Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार ०६:०१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

फरार सांसद कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’को तयारी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार ०६:०१:००

डिफ्युजन नोटिसपछि...
‘डिफ्युजन नोटिस’ जारी भएलगत्तै कोइरी पक्राउको सूचना ‘इन्टरपोल’को ‘च्यानल’भित्र प्रवेश गर्नेछ । जुन सूचना स्वतः इन्टरपोल सदस्यराष्ट्रका प्रहरीसमक्ष प्रवाह हुनेछ । जसबाट सदस्यराष्ट्रका प्रहरीलाई कोइरी पक्राउका लागि दबाब पुग्नेछ । देशको सीमाभित्र नरहेका फरार अभियुक्त पक्राउ गर्न प्रहरीले यस्तो अस्त्र प्रयोग गर्छ । 

                                        ...

प्रतिनिधिसभाका फरार सांसद लक्ष्मी महतो कोइरीविरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी गरेको छ । जसका लागि प्रहरीले उनको ‘लोकेसन ट्रयाकिङ’लाई तीव्र तुल्याएको छ । सूचनाअनुसार कोइरी अहिले भारतमा लुकेर बसेका छन् । मातहतका प्रहरी कार्यालयलाई सोहीअनुसार ‘सर्कुलेसन’ गरिसकेको नेपाल प्रहरीले पक्राउका लागि गोप्य रूपमा टोली परिचालन गरेको हो । पक्राउमा सघाउन प्रहरीले भारतीय समकक्षीसँग पनि अनौपचारिक पहल गरिरहेको छ । तर, सही ‘लोकेसन’ खुल्न नसक्दा सफलता हात पर्न सकेको छैन । यही स्थिति केही दिन लम्बियो भने प्रहरीले कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्नेछ । 

डिआइजी पोषराज पोखरेल, प्रवक्ता, नेपाल प्रहरी
फौजदारी अभियोग लागेका एक सांसद फरार छन् । उनको खोजीमा प्रहरी लागेको छ । उनलाई पक्राउ गर्न आन्तरिक ‘सर्कुलेसन’ भइसकेको छ । सकेसम्म उनलाई आन्तरिक पहलबाटै पक्राउ पर्ने पक्षमा प्रहरी छ । यदि त्यस्तो हुन सकेन भने ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्ने हुन्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले भने, ‘फौजदारी अभियोग लागेका एक सांसद फरार छन् । उनीको खोजीमा प्रहरी लागेको छ । उनलाई पक्राउ गर्न आन्तरिक ‘सर्कुलेसन’ भइसकेको छ । सकेसम्म उनलाई आन्तरिक पहलबाटै पक्राउ पर्ने पक्षमा प्रहरी छ । यदि त्यस्तो हुन सकेन भने ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्ने हुन्छ ।’

‘डिफ्युजन नोटिस’ जारी भएलगत्तै कोइरी पक्राउको सूचना ‘इन्टरपोल’को ‘च्यानल’भित्र प्रवेश गर्नेछ । जुन सूचना स्वतः इन्टरपोल सदस्य राष्ट्रका प्रहरीसमक्ष प्रवाह हुनेछ । जसबाट सदस्यराष्ट्रका प्रहरीसमक्ष कोइरी पक्राउमा दबाब पुग्नेछ । देशको सीमाभित्र नरहेका फरार अभियुक्त पक्राउ गर्न प्रहरीले यस्तो अस्त्र प्रयोग गर्छ । 

प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयले पक्राउ आदेश दिएलगत्तै कोइरी भागेर भारत गएका थिए । गृहले कोइरीलाई तत्काल पक्राउ गर्न भन्दै गत ६ माघमा नेपाल प्रहरीलाई लिखित निर्देशन दिएको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेको समेत नाम उल्लेख गरी दिइएको निर्देशनलगत्तै उनी भागेर भारत गएका थिए । 

प्रहरी स्रोत भन्छ, ‘गृह मन्त्रालयबाट पक्राउ निर्देशन जारी भएलगत्तै उनी भागेर भारत गएको सूचना छ । आन्तरिक तवरले उनीविरुद्धको सूचना संकलन भइरहेका छन् । उनी भारतस्थित बिहारको कुनै गाउँमा रहेको सूचना छ । उताका प्रहरीसँग समन्वय भइरहेको छ । लोकेसन पक्का हुनासाथ पक्राउ पर्नेछन् ।’ 

मधेस आन्दोलनका क्रममा २५ भदौ ०७२ मा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या गरेको अभियोग कोइरीमाथि छ । उपचारका क्रममा अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर असइ विकको हत्या भएको थियो । उनी जलेश्वर सशस्त्र प्रहरी गणमा कार्यरत थिए । उक्त घटनामा कोइरी जोडिएका थिए । उनीविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा चलेको थियो । बहसपछि अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध रिट निवेदन परेपछि उच्च अदालत जनकपुरले जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राख्न आदेश दिएको थियो । त्यसयता उनी फरार छन् । 

गत ४ मंसिरमा भएको निर्वाचनमा कोइरीले महोत्तरी– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए । पक्राउ पर्ने डरले उनले निर्वाचन कार्यालयमा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए । चुनाव पनि जिते । ७ पुसमा अन्य सांसदसँगै शपथ लिए । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्बाट विश्वासको मत लिने क्रममा कोइरी संसद्मा उपस्थित भए । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका उनी ५ माघमा भएको सभामुखको निर्वाचनमा पनि सहभागी भए । संसद्मा उनको खुलेआम उपस्थितिलाई लिएर संसद्भित्र चर्को आवाज उठेपछि पक्राउ गर्न गृहले नेपाल प्रहरीलाई लिखित निर्देशन जारी गर्‍यो । त्यसपछि उनी फरार छन् ।