मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण थापा सर्लाही
२०७९ माघ २० शुक्रबार १२:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीपीडित दलित बस्ती ११ महिनादेखि त्रिपालमुनि

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ माघ २० शुक्रबार १२:२९:००

गत चैत १२ गते बिजुली सर्ट भएर सर्लाहीको धन्कौल गाउँपालिकामा भीषण आगलागी भयो । आगोले धन्कौल– ५ हरकठवाका १३ विपन्न दलित परिवारले सर्वस्व गुमाए । आगलागीले घरबार गुमाएका सबै परिवारको टाउको लुकाउने सानो फुसको झोपडी छिनभरमै खरानी भयो । दैनिक ज्याला मजदुरी गरेर जोडेको कुनै सामान बाँकी रहेन । खुला आकाशमुनि आइपुगेका उनीहरूकाे अवस्था ११ महिना बित्दासमेत उस्तै छ ।

पीडितमध्येका एक बिकाउ पासवानले फेरि कुनै झुपडी बनाउन सकेका छैनन् । एक दर्जन सदस्यसहित साे परिवार अझै पनि पाल टाँगेर बनाएको झुपडीमै बस्न बाध्य छ । रुझ्दै वर्षा कटाएको यो परिवारले हिउँद पनि जाडोले कठ्यांग्रिएर बिताउँदै छ । यो जाडो सकिनै लाग्दा उनलाई आगामी वर्षा कसरी कटाउने भन्ने चिन्ताले सताउन थालिसकेको छ ।

परिवारका एक दर्जन सदस्यको लालनपालन दैनिक ज्याला मजदुरी गरेर मुस्किलले टर्ने गरेको उनले सुनाए । ‘खान लाउनै समस्या छ हजुर । घर कसरी बनाउनु ?’ उनले भने । ऋण गरेरै बनाउन पनि तिर्ने उपाय नभएकाले ऋण पनि पाउन गाह्रो रहेको उनकी पत्नी लीलावतीले गुनासो गरिन् ।

चुनावको समयमा आगलागी भएकाले एक थान त्रिपाल र तत्काललाई खाद्यान्न पाएको यो परिवारलाई अहिले भने दुई छाक पेट पाल्न पनि धौधौ छ । ‘अहिले भएको भए, त्यही पनि कसैले नदिने रहेछ,’ उनले भनिन्, ‘नेताहरूबाट अनेक आश्वासन पाए पनि ११ महिना बितिसक्दासमेत कुनै सहयोग पाइएको छैन ।’

अर्का पीडितहरू गगनदेव पासवान र उर्मिलादेवी पासवानको पनि अवस्था फरक छैन । कतैबाट सहयोग नपाएपछि मुस्किलले त्रिपालको ओतमा वर्षा र हिउँद कटाएको उर्मिलादेवीले बताइन् । उनले ऋण गरेर फुसको छानो भएको बाँसको टाटीको घर बनाएकी छिन् । सोही घर बनाएको ऋण तिर्न उनका श्रीमान् भने मजदुरी गर्न गएका छन् । 

गाउँपालिका अध्यक्ष भन्छन्– सबैको जिम्मा लिन सक्दैनौँ
यस घटना र विपन्न दलित परिवारप्रति स्थानीय सरकार भने गैरजिम्मेवार देखिएको छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट रामआश्रय साह दोस्रो कार्यकालका लागि पुनः गाउँपालिका अध्यक्षमा विजयी भए । चुनावमा घर बनाइदिने आश्वासन बाँडेका उनले अहिले भने बेवास्ता गरेका पीडितहरूको गुनासो छ । निर्वाचित भएपछि उनीहरूले साहलाई फेरि नदेखेको बताए ।

तर, पालिका अध्यक्ष साह भने आफूले गर्न सक्ने सबै गरिसकेको भन्दै पन्छिए । सुरुमा आगलागीपीडितको विषयमा कुरै गर्न नचाहेका उनले नयाँ पत्रिकासँग भने, ‘हामीले त्यही वेलामा दाल, चामल, नुन, तेल, एक थान त्रिपाल र केही लत्ताकपडा दिइसकेका छौँ । त्यस्ता कति हुन्छन् कति । सबैको घर बनाउन सक्दैन पालिकाले ।’