
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १ मा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकको पहिचान हुन सकेको छैन भने अर्का सुनसरीका मदन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा बाटैमा एक्कासि स्टाट बन्द भएर रोकिएको ना.६ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट आउँदै गरेको ना.५ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकका चालक चौधरी र पहिचान खुल्न नसकेका सहचालकको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए ।
दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्ग झन्डै दुई घन्टा अवरुद्ध भएको थियो । मृत्यु भएका दुवैको शव पोस्टमार्टमका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।