१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ २९ आइतबार १२:५४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा महानगरको ६ महिनाको पुँजीगत खर्च ६.६५ प्रतिशत मात्रै

Read Time : > 1 मिनेट
२०७९ माघ २९ आइतबार १२:५४:००

चालू आर्थिक वर्ष ०७९/८० को साढे ६ महिनामा पोखरा महानगरपालिकाले पुँजीगततर्फ जम्मा ६.६५ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

चालू आर्थिक वर्षका लागि महानगरपालिकाले पुँजीगततर्फ पाँच अर्ब ११ करोड ७९ लाख बजेट विनियोजना गरेको थियो । विनियोजित बजेटमध्ये महानगरले १८ माघसम्म जम्मा ३४ करोड ८२ लाख रुपैयाँ मात्र खर्च गरेको छ ।

आठ अर्ब ८४ करोड १५ लाखको कुल बजेटमध्ये चालूतर्फ तीन अर्ब ६९ करोड ८६ लाख र वित्तीयतर्फ दुई करोड ५० लाख विनियोजन गरिएको थियो । कुल बजेटमध्ये १८ माघसम्म एक अर्ब ६० करोड ८२ लाख अर्थात् १८.१८ प्रतिशत मात्र बजेट खर्च भएको महानगरपालिकाका सूचना अधिकारी जितेन्द्रजंग केसीले जानकारी दिए ।

उनका अनुसार कुल खर्चमध्ये पुँजीगततर्फ ६.६५ प्रतिशत र चालूतर्फ ३४ प्रतिशत अर्थात् एक अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

विगतका तीन आर्थिक वर्षमा महानगरले गरेको पुँजीगत खर्चको अवस्थासमेत सन्तोषजनक छैन । आर्थिक वर्ष ०७८/७९ मा महानगरले ६ अर्ब ४६ करोडको कुल बजेटमध्ये पुँजीगततर्फ विनियोजित तीन अर्ब ५२ करोडमध्ये ५०.५६ प्रतिशत मात्रै खर्च गरेको थियो ।

आर्थिक वर्ष ०७७/७८ को पाँच अर्ब ५१ करोड बजेटमध्ये पुँजीगततर्फ तीन अर्ब तीन करोड विनियोजन गरिएकोमा ५०.४९ प्रतिशत मात्र खर्च भएको थियो । यसैगरी, आर्थिक वर्ष ०७६/७७ को ६ अर्ब १२ करोड बजेटमध्ये पुँजीगततर्फ विनियोजित तीन अर्ब ५९ करोडमा ३६.४९ प्रतिशत मात्र खर्च भएको थियो ।

बजेट खर्च सम्बन्धमा यसो भन्छन् मेयर धनराज आचार्य
‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका कारण खर्च भएका योजनाको भुक्तानी दिन नपाउँदा खर्च कम देखिएको हो । महानगरले बजेटमा समेटेका अधिकांश योजनाको काम सुरु भइसकेका छन् र केही योजना यस अवधिमा सम्पन्नसमेत भइसकेका छन् । यसअघि महानगरपालिकास्तरीय योजनाको काम महानगर कार्यालयले गर्दै आएकोमा यस वर्षदेखि त्यस्ता योजनाको जिम्मा वडा कार्यालयहरूलाई दिइएको छ । उपभोक्ता समितिमार्फत ती योजनाको कामसमेत धमाधम भइरहेका छन् । केही सम्पन्न पनि भइसकेका छन्, तर भुक्तानी नलगेका कारण पनि खर्च कम देखिन पुगेको हो । यीसँगै चार सयभन्दा बढी योजनाको टेन्डर निकाली ठेक्का लगाउने कामसमेत सुरु भएको छ । सुरु गरिएका योजना र हालसम्म भएका काम हेर्दा आर्थिक वर्षको अन्तिमसम्ममा पुँजीगततर्फको ८० प्रतिशत बजेट खर्च हुने अनुमान छ ।’