । तर, नेपालमा यति धेरै मानिसले, महिलाले आत्महत्या गर्ने कुरा राष्ट्रिय समाचार बन्दा पनि यसबारे हामी मौन छौँ,’ उनले भने, ‘योभन्दा ठूलो अपराध मानव इतिहासमा केही पनि हुन सक्दैन । विकास, सहयोग, सेवाको नाममा होस्, सबै ठग प्रणालीमा परिणत हुनुभएन ।’