१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुवास भट्ट काठमाडाैं
२०७९ माघ २६ बिहीबार ०६:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय तथ्यांक कार्यालय चार महिनादेखि सचिवविहीन हुँदा रोकियो जनगणनाको अन्तिम प्रकाशन 

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
२०७९ माघ २६ बिहीबार ०६:२६:००

राष्ट्रिय तथ्यांक कार्यालय चार महिनादेखि सचिवविहीन हुँदा जनगणनाको नतिजा सार्वजनिकलगायत महत्वपूर्ण काम प्रभावित भएका छन् । नयाँ तथ्यांक ऐन जारीसँगै कार्यालय गत असोजदेखि नेतृत्वविहीन हुँदा कामकारबाहीमा असर परेको छ । प्रधानमन्त्री कार्यालय र कतिपय मन्त्रालयमा आवश्यकताभन्दा धेरै सचिव भए पनि तथ्यांक कार्यालयलाई भने सचिव नपठाएर सरकारले प्रमुखविहीन बनाएको छ । 

साबिकको तथ्यांक ऐन, २०१५ लाई विस्थापित गरी २७ असोजमा सरकारले तथ्यांक ऐन, २०७९ जारी गरेको थियो । ऐनले साबिकमा राष्ट्रिय योजना कार्यालयअन्तर्गत रहेको विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत ल्याएको थियो । ऐनको दफा २५ मा कार्यालयको प्रशासकीय प्रमुखका रूपमा निजामती सेवाको विशिष्ट श्रेणी (सचिव)को प्रमुख तथ्यांक अधिकारी रहने व्यवस्था गरेको छ । तर, अहिलेसम्म पनि कार्यालयमा सचिव पठाइएको छैन । 

विभागमा अहिले चारजना सहसचिव छन् । सचिव नहुँदा एकजना वरिष्ठ सहसचिव नेविनलाल श्रेष्ठलाई दैनिक कामकाज गर्ने अधिकार मात्र दिइएको छ । निमित्तसमेतको अधिकार दिइएको छैन । कार्यालय प्रमुख नहुँदा महत्वपूर्ण निर्णय प्रभावित भएको छ । 

मनोहर घिमिरे, सूचना अधिकारी राष्ट्रिय तथ्यांक कार्यालय 
जनगणनाको नतिजा पनि लगभग तयार छ । सरकारले सहमति दिनेबित्तिकै सार्वजनिक गर्न सकिने स्थितिमा छौँ । कार्यालय प्रमुख नै नहुँदा त्यहाँबाट गरिनुपर्ने यस्ता धेरै निर्णय प्रभावित भएका छन् । ऐनले गरेको व्यवस्थाबमोजिम जारी गर्नुपर्ने कार्यविधि, निर्देशिकाको प्रक्रिया पनि अघि बढाउन सकिएको छैन । 

जनगणना सार्वजनिक गर्ने कार्यसमेत सचिवको अभावमा कार्यालयले अघि बढाउन सकेको छैन । कार्यालयले जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गरे पनि अन्तिम प्रकाशन बाँकी छ । २५ कात्तिक देखि ९ मंसिर ०७८ सम्म कार्यालयले जनगणना गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । संकलित तथ्यांक विश्लेषण गरेर तयार भएको अन्तिम प्रकाशन अहिले रोकिएको छ । १० वर्षपछि भएको जनगणनाको नतिजा तयार भएर पनि रोकिँदा राम्रो सन्देश नजाने सरोकारवालाहरू बताउँछन् । 

जनगणना मात्र होइन, कार्यालयले कृषि गणनाको काम पनि अघि बढाइरहेको छ । कृषि गणनाको काम गत जेठमै सकिएको छ । अहिले त्यसका तथ्यांक विश्लेषणको काम भइरहेको छ । यसक्रममा सचिवको अभावले गर्नुपर्ने कतिपय निर्णय पनि प्रभावित भएको छ । 

कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले कार्यालय प्रमुख नै नहुँदा कार्यालय प्रमुखका तहबाट गर्नुपर्ने निर्णय प्रभावित भएको बताए । ऐन जारी भएदेखि सचिव नहुँदा ऐनबमोजिम कार्यविधि, निर्देशिका जारी गर्न बाधा पुगेको उनले बताए । जनगणनाको नतिजा लगभग तयार भएको पनि उनले बताए । सँगै कृषि गणनाको काम पनि भइरहेको उनले बताए । 

अहिले ७३ जनाको सचिवको दरबन्दी छ । त्यसमध्ये ७० सचिव कार्यरत छन् । कतिपय मन्त्रालयमा दोहोरो दरबन्दी र दुईजना सचिव छन् । प्रधानमन्त्री कार्यालयमै सातजना सचिवको दरबन्दी छ । त्यति नै सचिव कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा रहेको यो सचिव दरबन्दी आवश्यकताभन्दा बढी हो । कतिपय मन्त्रालयमा पनि दुईजना सचिव छन् । 

कार्यालयले ८० भन्दा धेरै प्रश्नहरूका जवाफ लिएर जनगणना संकलन गरेको थियो । सबैजसो तथ्यांकको अन्तिम नतिजा तयार भइसकेको कार्यालयका सूचना अधिकारी घिमिरेले बताए । जनगणनाको प्रारम्भिक तथ्यांक भने कार्यालयले ११ माघ ०७८ मै सार्वजनिक गरेको थियो । प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । 

के–के समेटिन्छ जनगणनामा ? 
नेपालमा हरेक १० वर्षको अन्तरमा जनगणना गर्ने व्यवस्था र अभ्यास छ । जनगणना मुख्यतः देशको जनसांख्यिक अवस्थाको यथार्थ थाहा पाउन गरिन्छ । देशको सामाजिक अवस्था, आर्थिक स्थिति, घरपरिवारको अवस्था, शिक्षा, स्वास्थ्य, खानेपानी, इन्धनलगायतका आधारभूत आवश्यकतामा नागरिकको पहुँचलगायतका विषय जनगणनामा समेटिन्छन् । बसाइँसराइको स्थिति, देशबाहिर रहेको जनसंख्यालगायतका विवरण पनि जनगणनामा समेटिन्छ ।