१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ माघ २६ बिहीबार १५:o४:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

नेतृत्वको सुझबुझपूर्ण प्रयासले मात्रै देशले काँचुली फेर्छ : प्रदेश प्रमुख शर्मा 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १५:o४:oo

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राज्यको महत्वपूर्ण पदमा पुगेका व्यक्तिको सुझबुझपूर्ण र इमानदार प्रयासले सिंगो मुलुकले काँचुली फेर्ने दाबी गर्दै गम्भीर भएर लाग्न आग्रह गरेका छन्।

बागमती प्रदेश सभा बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्ने उक्तिलाई आत्मसात् गर्दै समुन्नत प्रदेश निर्माणको महाअभियानमा इमानदारीका साथ होमिन आग्रह गरे।

उनले अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न र संघीयतालाई सुदृढ बनाउन पनि राजनीतिक दल र तिनका नेतृत्व संवेदनशील हुनुपर्नेमा जोड दिए।
प्रदेशको राजनीतिक, आर्थिक एवं सामाजिक रूपान्तरणका ठुल्ठूला चुनौती रहेको बताउँदै यसलाई पार गर्न सके सफलताको क्षितिज हासिल गर्न सकिने उनले दाबी गरे।

यस्तै प्रदेश प्रमुख शर्माले गाँस, वास, कपास र शिक्षा–स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न, उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसँग जोड्ने कुराले प्राथमिकतामा पाउनुपर्ने बताए।

उनले वनको उचित संरक्षण र सदुपयोग गरी हेटौँडावरिपरिका सम्भावित क्षेत्रहरूमा मरिच खेती र फलफूल  लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिनेतर्फ सचेत गराउँदै परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई परिवर्तन गरी आधुनिक व्यावसायिक कृषि प्रणाली अवलम्बन गराउने कुरामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

सम्बोधनको पूर्ण पाठः

बागमती प्रदेश सभाका माननीय सभामुख महोदय,
माननीय सदस्यज्यूहरू, 

सर्वप्रथम म यो लोकतान्त्रिक संविधानले गरेको व्यवस्थाबमोजिम प्रदेश सभा सदस्यहरूको दोस्रो निर्वाचनपश्चात् बनेको यो गरिमामय प्रदेश सभामा निर्वाचित भएर आउनुभएका सम्पूर्ण सांसदप्रति बधाई ज्ञापन गर्न चाहन्छु। 

तपाईंहरू एउटा यस्तो प्रदेशको गरिमामय सदनमा विधि निर्माताको हैसियतले उपस्थित हुनुहुन्छ, जुन प्रदेशमा लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी रहेको छ, जसलाई मेची–कालीदेखि हिमाल–तराईसम्मका जनताको केन्द्र मानिन्छ र जहाँ विश्व सम्पदा सूचीका कैयौँ महत्वपूर्ण स्थानहरू रहेका छन् । यो गरिमामय सदनमा माननीय सांसदज्यूहरूका माझमा आफूलाई पाउँदा मैले गौरवबोध गरिरहेको छु। 

हाम्रो प्रदेश पाँच हजार वर्षयताका कला–कौसल, सभ्यता र संस्कृतिका कारण गौरवमय छ । भूगोल र जनसंख्याका दृष्टिले पनि हाम्रो प्रदेश अत्यन्तै महत्वपूर्ण विविधतामा आधारित सहिष्णुताको जगमा विकास र पुस्तान्तरण हुँदै आएको विषयमा सबै माननीयज्यूहरू भलिभाँती जानकार हुनुहुन्छ । अब सिंगो प्रदेशको अग्रगतिका योजना तर्जुमा गर्न तथा समाज र समयको उदबाेधनलाई मनन गर्दै आवश्यक नीति, नियम र कानुनको निर्माण एवं परिपालना, छुवाछुत, महिला हिंसा, मानव बेचविखन र लागुऔषधको ओसार–पसारजस्ता विकृति–विसंगतिहरूको अन्त्य गर्न दृढसंकल्पका साथ  राष्ट्रप्रति जिम्मेवार रही जनताको पक्षमा अविष्मरणीय काम गर्न यो प्रदेश सभा सफल र सक्षम रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 

बागमती प्रदेश सभाको पहिलो कार्यकालमा मूल विधेयकका साथै संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयकसमेत गरी जम्मा ७० वटा विधेयक पारित भएका छन्। यस प्रदेशसभाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याउन, कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सर्वसुलभ सेवा उपलब्ध गराउन आवश्यक पर्ने जनमुखी कानुनहरू निर्माण गरी प्रदेश सभाको सान्दर्भिकतालाई पुष्टि गर्ने नै छ भन्नेमा म विश्वस्त छु। 

गाँस,वबास, कपास र शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका लागि आवश्यक कदम चाल्नु छ र समाजवादको लक्ष्य प्राप्तिका लागि उद्योगधन्दाको स्थापना, विकास र रोजगारी सिर्जना गरी समृद्ध प्रदेश निर्माणमा मन, वचन र कर्मले अनवरत लागिपर्नु पनि हाम्रै दायित्वभित्र पर्दछ।

