
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रहरीले पक्राउ गर्दैमा सांसदलाई निलम्बन गर्न नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकिर गरे । प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका वेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए ।
जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावली बनाउने कुरामा आफू सहमत हुनै नसक्ने उनको भनाइ थियो । अदालतले दोषी प्रमाणित गरेपछि मात्रै सांसद पद निलम्बन हुने व्यवस्था गर्नु संविधान र कानुनको दृष्टिले पनि उपयुक्त हुने शाहीको भनाइ छ ।
‘पक्राउ गर्नेबित्तिकै, हिरासतमा राख्नेबित्तिकै यदि सबै अधिकार खोसिने हो भने त सांसदले जनताबाट जितेको के महत्व भयो ? सरकार पक्ष र बलियो पक्षले कुनै पनि वेला यसलाई हतियारको रूपमा प्रयोग गर्न सक्छ,’ उनले भने, ‘भोलि राष्ट्रपतिमा भोट हाल्ने कुरामा एकजनालाई पक्राउ गर भन्छ । त्यत्तिकै हिरासतमा हाल्दिहाल्छ । भोट हाल्न पनि पाउँदैन ।’