
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालनका लागि सम्झौता भएको छ । फास्ट बैंकिङ नेपाली बैंकिङ जगत्मा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा खड्किएका समस्याहरूलाई समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नी च्यानल सोलुसन हो ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । साथै, ओपन एपिआईमार्फत बैंकका थप सेवाहरूलाई मोबाइल बैंकिङमै जोड्न सकिने र फास्ट बैंकिङले बैंकका शाखाहरूमा हुने ग्राहकको उपस्थिति तथा म्यानुअल काम कटौती गरी ग्राहक र बैंक दुवैको समय र खर्च बृहत् रूपमा घटाउन सकिने एससिटीले जनाएको छ ।
यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । सम्झौतामा एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजू र प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मि पन्तले हस्ताक्षर गरेको जनाइएको छ ।