जनजीविकाका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा यदि विगतमा कहीँ कतै कमी–कमजोरी भए–रहेका छन् भने तिनबाट शिक्षा लिँदै नयाँ आयाम निर्माण गर्न समयसापेक्ष रूपान्तरणका लागि दृढतापूर्वक अघि बढ्न सक्नुपर्छ। अब टुटेका जीवकोषप्रति विलाप गर्न छाडेर नयाँ कोष निर्माणको समुचित प्रबन्ध गर्नुपर्छ। 

माननीय सदस्यहरू, 

उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसँग जोड्नु हाम्रो प्राथमिकतामा पर्नुपर्छ। हाइड्रोजन प्लान्ट स्थापना गरी ऊर्जाको क्षेत्रमा बृहत् परिवर्तन ल्याउने सम्भावना यो प्रदेशले बोकेको छ। वनहरूको संरक्षण र सदुपयोग गरी हेटौँडावरिपरिका सम्भावित क्षेत्रहरूमा मरिच खेती र नदी किनाराका भिराला पाखाहरूमा चिउरी, केरा, आँप, कटहर, भुइँकटहर, लिची, एभोकाडोजस्ता फलफूल लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। 

परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यावसायिक कृषि प्रणालीमा रूपान्तरण गर्ने वातावरण निर्माण गरी कृषिक्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न विलम्ब गर्नुहुँदैन । किसानले उत्पादन गरेको फसलहरूको बजार सुनिश्चित गर्ने, उन्नत किसिमका मल, बिउ–बिजन र प्रविधि उपलब्ध गराउनेलगायतका किसानमैत्री नीति तर्जुमा गरी बिक्री नभएर सडकमा फसल फ्याँक्नुपर्ने कहालीलाग्दो अवस्थाबाट मुक्त भई निर्धक्कतापूर्वक कृषकले सकेजति उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गरिदिनुपर्छ। 

बजेट निर्माण र विनियोजन प्रणालीमा हिजो र आजबीच तात्विक अन्तर नभएको गुनासो सम्बोधन हुनुपर्छ । हामीले बजेट विनियोजन गर्दा ठूलाठूला जलविद्युत् आयोजनाहरू, नमुना कृषि फार्महरू, प्राविधिक शिक्षालयहरू र उद्योगहरूको स्थापना गर्नेतर्फ लक्षित गर्न सक्यौँ भने मात्र रोजगारीका अवसरहरू सिर्जना हुनेछन्, उत्पादनमा वृद्धि हुनेछ, निर्यात् बढ्नेछ र समग्र देशको अर्थतन्त्रमा देखिएको संकट सामना गर्न मद्दत पुग्नेछ। उत्पादनमा तीव्रता दिँदै जैविक इन्धन आयातमा कटौती गर्ने, चुलाचौकाहरूमा विद्युतीय उपकरण जडान गरी सुलभ बिजुली उलपब्ध गराएर ग्यासोलाइनको सट्टा विद्युत् उपयोग गर्ने, सिँचाइ सुलभताका लागि हरसम्भव प्रयत्न गरी कृषि उत्पादन बढाउने कार्यका लागि नीति र योजना बनाउने जिम्मेवारी पनि प्रदेशसभाकै काँधमा छ।

प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन दिनुहुँदैन। जनताको आशा एवं विश्वासलाई व्यवहारमा मूर्तरूप दिनका लागि जनमुखी सरकारको अवधारणाअनुरूप प्रदेश सरकारका नीति, कार्यक्रम, बजेटलगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेश सभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक छ। 

सभामुख महोदय, 

राज्यको महत्वपूर्ण पदमा पुगेका व्यक्तिको सुझबुझपूर्ण र इमानदार प्रयासले सिंगाे देशले नै काँचुली फेरेको धेरै देशहरूको उदाहरण हाम्रसामु छन् । त्यसैले अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्ने उक्तिलाई आत्मसात् गर्दै समुन्नत प्रदेश निर्माण गर्ने महाअभियानको थालनी गरी आ–आफ्नो ठाउँबाट दृढ इच्छाशक्तिका साथ इमानदारीतापूर्वक लागिपरौँ । हाम्रोसामु चुनौतीका पहाडहरू छन् भने सम्भावनाको क्षितिज पनि खुला छ।
 
उपर्युक्त विषयहरूको समुचित सम्बोधन नभई संघीयता सुदृढ हुन सक्दैन र राजनीतिक, आर्थिक एवं सामाजिक रूपान्तरण हुँदैन । हामीले तय गरेको जिन्दगीको यात्रामा थुप्रै घुम्ती र मोडहरू तथा उतार–चढावहरू थिए। हाम्रो जीवनगाथा बहुआयामिक छ र अनमोल छ। तर, अझै पनि हाम्रो जीवनगाथाको अन्तिम पन्ना पल्टाउन बाँकी छ। हामी भयंकर जंगलको यात्रामा हुँदा पनि हाम्रो यात्रा प्यारो थियो, गन्तव्य निश्चित थियो, हामीले जनतासँग प्रतिबद्धता व्यक्त गरेका छौँ कि निदाउनुअघि मिलौँको दूरी पार गर्नेछौँ। 

अन्त्यमा,यो प्रदेश सभाको कार्यकाल पूर्ण सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।

धन्यवाद।