१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ माघ २० शुक्रबार १२:५६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वसभामुख सापकोटाको पहलमा निर्मित सुविधासम्पन्न रत्नराज्य माविको प्रधानमन्त्रीद्वारा उद्घाटन

Read Time : > 2 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ माघ २० शुक्रबार १२:५६:००

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विद्यालय भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उद्घाटन गरेका छन्। 

नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्। प्राइभेट हेलिकाेप्टरमा प्रचण्ड चनौटे पुगेका थिए। 

उद्घाटनमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक संघीय क्षेत्र नं. १ का सांसद माधव सापकोटा, २ का सांसद मोहनबहादुर बस्नेत, बागमती प्रदेश सांसद सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायत थिए।
 
पूर्वसभामुख सापकोटाको पहलमा जुगल गाउँपालिका– ५ चनौटेस्थित निर्मित रत्नराज्य माध्यमिक विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’का छन्। एकै विद्यालयमा ६ वटा आधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणमा एक अर्बभन्दा बढी रकम लगानी भएको विद्यालय प्रशासनले जनाएको छ।

भवन निर्माणमा आवश्यक पर्ने बालुवा, गिटी र ढुंगा मात्रै नेपालको प्रयोग गरिएको छ । बाँकी सबै सामग्री चीनबाटै ल्याइएको हो। निर्माणमा संलग्न मजदुर पनि सबै चिनियाँ नै थिए । सन् २०१७ जनवरीमा सुरु भएर २०१९ डिसेम्बरमा निर्माण सम्पन्न भएको हो। भूकम्पपछि टहरामा बसेर कष्टपूर्वक अध्ययन गरेका बालबालिकाले अत्याधुनिक भवनमा बसेर पढ्न पाएका छन्। 

नेपालका लागि चीनका राजदूत होउ यान्छी हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो। तर, समय नमिल्दा तीन वर्षपछि प्रधानमन्त्रीबाट उद्घाटन भएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए। 

स्थानीय खुसी 

जुगल गाउँपालिकामा तामाङ समुदायको बाहुल्य छ। गुम्बाको तेम्बाथाङ, गोल्चेको लिदी, हिमाली बस्तीहरू बिसिंखर, हगाम, पाङताङ, सिन्दुर्चे, निम्लुङ, सञ्चगाउँलगायत गाउँका चार सय २५ बालबालिका रत्नराज्य माविमा पढ्न आउँछन्। कतिपय गाउँबाट विद्यालय आइपुग्न झन्डै दिनभर लाग्छ।

विगतमा कक्षा ८ देखि १२ सम्मका ६० प्रतिशत विद्यार्थीले भाडामा कोठा लिएर पढ्नुपर्ने बाध्यता थियो। विद्यालयमा सुविधायुक्त छात्रवास भवन बनेपछि कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिए। 

सुविधासम्पन्न छात्रावास बनेपछि शिक्षा प्राप्त गर्न थप हौसला मिलेको बालबालिकाले बताएका छन्। 

भाडाको कोठामा बस्दा विशेषतः दलित विद्यार्थी र छात्राका लागि विभिन्न समस्या आउने गर्थे। छात्रावास बनेपछि सिंगो जुगल गाउँपालिका क्षेत्रमा खुसियाली छाएको छ। छात्रावासमा बस्ने विद्यार्थीले खानाका लागि भने निश्चित पैसा तिर्नुपर्ने नियम बनाइएको प्रधानाध्यापक पौडेलले बताए। 

भवन निर्माणमा सापकोटाको योगदान

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले रत्नराज्य मावि भवन निर्माणको पहल गरेका हुन्। चौतारा साँगाचोकगढी नगरपालिका कुबिन्डेनिवासी सापकोटाले स्थानीय जनजागृति माविमा १३ वर्ष पढाएका थिए। 

कुबिन्डेमै पनि कृषि शिक्षालय छ। तर, चिनियाँ सहयोगमा जिल्लाकै सबैभन्दा दुर्गम बस्तीमा विद्यालय भवन निर्माण गर्न सापकोटाले पहल गरेका हुन्। 

‘१० वर्षे जनयुद्धको आधार इलाका र सबैभन्दा पिछडिएका समुदायको बस्ती भएकाले चनौटेमै आधुनिक भवन निर्माणको पहल गरेको हुँ,’ उनले भने, ‘आठ वर्षअघि चीन सरकारलाई जुगल क्षेत्रमै विद्यालय भवन निर्माण गर्न आग्रह गरेको थिएँ, हाम्रो आग्रहलाई चीन सरकारले स्वीकार गर्‍याे।’ 

सुरुमा चीन सरकारले सदरमुकाम आसपासका क्षेत्रमा विद्यालय भवन निर्माण गर्न चाहेको थियो। 

यस्तो छ विद्यालय भवन

जुगल गाउँपालिका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा पर्छ। यहाँका कतिपय गाउँमा मोटरबाटो र बिजुली बत्तीसमेत पुगेको छैन। विद्यालय गाउँपालिकाको केन्द्रमा अवस्थित छ। चिनियाँ लगानीमा ठडिएको यस विद्यालयमा छात्र, छात्रा बस्ने ८४ वटा कोठा भएको ठूलो भवन छ। 
विद्यालयमा आधुनिक सुविधायुक्त होस्टल छ।

होस्टेलका कोठा पनि चिनियाँ मोडेलका छन्। चीनको राजधानी बेइजिङमा पढ्ने विद्यार्थीले पाएजस्तो सुविधा कक्षाकोठा र होस्टलमा प्राप्त छ। 

होस्टेलका प्रत्येक कोठामा एटेच बाथरुम, तातो–चिसो पानी र बेडरुमको व्यवस्था छ। कक्षाकोठा २४ वटा छन्। विद्यालय प्रशासन चलाउन २२ कोठा छन्। विद्यालयछेवैमा ठूलो क्यान्टिन भवन छ। किचेन र डाइनिङ हल छुट्टाछुट्टै छन्। भवननजिकै पालेघर र विद्युतगृह छन्। 

बाहिर पनि थुप्रै कोठा भएको शौचालय छ। सुविधायुक्त लाइब्रेरी छ । जहाँ ५० वटा कम्प्युटरसहितको विज्ञान प्रयोगशाला र यथेष्ट शैक्षिक सामग्री राखिएका छन्। भवनको एक साइडमा प्लेग्राउन्ड पनि छ।