१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
श्रवण थापा सर्लाही
२०७९ माघ १९ बिहीबार १६:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् सहकारीले पैसा नतिरेपछि दुई महिनादेखि पूरै गाउँ अन्धकारमा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ माघ १९ बिहीबार १६:२८:००

सर्लाहीको बरहथवा नगरपालिकास्थित हिरापुर गाउँ दुई महिनादेखि अन्धकार बनेको छ । बरहथवा– ११ हिरापुरस्थित विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले पैसा हिनामिना गरेपछि उपभोक्ताले विद्युत् बाल्न नपाएका हुन् ।

स्थानीयले विगत १७ वर्षदेखि उक्त सहकारीमार्फत बिजुली बाल्दै आएका थिए । पछिल्लो समय संस्थाले विद्युत् खपतबापतको रकम नबुझाएपछि विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रले गत मंसिर २७ गते विद्युत् बन्द गरिदिएको थियो । आफूहरूले विद्युत् खपतबापतको रकम भुक्तानी गरे पनि संस्थाका पदाधिकारीले सो रकम प्राधिकरणमा नबुझाई अपचलन गरेको उपभोक्ताहरूले बताएका छन् । विद्युत् आपूर्ति बन्द भएपछि नियमित काम कारबाहीमा समेत समस्या आएको स्थानीय उमेश दासले गुनासो गरे ।  

विद्युत् नभएपछि टुकीको भर पर्नुपर्ने अवस्था आएको छ। बिहीबार टर्चलाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँ जाँदै गरेका उनले भने, ‘अब त उनीहरूले पनि झन्झट मान्छन् । कति आएको भन्न थालिसके ।’

बिल नतिर्नेको बिजुली काट्नुपर्ने प्राधिकरणले पूरै गाउँ नै अन्धकार बनाइदिएको स्थानीय जगनाथ महतोले बताए । ‘जसले पैसा तिरेको छैन, उसको बत्ती पो काट्नुपर्ने,’ उनले भने । बत्ती नहुँदा गाउँमा चोरी बढेको उनको भनाइ छ ।

वडा कार्यालयमै विद्युत् छैन, घटना दर्ता गर्न नगरपालिका धाउँदै
विद्युत् बन्द भएपछि ११ नम्बर वडा कार्यालयको कामसमेत प्रभावित भएको छ । वडा कार्यालयको सम्पूर्ण काम अनलाइन प्रविधिमा रहेकाले महिनौँदेखि कार्य सम्पादनमा समस्या भएको वडा सचिव दीपेन्द्र रायले बताए । कागजात बोकेर कार्यालय समयपछि दैनिक नगरपालिका कार्यालय धाउने गरेको उनको भनाइ छ ।

‘विद्युत् नहुँदा फोटोकपी, मेल, अनलाइन घटना दर्ताजस्ता काम गर्न दैनिक तीन किलोमिटर टाढा नगरपालिका कार्यालय धाउनु परिरहेको छ,’ उनले भने । समस्या समाधानमा वडाध्यक्षलगायतका जनप्रतिनिधि लागिपरेको उनको भनाइ छ ।

पटकपटक ताकेता गरे पनि सो संस्थाले रकम भुक्तानीमा आलटाल गरेपछि विद्युत् काट्नुपरेको बरहथवा वितरण केन्द्रका प्राविधिक छोटेलाल रायले बताए । ‘संस्थाको लाखौँ रकम बाँकी थियो । पटकपटक ताकेता गर्‍याैँ । तैपनि बिल भुक्तानी भएन । संस्थाको सम्बन्धित निकाय खोजी गर्दा पनि फेला परेन,’ उनले भने । उनका अनुसार केही रकम भुक्तानी भए पनि अझै करिब सात लाख तिर्न बाँकी छ । नगरले जिम्मा लिएर तिर्ने प्रतिबद्धता गरेकाले विद्युत् जोड्ने प्रक्रिया सुरु भएको प्राविधिक रायले जानकारी दिए ।

संस्थाको १७ वर्षदेखिको कारोबार नै गायब
१७ वर्षअघि श्री विश्वेश्वरनाथ ग्रामीण विद्युत् सहकारीको नाममा सञ्चालनमा आएको संस्थाको आधिकारिक कारोबारसमेत गायव रहेको वडा कार्यालयले जनाएको छ । संस्थाले विद्युत् महसुल संकलन गरेर भुक्तानी नगरेको गुनासो आएपछि खोजी गर्दा संस्था दर्ता भएको कागजात र आर्थिक हिसाबसमेत फेला नपरेको वडाध्यक्ष नवराज राईले बताए ।

‘हामीले संस्थाका पदाधिकारीहरूसँग संस्थाको नाफा–घाटा जे छ, उपलब्ध गराउनुस्, बाँकी हामी व्यहोर्छौँ भन्दासमेत उहाँहरूले कुनै कागजात र हिसाबकिताब दिन सक्नुभएन,’ उनले भने । उपभोक्ताबाट संकलन गरिएको रकममा नगरले सहयोग गर्ने सर्तमा पुनः विद्युत् सुचारु गर्ने प्रयास भइरहेको वडाध्यक्ष राईले जानकारी दिए ।

तर, संस्थाका पदाधिकारीहरू भने रकम अपचलनको आरोप झुटो भएको बताउँछन् । उपभोक्ताले नै बिल भुक्तानी गर्न छाडेपछि समस्या आएको संस्थाका कार्यवाहक अध्यक्ष रामकृष्ण चालिसेको दाबी छ । संस्थाको हिसाबकिताब र कागजातको जिम्मेवारी भने आफूले केही वर्ष पहिले नै छाडेको उनले बताए ।

‘हामीले संस्थाको कुनै रकम हिनामिना गरेका छैनौँ,’ कार्यवाहक अध्यक्ष चालिसेले भने, ‘यो भुटो हो । तीन सय ५० घर उपभोक्ता रहेको ठाउँमा ५०–६० जनाले मात्र नियमित बिल भुक्तानी गरेका थिए । बाँकीको मिटरब्याजको भन्दा धेरै २० प्रतिशत जरिवाना लगाउने रहेछन् । कसरी बिल तिर्नसक्नु ?’